औषधि नीतिमा चुनौतिका चाङ
औषधि व्यवसायी प्रति हेर्ने दृष्टिकोणमा गरौं रुपान्तरण
एक कुशल औषधि व्यवसायी शुभमान श्रेष्ठ नेपाल औषधि व्यवसायी संघ (एनसिडीए) काठमाडौँ जिल्ला शाखाका महासचिव हुनुहुन्छ । उहाँ आरभी मेड डिस्ट्रिब्युटर्सका व्यवस्थापक तथा निर्देशक पनि हो । हालै काठमाडौं जिल्ला शाखा स्थापना भएको एक वर्ष पूरा भएको छ । राजधानीमा रहेर शाखाले व्यवसायीहरुको हक हित र सुरक्षाका लागि के गरिरहेको छ ?
बाग्मती अञ्चल शाखाले हेर्दै गरेको एक काठमाडौं जिल्ला शाखा कसरी स्थापना भयो ?
धन्यवाद, सर्वप्रथम संस्थापक अध्यक्ष स्व. पुष्प लाल राजभण्डारी प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्झिन चाहन्छु । त्यो सकारात्मक सोच जसका कारण नेपालभर छरिएर रहेका औषधि व्यवसायीहरुलाई संगठित गरी औषधि व्यवसाय र व्यवसायीहरुको हकहीत र सुरक्षा गर्दै गुणयुक्त, असरयुक्त र जनसुरक्षित औषधि सर्वसुलभ उपलव्ध गराउने उद्येश्यले नेपाल औषधि व्यवसायी संघको स्थापना वि.सं.२०३० सालमा भएको थियो । विधान अनुरुप तत्कालीन समयमा केन्द्र र अञ्चल शाखाको मात्र संरचना थियो र वागमती अञ्चलभित्र रहेका सम्पूर्ण जिल्लाहरुलाई उसैले हेर्ने गर्दथ्यो । तर मुलुक संघीयतामा गइसकेपछि राष्ट्रले जब नयाँ संविधान पायो तब सोही अनुरुप हाम्रो संस्था पनि प्रादेशिक संरचना जिल्ला, प्रदेश र संघ (केन्द्र) गरी तीन तहमा जानुपर्ने भएकाले तदनुरुप विधान संशोधन साधारण सभा २०७५ नेपालगञ्जबाट विधान संशोधन भई पारित भएको प्रादेशिक संरचनाको आधारमा नेपाल औषधि व्यवसायी संघको वर्तमान संरचना बनाउन शुरु भयो । सो संशोधित विधानमा भएको प्रादेशिक संरचना अनुरुप २०७६ भाद्र २८ गतेका दिन भएको ऐतिहासिक प्रथम काठमाडौं जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियाबाट पदाधिकारीहरु चयन भई नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखा गठन भएको हो ।
हाल काठमाडौ जिल्ला शाखाअन्तर्गत खुद्रा १ हजार ३०१, थोक विक्रेता ३४८ र आयात कर्ता ७५ गरी १७२४ व्यवसायीहरु रहेका छन् ।
मुलुकका सबै जिल्लाहरुमा शाखा बिस्तार हुन नसक्नाको कारण के पाउनुभएको छ ?
प्रतिकूल समय र हाम्रो विधानको धारा ८९ (क) अनुसार, जिल्लाभित्रका कम्तिमा ४० जना औषधि व्यवसायी सदस्यहरु हुन जरुरी छ । सोका आधारमा नेपाल औषधि व्यवसायी संघको ७७ वटै जिल्लामध्ये सबै जिल्लाहरुमा शाखा बिस्तार हुन सकिरहेको छैन । तर पनि विधानको सोही धारा अनुसार एकभन्दा बढि जिल्ला गाभेर शाखा गठन गरिएको र गर्नु पर्ने छ । तसर्थ ७७ वटै जिल्ला शाखा त हुने सम्भावना छैन् र जति हुनुपर्ने हो त्यो पनि हुन सकिरहेको छैन् । हाम्रो प्रदेशभित्र पनि विधान अनुरुप जिल्लाभित्र ४० सदस्य संख्या नपुग भएकाले रामेछाप र दोलखा दुई जिल्लालाई गाभेर एउटा जिल्ला शाखामा रुपान्तरण गरिएको छ । अहिले बाग्मती प्रदेशका चितवन, मकवानपुर, काठमाडौँ, भक्तपुर, ललितपुर, धादिङ, काभ्रे, नुवाकोट, रामेछाप र दोलखालगायतका जिल्लाहरुमा जिल्ला शाखा विस्तार भएका छन् । बाँकी जिल्लाहरुमा क्रमश शाखा विस्तार गर्दै जाने योजना रहेको छ । यसैगरी नेपाल अधिराज्यभर नै केहि जिल्ला शाखाहरु लगायत प्रदेश गठन हुन न सकिरहेतापनि अहिलेसम्म नेपालभर …… जिल्ला शाखा र ……. प्रदेश गठन भएका छन् ।
तपाईंको शाखाले संस्थागत कामहरु कसरी गरिरहेको छ त ?
