Logo
|
Friday 26th April 2024
Logo

epaper

कोरियामा अस्ताए रामेछापका युवा विष्णु श्रेष्ठ



जनस्वास्थ्य सरोकार, सउल । रोजगारीको सिलसिलामा कोरिया आई विगत तीन वर्षदेखि यहाँ कार्यरत रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका एक युवा विष्णु श्रेष्ठले आइतबार साँझ घाँटीमा पासो लगाई आत्महत्या गरेका छन् ।

श्रेष्ठ नेकपा एमाले जिल्ला कमिटी रामेछापका अध्यक्ष आनन्द श्रेष्ठका भाइ हुन् ।


उक्त घटनालाई रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका पूर्वअध्यक्ष भीम खड्काले पुष्टि गरेका हुन् ।
मन्थली नगरपालिका भुलुवाजोरका श्रेष्ठ किम्हे खिन्हुङस्थित मासुका लागि पालिने एक गोरु फार्ममा कार्यरत थिए । आइतबार स्थानीय समयानुसार साँझ ७ बजेसम्म घरमै कुरा गर्दै गरेको उनका सहकर्मीले बताएका छन् ।


उनीसहित तीन जना नेपाली कामदार रहेको उक्त गोरु फार्ममा आइतबार काम सकेपछि साँझ अन्य दुई साथी ‘इभिनिङ वाक’ का लागि निस्केका थिए । उनलाई पनि सँगै जान अनुरोध गरेको तर थकाइ लागेका कारण जान नमानेपछि श्रेष्ठलाई कोठामै छाडेर दुई साथी निस्केका थिए । इभिनिङ वाक सकेर उनीहरू कम्पनी फर्किँदा उनलाई झुण्डिएको अवस्थामा भेटेको रासस समाचारमा उल्लेख गरिएको छ ।

विष्णुलाई झुण्डिएको देखेपछि उनका सहकर्मीले कम्पनी साहुलाई बोलाई कोरियाली प्रहरीको उपस्थितिमा नजिकैको अस्पताल लगिएको थियो । उनको शव हाल अस्पतालमै राखिएको छ । घटनापछि नेपाली राजदूतावास सउल र मृतकका घरमा पनि खबर गरिएको छ । मृतककी श्रीमती, एक छोरी र बुबाआमा छन् ।

श्रेष्ठ विगत केही महिनादेखि मानसिक अवसाद (डिप्रेसन) मा परी औषधि खाइरहेका थिए । उनी आफ्नो औषधोपचारका लागि यही जुन ४ मा नेपाल फर्किने तयारीमा रहेको बताइएको छ ।
श्रेष्ठ ग्राफिक डिजाइनिङमा पोख्त थिए । काठमाडौंमा रहँदा उनले विभिन्न पत्रपत्रिकाको डिजाइनिङसमेत गर्थे । श्रेष्ठले जनस्वास्थ्य सरोकार मासिक पत्रिकामा पनि लामो समय डिजाइनिङ गरेका थिए । श्रेष्ठको निधनमा दुःख व्यक्त गर्दै जनस्वास्थ्य सरोकार परिवार श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

प्रतिक्रिया दिनुहोस्