Logo
|
Sunday 24th November 2024
Logo

epaper

बालबालिकामा इम्युन कमी र बाथजन्य रोगः चिन्न नसक्दाको पीडा




डा.धर्मागत भट्टराई ‘पेडियाट्रिक क्लिनिकल इम्युनोलोजी एण्ड  र्‍युमाटोलोजी’ विषयमा डी.एम. गर्ने नेपालका पहिलो चिकित्सक हुनुहुन्छ । डा. भट्टराईले विश्वमै नाम चलेको भारतको चन्डीगढमा रहेको पोष्टग्राजुयट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्च (पीजीआई) बाट डी.एम. गर्नुभएको छ । यस अंकमा हामीले डा. भट्टराईको करियर कथा उहाँकै शव्दमा प्रस्तुत गरेका छौं ।

मैले बि सं. २०५३ सालमा चितवनको प्रभात माध्यमिक विद्यालयबाट एसएलसी परीक्षा दिएँ । त्यस वर्षको एसएलसी परीक्षामा चितवन फष्ट (प्रथम) भएँ । उच्च शिक्षाका लागि काठमाडौँको लैनचौरस्थित नेसनल स्कूल अफ साइन्सेजमा छात्रवृत्ति कोटामार्फत भर्ना भएँ । प्लस टू सकियो । त्यसपछि जगदम्बा मदन पुरष्कार गुठी र कलकत्ता विश्वविद्यालयको छात्रबृत्ति कोटामा छानिएर कलकत्ता विश्वविद्यालय अन्तर्गत आर. जी. कार मेडिकल कलेजबाट एमबीबीएस उत्तीर्ण गरेँ ।

नेपाल फर्किएर केहि समय पाटन अस्पतालमा काम गरेँ । त्यसपछि प्रतिस्पर्धामा छानिएर छात्रवृतिमै विशेषज्ञ डिग्री ‘एमडी’ का लागि भारतको चन्डिगढबाट पोेष्ट ग्र्याजुयट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्चबाट एमडी पेडियाट्रिक्स अध्ययन सम्पन्न गरेँ । सन् २०१५ मा अध्ययन सकियो । केहि समय नेपालका निजी अस्पतालहरुमा काम गरेँ ।

सुपर स्पेसियालिटीको जमाना भएकाले हेपाटोलोजीमा फेलोसिप गर्न चेन्नाई पुगेँ । यो फेलोसिपले मेरो इच्छा पूर्ति गरेन । खुशी र सन्तुष्टि मिलेन । डिएम नै गर्ने सोच आयो । साउथ एसिया भर चन्डिगढमा मात्र पढाई हुने ‘डिएम इन पेडियाट्रिक इम्युनोलोजी एण्ड र्‍युमाटोलोजी’ मा डिएम गर्ने निधो गरेँ । मलाई इम्युनोलोजी अत्यन्तै मन पर्ने विषय हो । र्‍युमाटोलोजी बिषयको पनि मुलभूत बैज्ञानिक जड इम्युन गडबडी नै हो । नेपालमा इम्युनोलोजी (रोग प्रतिरोध बिज्ञान) मा कोही बिज्ञ नभएको र यसका रोगीहरु निदान हुनै नपाउने या बिदेश जानुपर्ने विवशता खट्केको थियो मनमा ।

इम्युनोलोजी र र्‍युमाटोलोजी सँगसँगै पढाइ हुने यो विधा आफ्नो रुचि र देशको आवश्यकता अनुकूल विषय लाग्यो । विश्वभर उदाउँदो र अब बहुसंख्यक बिमारको निदान र उपचारको मियो बनेको यो बिषयको अध्ययन सकिएपछि आफ्नो देशका लागि केहि नयाँ आयाम थप्नसक्छु कि भन्ने महसुस भयो । तर पढ्न चुनौतिपूर्ण थियो । प्रत्येक वर्ष केवल एकजनाका लागि मात्र कोटा छुट्याइन्थ्यो । सन् २०१७ को जुलाईमा इन्ट्रान्स परीक्षामा म प्रथम भएँ । सन् २०२० को जुनमा कोर्ष पूरा भयो ।


पीडियाट्रिक इम्युनोलोजी एण्ड र्‍युमाटोलोजी विषयमा डीएम पढाई हुने संस्था भारतमा पनि पिजिआइ मात्रै हो । म भारतमा यो विषयमा डिएम गर्ने नवौं बिज्ञ हो भने नेपालमा पहिलो हो । पेडियाट्रिक इम्युनोलोजी एण्डर्‍युमाटोलोजीमा कुनै प्रकारको कोर्स या डीएम डिग्री हाँसिल गर्ने नेपालमा अरु छैनन् । विज्ञ नभएको विषय जहिले पनि छायाँमा पर्ने गर्छ । कोहि न कोहिले त सुरु गर्नैपर्छ ।