धन्यवाद सान्दर्भिक प्रश्नका लागि, हाम्रो विवशता यो भयो कि जुन हामीले वार्षिक योजना बनाएका थियौ तदनुरुप जिल्ला शाखा स्थापना भएको ७ महिना वित्दा न बित्दै विश्वव्यापी महामारीले हाम्रो मुलुकलाई पनि आक्रान्त बनायो जसको परिणामस्वरुप हामी त्यो पूरा गर्न असमर्थ भयौं । तरपनि सो महामारीको प्रकोपबाट गुज्रिरहेको विषम परिस्थितिमा पनि हाम्रो सामाजिक तथा व्यवसायीक दायित्व निर्वाह गर्न कहि कतैपनि कमी हुन दिएनौं ।
दोस्रो महत्वपूर्ण काम भनेको हाम्रा सदस्यहरुलाई हाम्रा नियामन निकायसँगको समन्वयी भूमिका निर्वाह गरी सरल, सहज, छिटो र व्यवहारिक बनाउनु थियो । जसका लागि हामीले आफ्नो स्थापनाको १०० औं दिनमा औषधि व्यवस्था विभागको प्राङ्गणमा सहायता कक्षको स्थापना गरी निःशुल्क सेवा प्रदान गर्न सहायता कक्षको स्थापना ग¥यौं । तर केहि प्राविधिक कठिनाईले छोटो समयमा नै सो स्थानबाट सेवा प्रदान गर्नबाट वञ्चित भयौं । यद्यपी सेवा नै हाम्रो मुख्य लक्ष्य भएकाले सो सेवालाई निरन्तरता दिन हामीले औषधि व्यवस्था विभाग नजिकै कार्यालय स्थापना गरी सेवालाई निरन्तरता दिइरहेका छौं । हामीले राजधानी बाहिरका जिल्लाहरुका सदस्यहरुलाई पनि सेवा प्रदान गरिरहेका छौं ।
तेस्रो महत्वपूर्ण कार्य भनेको काठमाडौँ जिल्ला शाखाका सबै सदस्यहरुको निःशुल्क कोरोना बीमा गराएका छौँ ।
केहि राहत होस् भन्ने मुलभूत उद्धेश्यले व्यवसायी राहत कोषको स्थापना गरेका छौं । जसअन्तर्गत रहेर एक अग्रज दीर्घ रोगसँग लडिरहनुभएका एफएम फर्माका व्यवसायी युवराज के.सी.लाई नगद रु. ५०,००० (पचास हजार मात्र) सहयोग गरी शुभ कार्यको थालनी गरिसकेका छौं ।
गत वर्षको बडा दशैं र तिहारको वेला कुनै पनि औषधि सेवनकर्ताहरु औषधि खानबाट बञ्चित हुन नपरोस् भनी हामीले हटलाईन सेवा उपलव्ध गराएका थियौँ जसबाट तत्कालीन समयमा काठमाडौं जिल्ला लगायत विराटनगरसम्म १०० जनाभन्दा बढी औषधि सेवनकर्ताहरुलाई सेवा प्रदान गरेका थियौं ।
यस बीचमा केन्द्रिय अध्यक्ष तथा महासचिव साथैं वागमती प्रदेशका कार्यवाहक अध्यक्षको साथ र सहयोगमा औषधि व्यवस्था विभाग र वाणिज्य विभागसँग वर्तमान परिस्थितिलाई मध्यनजरमा राखी हामी माथि हेर्ने दृष्टिकोणमा परिवर्तन गराउन समय समयमा वार्ताको माध्यमबाट समन्वय भूमिका निर्वाह गरी हामी प्रति हेर्ने दृष्टिकोणमा सकारात्मक रुपान्तरण गर्न सक्यौं ।
कोभिडको महामारी बीच व्यवसाय सहजीकरण गर्ने क्रममा व्यवसायी पहिचानका लागि स्टिकर, परिचय पत्र बनाउनुका साथै सम्बन्धित निकायहरुसँग समन्वय गरी पसल सञ्चालनार्थ आवत जावत गर्न सहज वातावरण सिर्जना गरेका थियौं । ढुवानी सेवामा जनशक्तिको कमीले औषधि समयमा नै सम्बन्धित थोक बिक्रेताहरुको गोदामसम्म पुग्न सकिरहेको थिएन । त्यसलाई हामीले उपकोषाध्यक्ष स्वयंको सहयोगले ट्रान्सपोर्टदेखि थोक विक्रेताको गोदामसम्म पुर्याउने कार्य गर्न सफल भयौं ।
दैनिक कति जनाले काठमाडौं जिल्ला शाखाबाट सेवा लिन सफल भएका छन् ?
