Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपालका ५ कमजोरी जुन कोभिड-१९ ले उजागर गरिदियो



जनस्वस्थ्य सरोकार । कोरोनाभाइरस महामारीका कारण नेपालमा गत एक वर्षमा पौने तीन लाख सङ्क्रमित भए अनि झण्डै तीन हजारभन्दा बढीले ज्यान गुमाए। वर्षैभरि महामारीको त्रास कायमै रह्यो। लामो लकडाउनले स्वास्थ्यका साथै जनजीविकामाथि नै असर पर्‍यो।

विश्वले स्वास्थ्य दिवस मनाउँदै गरेको एप्रिल ७ का दिन स्वास्थ्य क्षेत्रका जानकारहरूले गएको एक वर्षमा नेपालले महामारीका कारण बेहोरेको चुनौती, सिकेका पाठ तथा देखिएका निम्न कमजोरीहरू औँल्याएका छन्।

१. प्रकोपको पूर्वतयारी

चाहे प्राकृतिक होस् वा मानवसिर्जित हरकिसिमको सङ्कटसँग जुझ्ने प्रमुख हतियार भनेको पूर्वतयारीलाई मानिन्छ। महामारीको हकमा देशहरूको पूर्वतयारीको परीक्षण भयो। त्यसमा नेपाल कत्तिको खरो उत्रन सक्यो त?

‘प्रकोपको पूर्वतयारीको हकमा हामी जहिले पनि कमजोर रह्यौँ। जति काम भएका छन् ती स्वाभाविक थिए, हुनैपर्ने किसिमका थिए,’ जनस्वास्थ्यविद् डा शरदराज वन्त बताउनुहुन्छ ।

गत वर्ष अरू देशमा महामारी सल्किँदापनि नेपालले तयारीका निम्ति केही समय र अरूको अनुभव हेर्ने मौका पाएको थियो।

तर त्यसको फाइदा उठाउन नसकिएको विज्ञहरू बताउँछन्। सीमाक्षेत्रमा स्वास्थ्य चेकजाँच अनि क्वारन्टीनका विषयमा पूर्वतयारीका प्रशस्त मौका खेर गएको उनीहरूको भनाइ छ।

स्वास्थ्यमन्त्रालयमा प्रमुख विज्ञ तथा निमित्त सचिव एवं जनस्वास्थ्य जानकार डा. सुशील प्याकुरेल भन्नुहुन्छ-‘जब हामी महामारीको दोस्रो लहरको खतराको कुरा गर्छौँ हामीले सीमाक्षेत्रमा व्यवस्थित किसिमका होल्डिङ, सेन्टर चेकजाँच प्रणाली अनि क्वारन्टीन प्रणाली भएको पाउँदैनौँ’

२. सिक्न नसक्ने प्रवृत्ति

मानिसजस्तै संस्था तथा प्रणालीले पनि या त अरूको भोगाइबाट जान्ने या त आफ्नै गल्तीबाट सिक्ने मौका पाउँछन्।

‘तर हाम्रो स्वास्थ्य प्रणालीको अवस्था हेर्दा भोगाइबाट सिक्ने प्रवृत्ति देखिँदैन। अर्थात् कमजोरीहरू दोहोरीरहन्छन्,’ जनस्वास्थ्यविद् वन्तले बताउनुभयो ।

आवश्यक सामग्री खरिद, जनशक्तिको व्यवस्थापन, परीक्षण तथा सम्पर्क पहिचान अनि उपचार प्रबन्धजस्ता विषयमा नेपालले बितेको एक वर्षमा प्रशस्त अनुभव हासिल गरिसकेको छ।

ती अनुभवको सदुपयोग गर्न सकेमात्रै पनि आगामी दोस्रो वा तेस्रो लहरको जोखिमलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिने विज्ञहरूको सुझाव छ।

स्वास्थ्य जाँच

३. समन्वयको कमी

जब कोभिड महामारी फैलियो संजोगवश नेपालले सङ्घीयताअनुरूपको तीन तहको शासकीय ढाँचा अपनाइसकेको थियो। तर सो ढाँचा बमोजिमको समन्वय भने नदेखिएको विज्ञहरूले औँल्याएका छन्।

केन्द्रमा स्वास्थ्यमन्त्रालयको अगुवाइ रह्यो भने सम्पर्क पहिचानदेखि नाकामा चेकजाँच, क्वारन्टीनका अनेक व्यवस्थापन प्रदेश तथा खासगरि स्थानीय तहको काँधमा आइपर्‍यो।

अचानक ठूलो विपत्ति पर्दा कसले के भूमिका खेल्ने र कसरी स्रोत परिचालन गर्ने भन्ने बारे सुरुको समयमा निकै अन्योल देखा परेको थियो।

