Logo
|
Saturday 22nd February 2025
Logo

epaper

श्रीमतीको उपचार गर्न आर्थिक अभावः अन्तत ५० हजारमा भैसी पनि बेच्नुपर्यो

शरीरका भित्री अङ्गमा सङ्क्रमण भई मस्तिष्कमा पानी जमेको उपचार धनगढीको मायामेट्रो अस्पतालमा हुँदै



नेपाल हेल्थ न्युज, बैतडी । उपचार गर्ने खर्च नहुँदा बैतडी पाटनका एक किसानले ५० हजार रुपियाँमा भैँसी बेचेर श्रीमतीको उपचार गरिरहनु भएको छ । भैँसी बेचेको रकमले उपचार गर्न नपुग्दा आफन्त नातेदार र गाउँले मिलेर आर्थिक सङ्कलन गर्ने अभियान चलाए पनि पर्याप्त रकम नउठेको उहाँको भनाइ छ ।

पाटन नगरपालिका–१०, पनाली मल्लाथौडाकी ४५ वर्षीया राजमति बिष्टको कम्मर, टाउको र शरीरका भित्रि अङ्गमा सङ्क्रमण भई मस्तिष्कमा पानी जमेको चिकित्सकलाई उदृत गर्दै बिरामीका श्रीमान् गोपाल बिष्टले बताउनुभयो ।

राजमतिको कम्मर र टाउको दुख्ने समस्यालाई लिएर जिल्ला अस्पताल बैतडी, डडेल्धुरा लगायतका ठाउँमा उपचार गरे पनि निको नहुँदा फागुन ३ गतेदेखि धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएको छ ।

उहाँको सघन उपचार कक्षमा भर्ना गरी उपचार भइरहेको बिरामीका छोरा २५ वर्षीय अर्जुन बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “घरको आर्थिक अवस्था दयनीय छ । दुधालु भैँसी बेचेर अस्पताल आएको छौं । चिकित्सकले टाउकोमा पानी जमेको छ भनेका छन् । एक हप्तादेखि आइसियुमा भर्ना गरेर उपचार गर्दा करिब दुई लाख रुपियाँको बिल आएको छ ।”

भारतमा ज्याला मजदुरी गर्दै आइरहेका अर्जुनले आमा बिरामी भएको खबर पाएपछि स्वदेश फर्किएको बताउनुभयो । गरिबीले खान लगाउन र पढ्ने खर्च नहुँदा कक्षा १० को पढाइ छाडेर भारत पसेका अर्जुनले त्यहाँ मासिक १४ हजार रुपियाँमा होटलमा काम गर्दै आइरको बताउनुभयो ।

घरको आर्थिक अवस्था दयनीय भएकै कारण अर्जुनपछिका दुईमध्ये २२ वर्षीय महेश बिष्टले आठ कक्षामै पढाइ छाडेर भारतमा मजदुरी गरिरहनुभएको छ भने कान्छो भाइ २० वर्षीय राजेशले पनि पढाइ छाडेर बस्नु भएको छ । भारतको ज्याला मजदुरी र घरको दुधालु भैँसीको दुध बेचेर जिविका चलाउँदै आएको बिष्ट परिवारको अहिले बिचल्ली भएको छ ।

आफन्त र छिमेकीले राजमतिको उपचारका लागि आर्थिक सहयोग सङ्कलन गर्ने अभियान चलाएको छिमेकी नातेदार कृष्ण बिष्टले बताउनुभयो । विभिन्न मनकारीले राजमतिको पीडालाई बुझेर ३२ हजार रुपियाँ सहयोग गरेको बिरामीका छोरा अजर्नुनले बताउनुभयो । उहाँले उपचार गर्न लाखौं रुपियाँ खर्च हुने भएपछि घरमा भएका दुई वटा बाख्रा पनि बिक्रीमा रहेको बताउनुभयो ।

बिरामी राजमति बिष्टको उपचारका लागि आर्थिक समस्यामा परेको विषय वडाबाट आए पनि नगरपालिकाले तत्काल सयोग गर्न नसकिने पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष त आर्थिक सङ्कट छ । अहिले बिरामीका आफन्तलाई आफैँ मिलाउन भनेका छौं । कार्यापालिकाको बैठक बसेर सम्भव भए जतिको सहयोग गरौंला ।”

यता बिरामीका आफन्तले सम्पतिको नाममा भएको दुधालु भैँसी बेचिसकेकाले उपचार खर्च जुटाउन कुनै विकल्प नभएको बताउनुभयो । मनकारीलाई उपचार खर्चका लागि गुहारीरहेको बिरामी राजमतिका छोरा अर्नुन बिष्टले सुनाउनुभएको गोरखापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्