Logo
|
Saturday 20th April 2024
Logo

epaper

क्यान्सर बिरामीको उपचार: उमेर कम, सोच विशाल



डा. बीरेन्द्रकुमार यादव



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कन्सल्टेन्ट क्लिनिकल अंकोलोजिष्ट डा. बीरेन्द्रकुमार यादव पुर्वाञ्चल क्यान्सर हस्पिटलको मेडिकल डाइरेक्टर हुनुहुन्छ । डा. यादवले भारतको पिजिआई चण्डीगढबाट रेडियोथेरापी एण्ड क्लिनिकल अंकोलोजीमा एमडी गर्नुभएको हो । भारतको हरियाणास्थित मेदान्त अस्पतालमा करिब साढे दुई वर्ष क्लिनिकल अंकोलोजीमा काम गरेर डा. यादव नेपालमा नै बसेर उत्कृष्ट क्यान्सर उपचार सेवा दिने उद्देश्यले नेपाल फर्किनुभएको हो । उमेरले कम भएपनि उहाँको सोच भने विशाल छ । यस अंकमा हामीले डा. यादवलाई कभर पेजमा प्रस्तुत गरेका छौं । पूर्वाञ्चल क्यान्सर हस्पिटलमा सक्रिय टिमसहित क्यान्सर उपचार सेवा उपलब्ध गराइरहनुभएका डा. यादवले जनस्वास्थ्य सरोकारलाई दिनुभएको जानकारी जस्ताको जस्तै प्रस्तुत गरेका छौं उहाँकै शव्दमा ।


हाल अस्पतालमा अत्याधुनिक उपकारण र उपचार सेवा प्रदान भइरहेको छ । अस्पतालमा १४ जना विशेषज्ञ र २० जना कन्सल्यान्ट डाक्टरबाट उपचार सेवा प्राप्त गर्न सकिन्छ । मैलै कहिल्यै पनि केन्द्रमा सेटल हुने योजना बनाइँन । मेरो घर सिराहा जिल्ला भएकाले पूर्वी क्षेत्रमा बसेर काम गर्न मन लाग्यो । पहँुच नभएको ठाउँमा बसेर सेवा दिनुपर्छ भन्ने मेरो मान्यता हो । मोफसलमा बसेर काम गर्न कोही पनि चाहँदैन । क्यान्सर रोग पेरिफेरिमै धेरै पाइन्छ । भेटका क्रममा दुर्गा प्रसाईंले बिर्तामोडमा क्यान्सर अस्पताल बनाउने योजना सुनाउँदा विश्वास लागेन । राजधानीबाहिर बसेर क्यान्सर सेवा दिने मेरो चाहनालाई प्रसाईंले स्वीकार गर्नुभयो । त्यसपछि पुर्वाञ्चल क्यान्सर अस्पतालमा आवद्ध भएँ । दुई वर्षमा भवन तयार भयो । अहिले एक वर्षभन्दा भन्दा बढी समयदेखि अत्याधुनिक उपकरणसहित अस्पताल सञ्चालनमा आएको छ ।

मैले इन्डियामा नचलाएका क्यान्सर उपकरण यहाँ चलाइरहेको छु । यो ठूलो उपलब्धि हो ।

सेवा र चुनौति
नेपाल एउटा अल्पविकसित देश हो । यहाँका जनतामा उपचार खर्च व्यहोर्ने क्षमता अत्यन्तै कम छ । राम्रो संरचनाका लागि लगानी गर्न धेरैपटक पटक सोच्नुपर्छ । लगानीकर्ताहरु त्यति उत्सुक हुँदैनन् । एक नेपालीले अर्को नेपाली माथि नै विश्वास गर्दैनन् । स्रोत साधन प्रयोग गर्न चाहँदैनन् । बुझ्न समय लाग्ने रहेछ ।
हामीले पुर्वाञ्चल क्यान्सर अस्पताल सुरु गर्ने बेला कति डाक्टरहरुले अस्पतालमा बिरामीको चाप कम हुने भएकाले डाक्टरहरु नबस्ने हुन् कि भन्ने आशंका गर्नुभएको थियो । तर उपचारका लागि आवश्यक पूर्वाधार भएपछि डाक्टरहरुको पनि आकर्षण हुने रहेछ ।