धेरैलाई इम्युन कमी, इम्युन गडबडीका रोग अनि बाथ रोगसम्बन्धि सामान्य ज्ञान समेत छैन । बाथ सुनेकालाई पनि बच्चामा बाथ र बाथजन्य रोग हुन्छ भन्ने थाहा छैन र धेरैले भ्रमपूर्वक बाथ भनेको जोर्नी मात्रैको बिमार सोचेका हुन्छन् ।

फलस्वरूप बारम्बार संक्रमण हुने, बहुप्रणालीगत समस्या, इम्युन रोग, र बाथजन्य रोगपट्टि सोचिएको छैन । डायग्नोसिस हुन सकेको छैन । उपचारका लागि भारत जानुपर्ने बाध्यता छ । तर अब बाथजन्य रोगको उपचारका लागि विदेश जानुपर्ने वाध्यता हटेको छ । यस्ता बिरामीलाई नेपालमै उपचार सेवा दिन सकिन्छ ।

यतिबेला देश संक्रमणमा गुज्रिरहेको छ । तै पनि व्यक्तिगत, सामुहिक र सामाजिक प्रयासमा सेवा विस्तार गर्ने योजना बनाएको छ । म बाल रोग विशेषज्ञ अनि विशेष विज्ञताले रोग प्रतिरोध तथा बाल बाथजन्य रोग विज्ञ हो । मेरो विशेष विज्ञता पेडियाट्रिक इम्युनोलोजी एवं ¥युमाटोलोजी भएको हुँदा यो विधालाई बढी प्राथमिकतामा राखेको छु ।


बालबालिकामा बाथ र भ्रम
बालबालिकामा बाथ अत्यधिक हुन्छ र वयस्कमा भन्दा सघन एवं गम्भीर असर गर्ने खालको हुन्छ । तर यसलाई हामीले नजरअन्दाज गरिरहेका छौँ । समयमै रोग पहिचान हुन नसक्दा जटिलता आएर ज्यान गुमाउनुपर्ने, लुलालङ्गडा हुने, हातखुट्टा र ढाड बाङ्गो हुने, रौँ र औंला गुम्ने र कतिपयले हातखुट्टा चलाउन नसक्ने लगायतकासमस्याहरु देखिनसक्छन् । वयस्कमा अधिकांशत आर्थराइटिस र कनेक्टिभ तन्तुका बिरामी हुन्छन् । तर बालबालिकामा बाथजन्य रोगहरु अझ बढी प्रकार र फरक फरक प्रकृतिका हुन्छन् । दुःखको कुरो हाम्रो समाजमा बाथजन्य रोगलाई केवल जोर्नी दुख्ने रोग मात्र हो भनेर बुझिन्छ । यो ठूलो भ्रम हो ।

ठूला मान्छेमा हुने बाथ र्‍युम्याटिक आर्थराइटिस जुन बच्चामा हुँदा यसलाई जेआईए (जुवेनाइल इडियोप्याथिक आर्थराइटिस) भनिन्छ । यो बच्चामा हुने बाथ हो । यसका अलावा वाथसँग सम्बन्धित भएर आउने समस्याहरु धेरै छन् । एकथरी रोगहरु जोर्नीका समस्या (आर्थराइटिस) केन्द्रित भए भने अर्को ठुलो हिस्सा ‘कनेक्टिभ तन्तुका रोग’ हुन्छन् । यसमा लुपस, डर्माटोमायोसाइटिस, स्क्लेरोडरर्मा इत्यादि रोग पर्छन् ।

त्यस्तै बालबालिकाका भास्कुलाइटिस् (रक्तनली सुजन सम्बन्धित) अत्यन्तै बढी हुने गर्छ । यो निदान नै नहुने बिमारीको समुह हो । ठूला रक्तनलीका टाकायासु नामक रोगदेखि मझ्यौला कावासाकी रोग अनि पोली आर्टराइटिस नोडोसा यहि प्रकृतिका खतरनाक रोग हुन् ।

यी बाहेक साना रक्तनलीका सुजनका रोग पनि हुन्छन् । बेलाबेलामा ज्वरो आइरहने, डाबर हुने, रियक्टिभ बिमारी, अटो—इन्फ्लामेसन आदि अन्य समूह पनि छन् । बाथजन्य रोग कुनैपनि प्रणालीसँग सम्बन्ध हुनसक्छ । जस्तोः सोरियासिस छालाको रोग सोरियाटिक आर्थराइटिस बाथ सम्बन्धित हुनसक्छ । त्यस्तै ‘क्रोन्स डिजिज’ ‘अल्सरेटिभ कोलाईटिस’ जस्ता पेटको जटिल रोगले जोर्नीको रोग निम्त्याउन सक्छन् । एचएलएबी २७ पोजेटिभ भएका बच्चालाई एचएलएबी २७ सम्बन्धित बाथ हनसक्छ ।
सही विशेषज्ञले नहेर्दा…
जोर्नीको समस्या भएमा नजरअन्दाज गरिदिने र स्टेरोइड औषधि दिएर राखिएको हुन्छ । रोगको सही निदान र उपचार हुनुपर्छ अनि मात्र रोग नियन्त्रणमा आउँछ ।

