Logo
|
Thursday 25th April 2024
Logo

epaper

बैंकर्स किशोर महर्जनको स्वास्थ्यको राज

६२ वर्षको उमेरमा पनि उत्तिकै जोस् र उर्जा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । बैङकिङ क्षेत्रमा ३३ वर्ष लामो अनुभव हाँसिल गरेका किशोर महर्जनले ६ वटा वाणिज्य बैंकमा काम गरिसक्नुभएको छ । उहाँ नेपाल वैंक लिमिटेडबाट बैंकिङ यात्रामा प्रवेश गर्नुभएका हो । महर्जनसँग राष्ट्रिय वाणिज्य वैंकमा एक वर्ष ६ महिना काम गरेको अनुभव छ । यस्तै, हिमालय बैंकमा पनि लामो समय बिताउनुभयो । महर्जनले अधिकांश समय क्रेडिट अप्रेसन र मार्केटिङ पाटोमा बिताउनुभयो । बैङकिङ क्षेत्रको अनुभवलाई लिएर उहाँकै सक्रियतामा सनराइज वाणिज्य बैंकको स्थापना भयो । सिभिल बैंकमा संस्थापक प्रमुख कार्यकारी अधिकृतका रुपमा भूमिका निर्बाह गर्नुभयो महर्जनले । उहाँ सामाजिक क्षेत्रमा पनि आवद्ध हुनुहुन्छ । केहि विद्यालय र कलेजहरुमा बोर्ड डाइरेक्टरको भुमिकामा रहनुभएको छ । महर्जन हाल ललितपुर सानेपास्थित स्टार हस्पिटलको अध्यक्ष हुनुहुन्छ । सामुहिक रुपमा निर्णय गर्ने र योजनालाई आत्मसाथ गर्दै अघि बढ्ने महर्जनको गुण छ । उहाँसँग जनस्वास्थ्य सरोकारले जीवनशैली प्रसंगमा संक्षिप्त कुराकानी गरेको छ । उहाँकै शब्दमा ।

हेल्दी
यो उमेरसम्म पनि हेल्दी नै छु । म ३६ वर्षदेखि स्क्वास खेल निरन्तर खेलिरहेको छु । हप्तामा कम्तिमा तीनपटक खेल्छु ।
उमेर
६२ वर्ष
हाइट
५.८ फीट
वजन
पहिले ८५ के.जी. अहिले ७५ के.जी.
शारीरिक व्यायाम
फुटबल मन पर्छ । व्याडमिन्टन कहिलेकाँही खेल्छु । बक्सिङमा रुचि छ । स्कुलमा खेल्थे । गेम खेल्नुअघि झण्डै २० मिनेटजति स्ट्रेचिङहरु गर्छु । शारीरिक व्यायाम भनेकै स्क्वास खेल हो । घरमा म प्रत्येक दिन २० देखि २५ मिनेट स्ट्रेचिङ गर्छु । यसले दिनभर फूर्तिपना ल्याउँछ । गेम खेल्नुअघि फिजिविलिटी चाहिन्छ । यसमा सबै स्ट्रेचिङले हेल्प गर्छ । ढाड, कम्मर, घुँडा दुखेको निको पार्नमा यसले मद्दत गर्छ ।