अहिले प्रत्येक दिन उपत्यका भित्र र उपत्यका बाहिरबाट दैनिक करिब २० देखि ३० जना व्यवसायी साथीहरुले सेवा लिने गरेका छन् । जिल्ला बाहिरका व्यवसायी र जिल्ला शाखाहरुले सम्झिएको खण्डमा निरन्तर सहयोग गर्न तयार छौँ ।
कोषमा कसरी रकम बढाउने योजना बनाउनुभएको छ ?
काठमाडौँ जिल्ला शाखामा रहेका सबै सदस्यहरुबाट मासिक १ सयका दरले हुन आउने बार्षिक १२ सय रुपियाँ अक्षय कोष सहयोग लिने योजना बनाएका छौं । काठमाडौं जिल्ला शाखाका सक्रिय सदस्य संख्या १७२४ व्यवसायीहरुसँग १२०० का दरले २० लाख ६८ हजार ८०० रुपियाँ बार्षिक रुपमा जम्मा हुँदै जानेछ र यसरी प्रत्येक वर्ष अक्षय कोष वृद्धि भई हाम्रा व्यवसायी मित्रलाई ठूलो राहत पुग्ने विश्वास राखेका छौं ।
प्राविधिक जनशक्तिको उत्पादन र समस्याबारे बताइदिनुस् न ?
हाल मुलुकभर खुद्रा, थोक र आयात गरी लगभग २३ हजार औषधि व्यवसायी छन् । यो संख्या क्रमश बढ्ने क्रममा छ । हाल मुलुकमा ४० ओटा डी फार्म अध्यापन गराउने सिटिईभिटी सम्बन्धन कलेजहरु रहेका छन् । जसले प्रत्येक वर्ष ४० जनाका दरले १६ सय फार्मेसीका दक्ष जनशक्ति उत्पादन गर्दछन् र त्यही हाराहारीमा विदेशबाट बीफार्म, एमफार्म र डि फार्म अध्ययन गरेर आएका पनि छन् । यसरी मुलुकमा प्रत्येक वर्ष २ हजार भन्दा बढी फार्मेसी अध्ययन गरेका जनशक्ति उत्पादन भएका छन् । यसरी बढेको जनशक्तिको बारेका समयमा नै ध्यानाकर्षण नभई योजना नबनेको अवस्थामा एक दिन यसले समस्याको रुप लिन सक्ने देखिन्छ ।
चुनौतिहरु के के छन् ?