विश्वसनीय उपचार सेवा उपलब्ध अत्याधुनिक उपकरण र सुसज्जित पुर्वाधार चाहिन्छ । काम गर्ने वातारण हुनुपर्छ । समयसापेक्ष नयाँ उपकरणहरु थप्दै जानुपर्छ । बिना उपकरण प्यारालाइसिस जस्तै भइन्छ । दक्ष जनशक्तिको टिम आवश्यक पर्दछ । लगानीकर्ता सर्पोटिभ हुनुपर्छ ।

पुर्वाञ्चल क्यान्सर अस्पताल किन जाने ?

बिरामीलाई अत्यन्तै सहज वातावरण छ । एउटै छातामुनी सम्पूर्ण क्यान्सर उपचार सेवा उपलब्ध छ । अस्पताल आएका बिरामीमा कुनै पनि मेडिकल उपकरण सेवाको अभाव छैन । बायोप्सी, सिटी स्क्यान, एमआरआई र इन्डोस्कोपी तुरुन्तै हुन्छ । अस्पतालमा सबै किसिमका शल्यक्रिया हुन्छन् । एनेन्थेसिया र प्याथोलोजिष्टहरुको छुट्टै टिम छ । आइजीआरटी, आइएमआरटी र एसबिआरटी जस्ता रेडियो थेरापीको सुविधा छ । अस्पतालले अत्याधुनिक रेडियो सर्जरी सेवा प्रदान गर्छ ।स–साना ट्युमरलाई उच्च डोज रेडियसन दिएर मेल्ट गरिन्छ । यसलाई रेडियो सर्जरी भनिन्छ । रेडियो सर्जरी नेपालमा पहिलो पटक भित्र्याएका छौँ । यसका लागि आवश्यक पर्ने छुुट्टै दक्ष जनशक्ति इन्डियाबाट ल्याएका छौँ । रेडियो सर्जरी सेवा शल्यक्रिया जतिकै प्रभावकारी हुन्छ । मेनिन्जियोमा, ब्रेन ट्युमर, स्पाइन ट्युमर आदिमा रेडियो सर्जरी गरिन्छ । अस्पतालले पेट सिटी स्क्यान सेवा सुरु गर्दै छ । यसका अलावा गामा क्यामेरा पनि ल्याउँदैछ । अस्पतालमा पेट सिटी, थ्री टेस्ला एमआरआई, मोडुलर ओटी, लिनियर एक्सिलेटर, ब्रेकी थेरापी सहितको विशेषज्ञ चिकित्सकहरुको उत्कृष्ट टिम छ । अत्याधुनिक उपकरण र विशेषज्ञ डाक्टरहरुको टिमले नै बिरामी बचाउन सक्छन् ।

सुविधा
सर्जिकल, रेडियोथेरापी, केमोथेरापी र सेवा क्यान्सर उपचारका महत्वपर्ण पाटो हुन् । यस अस्पतालमा सर्जरीको गर्ने डाक्टरको राम्रो टिम छ । रेडियोथेरापी सेवा वेस्ट छ । रेडियो टेक्नोलोजीमा अन्य देश सँग प्रतिस्पर्धा गर्न सकिन्छ । चाँडै रोग डायग्नोसिस हुन्छ । बिपन्न बिरामीलाई सरकारको सहुलियतमा एकलाख रुपियाँको सेवा निःशुल्क उपलब्ध गराउँछौं । रोग पहिचानमा ढिलासुस्ती भएमा क्यान्सर एडभान्स्ड स्टेजमा पुग्न सक्ने भएकाले समयमै सही डायग्नोसिस सेवा दिइरहेका छौं ।

मेरो एउटै लक्ष्य क्यान्सरका बिरामीको सहयात्री बन्ने हो । विश्वमा क्यान्सर उपचार सम्बन्धि विकसित भएका नयाँ उपकरणहरु मुलुकमा भित्र्याएर क्यान्सर उपचारका लागि विदेशिने बिरामीको दर घटाउने मेरो मुख्य चाहना छ ।

प्रतिक्रिया दिनुहोस्