कोरोना माहामारीमा तनाव व्यवस्थापन
कोरोना संक्रमणको महामारीले जतातै निराशा जगाएको छ । जताततै तनाव, इन्जाइटीको समस्या देखिएको छ । आर्थिक समस्या, पारिवारिक समस्या, संक्रमणको जोखिम बढ्दो छ । आफन्त गुमाउँदा को पीडा पनि कम्ताको हुँदैन । तनाव शरीरको कुनै पनि परिवर्तनको प्रतिक्रिया हो जसलाई समायोजन वा प्रतिक्रियाको आवश्यकता पर्दछ । शरीरले शारीरिक, मानसिक र भावनात्मक प्रतिक्रियाहरुसँग यी परिवर्तनहरुको प्रतिक्रिया दिन्छ । तनाव मानव जीवनको एक सामान्य भाग हो । तनाव विशिष्ट माग र घटनाहरुको सामना गर्न सक्षम नहुनुको एक प्राकृतिक भावना हो ।
तनावमा के कस्ता विचार र भावना उब्जन्छन् ?
- मुडमा परिवर्तन
- अनिन्द्रा
- पाचनशक्तिमा समस्या
- रिङ्गटा लाग्नु, शान्त हुन नसक्नु
- छट्पटी हुने
- धेरै कुराहरु मनमा खेलाउने
- दुखित हुने
- रुने
- मनपरेको कुरामा अरुची हुने
- चिन्तित महशुस हुने
- टाउको दुख्ने,
- असहाय महशुस गर्ने
- छाती, कुम मांशपेशी दुख्ने वा कसियको जस्तो हुने
- एकाग्र भएर काम गर्न नसक्ने
कोरोना नियन्त्रण कहिले हुने भन्ने अनिश्चितता छ । जुन कहिले सम्म रहने हो कसैलाई थाहा छैन । सबै अनभिज्ञ छन् । त्यसैले यस विषम परिस्थितिमा हिम्मत नहारी अगाडी बढ्नुपर्छ ।
सकारात्मक दृष्टिकोण राख्नुपर्छ । स्वस्थ र सन्तुलित खाना सेवन गर्ने, सही तरिकाले समयको व्यवस्थापन गर्ने, मद्धत माग्ने आदि गर्नुपर्छ ।
स्ट्रेस एन्जाइटी र डिस्ट्रेस सामना गर्ने रणनिति
भावनालाई स्वीकार्ने
दैनिकी लेखेर वा अरुसँग कुरा गरेर भावनालाई सृजनातर्फ मोडेर चित्रकला, कविता, संगीत लेखेर आफ्नो भावनालाई स्वीकार गर्न सक्छौँ ।
दैनिक क्रियाकलाप र तालिका कायम राख्ने
दैनिक क्रियाकलाप र तालिकाले हाम्रो सोचाइ र भावनामा सकारात्मक असर पार्छ । स्वस्थ खाना खाने, एक्सरसाइज गर्ने वा योगा गर्ने जगिङ जाने, पढ्ने, गार्डेनिङ गर्ने आदि ।
सम्पर्कमा रहनुहोस्
अरुको समर्थन र हेरचाहले हामीलाई चुनौतिहरुको सामाना गर्न मद्धत पुर्याउँछ । हाम्रो चिन्ता, विचार र भावना बारेमा अरुसँग कुरा गर्दा तनावपूर्ण स्थितिको समाधानको उपायहरु निस्कन सक्छन् ।
सामाजिक र शारीरिक दुरी कायम राख्ने
शारीरिक दुरी र सामाजिक दुरीमा फरक छ । आजको टेक्नोलोजीको जमानामा कसैसँग कुरा गर्न, अनुहार हेर्न भेट्न पर्दैन । टेलिफोन, सामाजिक सञ्जाल भिडियोकल, भाइभर आदि मार्फतबाट सबैसँग सम्पर्कमा रहन सकिन्छ ।
समाचार र सामाजिक सञ्जालमा सिमा सेट गर्ने
वर्तमान अवस्थामा समाचार त जरुरी हुन्छ । तर लगातार समाचार पढ्ने, हेर्ने वा अप्ठ्यारो मिडिया कभरेज सुन्दा अनावश्यक चिन्ता हुनसक्छ । त्यसैले कति र कुन पढ्ने सुन्ने भनेर सिमा तोक्नुपर्छ ।
योगा गर्ने
योगा पुरानो भए पनि स्ट्रेस र एन्जाइटी व्यवस्थापनका लागि उत्तम उपाय मानिन्छ । यसले शरीर र मस्तिष्कको कनेक्सन गराउँछ । यसले स्ट्रेस हर्मोन र रक्तचाप घटाउँछ । र तनावबाट मुक्त गराउन मद्धत गर्छ ।
माइन्डफुलनेस अभ्यास गर्नुहोस्
यसले चिन्ता र उदासिनताको लक्षण कम गराउँछ । साथै नकारात्मक सोचको चिन्ताजनक प्रभावहरुसँग लड्न मद्दत गर्छ ।
यदि तपाइको दैनिकी वा काममा वा आफन्त बीचको सम्बन्धलाई चिन्ताले असर गरेको छ भने चिकित्सकसँग मद्धत लिनुपर्दछ । जसको कारण तपाइलाई के भइरहेको छ र कसरी समाधान गर्न सकिन्छ भन्ने एउटा ठोस उपाय निस्कन्छ । (कबिन्द्र श्रेष्ठ म्यानेजमेन्ट साइकोलोजी सर्भिसेस्मा प्रोग्राम डाइरेक्टरको रुपमा कार्यरत हुनुहुन्छ । )