औषधि ऐन २०३५ को दफा १० (क) नै चुनौतिपूर्ण छ । जबसम्म त्यो दफामा संशोधन हुँदैन तबसम्म हामी सम्पूर्ण व्यवसायीहरु दैनिक चुनौति र त्रासमय स्थितिबाट गुज्रिरहेका छौ । किनकी सो दफा १० बमोजिम प्रमाण पत्र लिएको व्यक्तिले दफा ८ (क) बमोजीम दर्ता भएका औषधि मात्र विक्री वितरण गर्ने अधिकार प्रत्यायोजन गरेको छ ।
जस्तोः बिरामी अस्पतालको शैयामा छटपटाइरहेको छ, उसलाई आवश्यक सिरिञ्ज, क्यानुला, नर्मल सलाईन किन्न कहाँ जाने ? अस्पतालको फार्मेसी वा डिपार्टमेण्टल स्टोर ? अहिले विश्वकै परिवेशमा औषधि वा औषधिजन्य सामाग्री बिक्री वितरण एकै स्थानबाट गरिरहेको प्रमाणहरु हुँदा हुँदै पनि सो दफा संशोधन प्रति कसैको ध्यान पुगिरहेको छैन । यसरी दैनिक मानसिक दवावमा रहेर सेवाग्राहीलाई सेवा प्रदान गरिरहेका छौं ।
वर्तमान कोभिड महामारीको अवस्थाको समयलाई अवसरको रुपमा लिई अधिकांश अनलाईन सेवा मार्फत् दफा १७ को उपदफा (२) र (३) पूर्णतः पालना नगरी मानव जीवनसँग सरोकार राख्ने संवेदनशील औषधि साथै सोही ऐनको दफा १९ को उपदफा (१) को परवाह नगरी विभिन्न समाजिक सञ्जालबाट विज्ञापन गरी विक्री वितरण गरिरहेकाले यसको आवश्यक व्यवस्थापन पनि एक अहम् चुनौति बनेको छ ।
अहिले कोभिडका कारण औषधिको व्यवसायमा व्यापार घाटा ७० देखि ८० प्रतिशतसम्म झरेको छ । तैपनि हाम्रो दायित्व सम्झी निरन्तर सेवा दिईरहेका छौँ । यस विषम परिस्थितीमा आवश्यक सेवा सञ्चालन खर्च पनि धान्न धौ धौ परिरहेको अवस्थामा राज्यले औषधि व्यवसायीहरुको मर्का बुझिदिनुपर्दछ र आवश्यक प्याकेज बनाई राष्ट्र सेवामा अनवरत खट्न उत्प्रेरित गर्नुपर्दछ ।
आगामी दिनका योजनाहरु के छन् ?
कोरोना महामारीले हाम्रो वार्षिक योजना अनुसार काम गर्न नसकेता पनि शैलीमा रुपान्तरण गरी सेवालाई सकारात्मक आत्मानुभूति गराउने छौं । जनचेतना, लिडरशिप प्रोग्राम, असरयुक्त, गुणयुक्त र जनसुुरक्षित औषधी बारे विशेष जानकारीका लागि समय सापेक्ष तालिम प्रदान गर्ने, व्यवस्थित लेखा प्रणाली सम्वन्धि तालिम, लागुऔषध र करको बारेमा सचेत गराउँदै व्यवसायीक दक्षतालाई अझ वृद्धि गर्दै अघि बढ्ने योजना छ ।
अन्तिममा के भन्न चाहनुहुन्छ ?
कोरोना महामारीजस्तो विषम परिस्थितिमा पनि आफ्नो घरपरिवार र ज्यानको केहि प्रवाह नगरी अनव्रत रुपले सेवा दिइरहनुभएका सबै औषधि व्यवसायीहरुप्रति कृतज्ञ छु । नेपाल औषधि व्यवसायी संघ ‘हिजो कस्तो थियो ?’ भन्ने नसोच्नुहोस् आज र आज उप्रान्त कस्तो हुन्छ र कसरी अगाडी बढ्ने भन्ने विषयमा चिन्तनशील हुनुहोला । हामी सबैले हातमा हात मिलाई, होस्टेमा हैँसे गरिकन अगाडी बढ्नुपर्छ । चित्त नबुझेको कुराहरु आपसी छलफलबाट समाधान गर्न सकिन्छ । यो तपाइहरुकै संस्था हो । यसलाई कसरी अगाडी लैजान सकिन्छ ? र यो संस्थाबाट औषधि व्यवसायीको हकहित र राष्ट्रका लागि कसरी सेवा पु¥याउन सकिन्छ ? भन्ने बारे मिलेर अगाडी बढौँ । त्यसैले सम्पूर्ण व्यवसायी साथीहरुलाई संघमा आबद्ध हुन अनुरोध गर्दछु । ‘सुखी जनता, समृद्ध नेपाल भन्ने राष्ट्रको नारालाई मुर्तरुप दिन तपाई हामी एक हुन जरुरी छ ।