Logo
|
Saturday 20th April 2024
Logo

epaper

भारतीय भेरियन्ट लेखिएका सबै पोस्ट हटाउन सामाजिक सञ्जाल कम्पनीलाई भारत सरकारको निर्देशन



जनस्वास्थ्य सरोकार । भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई कोभिड-१९ को ‘भारतीय भेरियन्ट’ भनेर उल्लेख गरिएका सामग्रीहरू हटाउन निर्देशन दिएको छ।

सूचना प्रविधि मन्त्रालयका अनुसार विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको उक्त प्रकारलाई बी.१.६१७ को रूपमा सूचीकृत गरेको हुनाले त्यसलाई ‘भारतीय’ भन्नु गलत रहेको तर्क गरेको छ।

कोरोनाभाइरसका अन्य प्रकारलाई चिनाउन ‘यूके भेरियन्ट’ र ‘ब्रजिल भेरियन्ट’ जस्ता नाम पनि प्रयोग भइरहेका छन्।

कोभिड-१९ को अवस्थालाई व्यवस्थापन गर्ने विषयमा भारत सरकार आलोचित बन्दै आएको छ।

गत महिना दिल्लीले ट्विटरलाई महामारीका विषयमा आलोचना गरिएका केही सामग्रीहरू मेट्न आदेश दिएको थियो।

Presentational white space

भारतको अवस्था के छ?

गत मार्च महिनायता भारत कोरोनाभाइरसको नयाँ प्रकारबाट नराम्ररी प्रभावित भएको छ।

कोरोनाभाइरस अतिप्रभावित देशको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ।

जोन्स हप्किन्स यूनिभर्सिटीको विवरणअनुसार भारतमा अहिलेसम्म दुई करोड ६० लाखभन्दा धेरै मानिस सङ्क्रमित भइसकेका छन्।

कोभिडसँग सम्बन्धित कारणले मृत्यु हुनेको सङ्ख्या तीन लाखजति पुगेको छ।

केही विज्ञहरूले वास्तविक सङ्ख्या औपचारिक तथ्याङ्कभन्दा बढी हुनसक्ने जनाएका छन्।

के भन्यो भारत सरकारले?

भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल कम्पनीहरूलाई उक्त आदेश दिएको छ।

उक्त आदेशको ब्यहोरा सार्वजनिक नगरिए तापनि त्यो केही समाचारसंस्थाहरूले हेर्न पाएका थिए।

त्यसमा सामाजिक सञ्जालहरूलाई “कोरोनाभाइरसको ‘भारतीय भेरिअन्ट’ लेखिएका, त्यसबारे छलफल गरिएका वा इङ्गित गर्ने सबै सामग्री आफ्ना डिजिटल मञ्चबाट तत्काल हटाउन” भनिएको ट्रस्ट अफ इन्डियाले आफ्नो समाचारमा लेखेको छ।

“हाम्रो जानकारीमा आएअनुसार अनलाइनमा कोरोनाभाइरसको ‘भारतीय भेरिअन्ट’ विभिन्न देशहरूमा फैलिरहेको भन्ने गलत सूचना फैलिरहेको छ। त्यो पूर्ण रूपमा गलत छ,” उक्त आदेशलाई एएफपी समाचारसंस्थाले उद्धृत गरेको छ।

उक्त आदेशमा डब्ल्यूएचओले ‘आफ्ना कुनै पनि प्रतिवेदनमा बी.१.६१७ लाई भारतीय भेरिअन्टका रूपमा उल्लेख नगरेको’ तर्क गरिएको छ।

एउटा सामाजिक सञ्जालका एक वरिष्ठ कर्मचारीले रोएटर्स समाचारसंस्थालाई बताएअनुसार विभिन्न स्वरूपमा ‘भारतीय भेरिअन्ट’ जोडिएका सबै पोस्टहरू हटाउने काम निकै नै जटिल हुनेछ।

भारतले किन त्यसो भन्यो?

गत वर्ष पहिलोपटक भारतमा देखा परेको बी.१.६१७ कोरोनाभाइरसको एउटा अतिसङ्क्रामक प्रकार हो।

त्यो दर्जनौँ देशमा फैलिसकेको छ। कैयौँ देशहरूले भारतबाट हुने आवागमनमा रोक लगाएका छन्।

भारत सामाजिक सञ्जाल कम्पनीहरूका लागि एउटा विशाल बजार हो।

ज्यानुअरी महिनाको एउटा विवरणअनुसार ट्विटरको लागि भारत तेस्रो ठूलो बजार हो।

भारत सरकारले यसै वर्ष समाजिक सञ्जालको दुरुपयोग र गलत सूचना रोक्नका लागि भन्दै एउटा निर्देशिका ल्याएको थियो।

जसमा सामाजिक सञ्जालहरूमा ‘अनधिकृत’ ठहरिने सामग्रीविरुद्ध ती कम्पनीहरूलाई त्यसलाई हटाउन आदेश दिन सकिने उल्लेख छ।

‘हामीलाई चाहिने औषधि र उपकरण भयो भने हामी जसरी पनि महामारी पन्छाएर छाड्छौँ’

तोकिएको समयसीमाभित्र त्यी पोस्टहरू नहटाइए कम्पनीहरूले मुद्दा खेप्नुपर्ने हुनसक्छ।

सारभूत रूपमा ती नियमका अनुसार कम्पनीहरू आफ्ना प्रयोगकर्ताले गर्ने पोस्टका विषयवस्तुको जिम्मेवारीबाट उम्किन मिल्दैन।

तर ती निर्देशिकाले कतै थप सेन्सरशिपलाई जोड दिनुका साथै अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर त पारिरहेका छैनन् भन्ने प्रश्नहरू उठेका छन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्