बाथमा स्टेरोइड दिने भ्रम हट्नुपर्छ । अधकल्चो उपचारले समस्या जटिल बन्छ ।

भास्कुलाइटिस हुँदा छाला, आँखा, जिब्रो रातो हुने, ज्वरो आउने, औँलाका टुप्पाका छाला निस्किन्छ । यो सघन जटिलता ल्याउनसक्ने तत्कालिन बाथ हो । तर यसलाई चिन्न नसक्दा मुटुका रक्तनालीमा गम्भीर असर पु¥याउनसक्छ । त्यस्तै लुपस बाथले अनुहारमा पुतली आकारको दाग देखिने, कपाल झर्ने, मुखमा घाउ आउने, जोर्नी दुख्ने, मिर्गाैलामा असर गर्नसक्छ । जुभेनाइल डर्माटोमायोसाइटिसमा छाला र मांशपेशीमा सुजन हुन्छ । बच्चा उठेर बस्न सक्दैन । सेल काउन्ट घट्छ । छाति र पेट बाहिर पानी जम्छ । बाथरोगले सबै अंगलाई असर पुर्याउन सक्छ । छालामा लुपस बाथका कारण रातो दाग, कपाल झर्ने समस्या देखिएमा शुरुमा छाला रोग विशेषज्ञलाई देखाइन्छ । सहि उपचार नपाउँदा लुपस बिग्रेर नेफ्रिटाइसिस भई ज्यान समेत जानसक्छ ।

बाल्यावस्थाको छाला, नशा, जोर्नी, मांशपेशी, स्नायुमा असर परेमा जीवनभर दुःख पाइन्छ । क्वालीटी अफ लाइफ पाइँदैन । कतिपयको बेलैमा ज्यान पनि जानसक्छ ।

इम्युन कमीका रोग
शरीरमा रोग प्रतिरोधात्मक क्षमता कमीले इम्युनोडेफिसेन्सी डिसअर्डर हुन्छ । जन्मजात आमाको पेटमा हुँदादेखि वंशाणुगत डिफेक्ट भएर हुने बिरामी प्राइमरी इम्युनोडेफिसेन्सी डिसअर्डरका समस्या हुन् । कुपोषण, भाइरस संक्रमण आदि सेकेन्डरी इम्युनोडेफिसेन्सी डिसअर्डर हुन् । इम्युनोलोजीको भर्खरै प्रकाशित तथ्याङ्कले प्राइमरी इम्युनोडेफिसेन्सी डिसअर्डर एक हजारमा एकदेखि १० जनासम्म हुने गरेको देखाएको छ ।
इम्युन कमीका प्रारम्भिक संकेत
एक बर्षमा ४ पटक भन्दा बढी कानको संक्रमण, दुईपटक भन्दा बढी साइनस इन्फेक्सन, बच्चालाई वर्षमा दुईपटक भन्दा बढी निमोनिया, मुखमा ओरल थ्रस, छाला, कलेजो, आन्द्रामा पीप जम्ने, शारीरिक विकासमा कमी प्राइमरी इम्युन डेफिसेन्सी डिसअर्डरका संकेत हुन् । बारम्बार श्वासप्रश्वास र पिलोे आउने समस्यामा पनि इम्युनडेफिसेन्सीको कारण हुनसक्छ ।

फ्लोसाइटोमिटर मेसिनबाट अधिकांश बाथरोग टेष्ट गर्न सकिन्छ । प्राइमरी इम्युन कमीका रोगको उपचार औषधि , इन्टरफेरोन र जिन थेरापीबाट गर्न सकिन्छ । कहिलेकाँही औषधिले असर नगरेमा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ ।

इम्युन रोगका जेनेटिक टेष्ट नेपालमा सम्भव छैन । इम्युनोलोजिकल डिजिज डायग्नोसिस गर्न पिडियाट्रिक वार्ड जरुरी पर्छ । संक्रमण, गाँठागुँठी, रक्तबिमार जाँच गर्नुपर्छ । देशका सर्वोच्च इन्स्टिच्युट त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, कान्ति बाल अस्पताल र विभिन्न मेडिकल कलेजहरुले पेडियाट्रिक इम्युनोलोजी एवं र्‍युमाटोलोजी युनिट खोल्न जरुरी छ । त्यसपछि रिफर गर्ने चलन सुरु हुन्छ । (डा. भट्टराई ओम हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्