“महामारीको बेला समन्वयको दह्रो संयन्त्र आवश्यक पर्ने रहेछ नत्र त उसले उसलाई पन्छाउने जस्ता काम हुनसक्दा रहेछन्। त्यसैले स्वास्थ्यको हकमा त्यस्तो दह्रो संयन्त्रको खाँचो टड्कारो देखा परेको एउटा पाठ सिक्न सकिन्छ,” विगतमा महामारी तथा रोग नियन्त्रण महाशाखाका जिम्मेदारी समेत बहन गरिसकेका स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेती बताउनुहुन्छ ।

“अहिले स्वास्थ्य क्षेत्रमा ३३ हजार सरकारी कर्मचारी छन् अनि ५६ हजारभन्दा धेरै महिला स्वास्थ्य स्वयंसेविकाहरू छन्। यी सबैलाई तीनै तहमा समन्वयात्मक ढङ्गले परिचालन गर्न सक्ने अनुभवी नेतृत्वपनि चाहिन्छ,”उहाँले भन्नुभयो ।

महामारीको बेला निजी अस्पताल तथा स्वास्थ्यसंस्थाको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने भएकाले उनीहरूसँग बेलैदेखि उपचार प्रबन्धबारे समन्वय गर्नुपर्ने उनले बताए।

स्थानीय तह

४. कमजोर संरचना र स्रोतको अभाव

महामारीभन्दा पहिलेकै अवस्थादेखि नेपालका स्वास्थ्य संरचना तथा स्रोतको अवस्थामा प्रश्न उठ्दै आएका थिए। महामारीले ती संरचना कति कमजोर रहेछन् भन्ने देखाएको विज्ञहरू बताउँछन्। अन्य देशले जति धेरै सङ्क्रमण नबेहोर्दा पनि स्वास्थ्य संरचनाले निकै चुनौती बेहोरे।

न्यूनतम सुविधा सहितका शैय्या भएका अस्पतालहरूको अभाव खट्कियो भने सघन उपचार धेरैलाई आवश्यक परे के गर्ने भन्ने त्रासपनि उत्पन्न भए। हालै सरकारले तीन सयभन्दा धेरै स्थानीय तहमा एकैपटक अस्पताल निर्माणको घोषणा गरेकोलाई विज्ञहरूले स्वागत गरेका छन्। तर भौतिक संरचनाका अतिरिक्त जनशक्ति तथा स्रोतको वितरण हुन नसके त्यसले फाइदा नदिने भन्दै उनीहरूले सचेत गराएका छन्। जनशक्तिमा पनि दक्ष चिकित्सकका अतिरिक्त दक्ष नर्स तथा अन्य दक्ष प्यारामेडिकको महत्त्व थप देखिएको उनीहरूले बताए।

मृतक व्यवस्थापन

५. व्यवस्थापन कौशलमा पछि

संरचना र स्रोत भएपनि तिनको उचित व्यवस्थापन हुन नसके बेकामे हुनसक्छन् भन्ने उदाहरण अन्य देशको अनुभवबाट देख्न सकिने डा वन्तले बताउनुभयो ।

“हामीले धनी तथा शक्तिशाली देशले स्रोत व्यवस्थापन गर्न नसकेका उदाहरण पनि देख्यौँ। त्यसैले स्रोतमात्रै सबथोक होइन, व्यवस्थापन पनि जान्नुपर्छ भन्ने गतिलो सन्देश यो महामारीले दिएको छ,” उहाँले भन्नुभयो ।

“हामीकहाँ नीतिगत निर्णय गर्नुपर्‍यो भने जहिले पनि अलमल र ढिलासुस्ती हुन्छ। निर्णय प्रक्रिया चुस्त छैन। अनि कार्यान्वयन अझ फितलो छ,” उहाँले बताउनुभयो ।

‘चाँदीको घेरा’

गत एक वर्षको अनुभव नियाल्दा नेपालको स्वास्थ्य प्रणालीमा कतिपय आशलाग्दो पक्षपनि देखिएको विज्ञहरूले बताएका छन्।

“हाम्रो प्रणाली कतिपयको तुलनामा बेसी उत्तरदायी देखियो। ज्येष्ठ नागरिकले बेलैमा खोप पाए अनि धेरैको मृत्यु भएन। जनस्वास्थ्य प्रणाली सोचेजत्ति खराब रहेनछ भन्ने देखायो,” डा उप्रेती बताउनुहुन्छ

अस्पताल तथा प्रयोगशालाहरूमा भएका विस्तार तथा विकास, जनचेतनामा आएको अभिवृद्धिजस्ता विषय सकारात्मक पाटो भएको डा वन्तले औँल्याउनुभयो ।

यी सकारात्मक पक्षहरूमा टेकेर पूर्वतयारी अनि समन्वयमा ध्यान दिन सके आगामी दिनमा आउनसक्ने कोभिड महामारीको थप लहर वा अरू महामारीबाट पनि निकै हदसम्म जोगिन सकिने जानकारहरूले बताएका छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्