आफूलाई स्वस्थ व्यक्ति ठान्नुहुन्छ ?
म आफूलाई स्वस्थ नै ठान्छु । उच्चरक्तचाप र मधुमेह छ । कहिल्यै पनि सिकिस्त बिरामी भएको छैन । ट्रेकिङ, हाइकिङ जान परेपनि तयारी नै छु । मैले चाहेजति सबै गर्न सकिरहेको छु ।
स्वस्थ हुने उत्तम तरिका
नियमित व्यायाम, स्वस्थ खाना नै हो । रक्सी सेवन गर्नुहुँदैन । चुरोट खानुहुँदैन । ड्रिङ्कीङ गर्नैपर्ने अवस्था आए लिमिटमा गर्नुपर्छ ।
चिसो लाग्छ ?
चिसो त लाग्छ ।
खानपान र क्यालोरी
स्वस्थ खाने प्रयास गर्छु । कामको व्यस्तताले कहिलेकाँही खानामा कम्प्रोमाइज गर्नुपर्छ । ब्रेकफास्ट मिस गर्दिनँ । तर, लन्चको ठेगान हुँदैन । खानामा क्यालोरीको मात्रा मिलाएर खान्छु । क्यालोरीको ख्याल नगर्दा वजन बढ्छ । स्क्वास खेल्ने क्रममा क्यालोरी बर्नलाई ख्याल गरेर फूड इन्डेक्स तय गर्छु । वजन बढेको लागेमा १५ मिनेट अतिरिक्त खेल्छु । खाली पेटमा व्यायाम गर्छु । व्यायामपछि ब्रेक फास्ट लिन्छु ।
फलफूल
सिजन अनुसारका फलफूल खान्छु ।
फास्टफूड
कहिलेकाहीँ लन्चमा फास्टफूड खाने मन पनि हुन्छ । यात्रा गर्दा बढी खाइन्छ । हप्तामा एक दुइपटक बर्गर, स्याण्डबीच खान्छु ।
उपवास
बेलुका साढे सात बजे तिर खाना खान्छु । अर्को दिन खेल्न जान्छु । १६ घण्टाको अन्तरमा खाना खाने भएकाले ब्रत बस्दिन ।
ड्रिङ्स
हप्तामा एक-दुई पटक रक्सी पिउँछु । रक्सी धेरै खानुहुँदैन भन्ने थाहा छ । धेरै खायो भने मुटुको चाल बढाउँछ । लिभर खराब र उच्च रक्तचाप गराउने कुरामा ख्याल गरेर ड्रिङ्स गर्छु ।
धुम्रपान
आजकल दुई हप्तामा एक पटक चुरोट सेवन गर्छु । तर आठ दश वर्षअघि दिनमा एक पटक चुरोट पिउथेँ ।
हेल्थ चेकअप
म वर्षमा फूल बडी चेकअप गर्छु । तर ब्लड र यूरिन टेष्ट भने बर्षमा तिनपटकसम्म गर्छु ।
निद्रा
राति १२ बजेतिर सुत्छु । बिहान ६ बजेतिर व्युझिन्छु । ढिलो सुतेको बेला स्क्वास खेल्न जाँदिन ।
तनाव व्यवस्थापन
कामको सिलसिलामा कहिलेकाँही तनाव हुनु स्वभाविक हो । तर प्रि प्लानिङ गरेर समाधान खोजिन्छ । प्लानिङ गरेर अघि बढेमा तनाव कम हुन्छ । तर चुप लागेर बसियो भने तनाव बढ्छ । काम गर्दा हतारिनु हुँदैन । कुल माइण्डले सोच्नुपर्छ । स्ट्रेन्थ, अपरच्युनिटी, विकनेस, थ्रेट केलाएर अघि बढ्नुपर्छ । तनाव हुँदा उत्तेजित, आवेशमा आउने गर्दिनँ । कुल र एनालाइटीकल माइण्ड भएमा जस्तोसुकै अवस्थालाई समाधान गर्न सकिन्छ ।
स्वास्थ्य र सम्पत्ति
स्वास्थ्यलाई प्राथमिकता दिनैपर्छ । सम्पत्ति भएर व्यक्ति अस्वस्थ भएमा त्यसको महत्व हुँदैन । अस्वस्थ्य भएर जतिसुकै सम्पति भएपनि त्यसको के काम । स्वस्थ हुने तरीका रोज्नुपर्छ । स्वस्थ हुन पनि पैंसाको जरुरी छ ।
सफलता
शारीरिक र मानसिक रुपमा स्वस्थ्य छु । त्यसैले सहि तरिकाले विश्लेषण गर्छु । मेरो यो सफलताको राज हो । धैर्यता राख्छु । सम्मान गर्छु र सम्मान पाउँछु ।

प्रतिक्रिया दिनुहोस्