Logo
|
Friday 29th March 2024
Logo

epaper

भारतमा एकैदिन थपिए ८१ हजार बढी कोरोना संक्रमित, ४ सय ५९ जनाको मृत्यु



जनस्वास्थ्य सरोकार । भारतमा कोरोना भाइरस संक्रमणका कारण एकै दिन ४ सय ६९ जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिन ज्यान गुमाउने यो जनवरीयताकै उच्च संख्या हो । बिहीबार पनि भारतमा कारोना संक्रमणबाट ४ सय ५९ जनाको मृत्यु भएको थियो ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा भाइरसका कारण ज्यान गुमाउनेको संख्या १ लाख ६३ हजार ३ सय ९६ पुगेको छ । पछिल्ला दिनहरूमा संक्रमित र संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दै गएको भारतीय अधिकारीहरूले जनाएका छन् । गएको २४ घण्टामा मात्रै ८१ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १ करोड २२ लाख नाघेको छ ।

भारतको महाराष्ट्र राज्यमा मात्रै पछिल्लो २४ घण्टामा ४३ हजार १ सय ८३ जनामा कोरोना पुष्टि भएको छ । कोरोना महामारी सुरु भएपछि महाराष्ट्रमा एकैदिन सबैभन्दा धेरैमा संक्रमण पुष्टि भएको हो । महाराष्ट्रको राजधानी मुम्बईमा मात्रै पछिल्लो २४ घण्टामा ८ हजार ६ सय ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

कुल संक्रमितमध्ये १ करोड १४ लाखभन्दा बढी निको भइसकेका मन्त्रालयले जनाएको छ । भारतमा हालसम्म ६ करोड ८७ लाखभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । बिहीबार मात्रै खोप लगाउनेको संख्या ३६ लाख ७१ हजार २ सय ४२ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा जनवरी १६ देखि खोप अभियान सुरु गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्