Logo
|
Friday 19th April 2024
Logo

epaper

ओभरियन क्यान्सर: कारण, लक्षण र उपचार




जनस्वास्थ्य सरोकार । ओभरीको क्यान्सर किटान गर्न सकिने कारणहरु छैनन् । तर केही तत्वहरुले ओभरीको क्यान्सर हुने सम्भावना वढाउँछ । जस्तै— बढ्दो उमेर (४०–५० वर्ष), पहिले कुनै क्यान्सर (जस्तै स्तन, पाठेघरको, लामो आन्द्राको) भएको भएमा ओभरीको क्यान्सर हुने सम्भावना हुन्छ । यदि परिवारमा ओभरीको क्यान्सर र स्तन क्यान्सरको वंशाणुगत इतिहास भएमा हुने संभावना रहन्छ । बच्चा नजन्माएका महिलामा ओभरीको क्यान्सर हुने सम्भावना बढी हुन्छ । उपचारको क्रममा लामो समय सम्म हर्मोन दिएको अवस्थामा पनि यसको सम्भावना बढेर जान्छ ।

ओभरी क्यान्सरको लक्षण चाँडै पत्ता नलाग्न पनि सक्छ । यसको सामान्य लक्षणहरुमा, तल्लो पेट दुःख्ने,कम्मर दुःख्ने, बिना कारण पेट बढ्ने, पेटमा मासुको डल्लो जस्तो लाग्ने, पेट फुलेको जस्तो, खाना अपच, वाक, वाक आदि लाग्ने, कहिलेकाँही योनीबाट रगत बग्ने, चाँडै थाक्ने, श्वासप्रश्वासमा समस्या हुने, कहिलेकाँही पातलो दिसा कहिलेकाँही कब्जियत हुने आदि हुनसक्छ ।

उल्लेखित लक्षणका आधारमा आफूलाई शंका लागेमा तुरुन्त चिकित्सकसँग परामर्श लिनुपर्छ । चिकित्सकले विभिन्न जाँच गरी रोग निदान गर्छन् । यसका लागि अल्ट्रासाउन्ड, सिटी स्क्यान, एमआरआई, एक्सरेलगायतका रेडियोलोजिकल परीक्षण गरिन्छ । व्यक्तिको रगतको जाँच र सम्बन्धित ठाउँको मासुको जाँच गरिन्छ । क्यान्सर रोग पक्का निदान गर्न मासु जाँचको रिपोर्ट आवश्यक पर्छ र यो शरीरमा आएको गाँठोवाट पनि गर्न सकिन्छ । यदि पेटमा पानी भरिएमा पानी तानेर जाँच गर्न सकिन्छ । यद्यपी विभिन्न जाँचको आधारमा चिकित्सकले रोगको अवस्था पत्ता लगाउँछन् ।

यसको उपचार क्यान्सरको तह र बिरामीको शारीरिक अवस्थामा भर पर्छ । यदि शारीरिक अवस्था कमजोर भएमा आवश्यक उपचार दिन नसक्ने सम्भावना रहन्छ । त्यसैले यो क्यान्सरमा शल्यक्रिया र किमोथरापी गर्न सकिन्छ । किमोथेरापी र शल्यक्रिया कुन अघि कुन पछि गर्ने भन्ने तय बिरामीको शारीरिक अवस्था र रोगको तहले तय गर्दछ ।

उपचारका लागि स्त्री रोग क्यान्सर विशेषज्ञ र किमोथेरापीका लागि क्यान्सर विशेषज्ञसँग परामर्श गरी उपचार शुरु गर्नुपर्छ । क्यान्सरको मुख्य उपचार पूरा भएपछि पनि क्यान्सर रोग विशेषज्ञ (आफ्नो चिकित्सक) सँग समय तालिका अनुसार भेट गरिरहनुपर्दछ । नियमित फलोअप गर्नाले समयमा समस्या पहिचान गर्न सकिन्छ । (डा. चापागाईं वीर हस्पिटल र नेशनल क्यान्सर हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्