कोभिड-१९ सङ्क्रमितसँगै एकाघरमा बसिरहेका मानिसले कसरी सावधानी अपनाउने ?
जनस्वास्थ्य सरोकार । अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रीभेन्शन सीडीसीले सङ्क्रमितसँगै बस्ने एकाघरका मानिसहरूमा सङ्क्रमण हुन नदिन अपनाउन सकिने केही उपायहरू यस्ता छन् :
सङ्क्रमितको कोठा
सङ्क्रमितलाई छुट्टै कोठामा राख्न सकिने अवस्थामा त्यसको ढोका बन्द गरेर झ्यालहरू खोल्नुपर्छ। कोठामा हावा वारपार हुने अवस्था बनाउनु पर्छ। त्यसका लागि पङ्खा खोल्न पनि सकिन्छ। सङ्क्रमितले प्रयोग गरेर भएका फोहोरलाई छुट्टै सङ्कलन गर्नुपर्छ।
सङ्क्रमितसँग एउटै कोठामा सुत्नुपर्ने अवस्था भएमा कम्तीमा दुई मिटरको दूरी बनाएर दुई वटा ओछ्यानको बीचमा पर्दा लगाएर भए पनि छेक्नुपर्छ।
यदि एउटै ओछ्यानमा सुत्नुपर्ने अवस्थामा दुईतिर फर्केर सुत्नु उपयुक्त हुन्छ। त्यसो गर्दा सङ्क्रमितको श्वासप्रश्वास अन्य माध्यमबाट सर्ने सम्भावना कम हुन्छ।
दूरी
सकेसम्म सङ्क्रमितको कोठामा छिर्नु हुँदैन। छिर्नै परेमा पनि दूरी कायम गर्ने र दुवै जनाले मास्क लगाउने गर्नुपर्छ। सङ्क्रमितले छोएका वस्तु छुँदा हातमा एक पटक मात्र प्रयोग गरेर फाल्ने खालको पन्जा लगाएर मात्र छुनुपर्छ। खानेकुरा ढोकामा राखिदिनु र खाना राख्ने मान्छे गएपछि मात्र सङ्क्रमितले लिनु उपयुक्त हुन्छ।
शौचालय
सकेसम्म सङ्क्रमितले छुट्टै शौचालय प्रयोग गर्दा उपयुक्त भए पनि त्यस्तो अवस्था नहुँदा अन्यले प्रयोग गरिसकेपछि मात्र सङ्क्रमितले प्रयोग गर्दा राम्रो हुन्छ। त्यसपछि पन्जा लगाएर शौचालयलाई राम्ररी भाइरस मार्ने खालका केमिकलहरू प्रयोग गरेर सफा गर्नुपर्छ।
सङ्क्रमितले प्रयोग गरेर सफा गरेपछि शौचालय खुला राख्नुपर्छ र सकेसम्म हावा वारपार हुन दिनुपर्छ। सङ्क्रमितले प्रयोग गरेको सकेसम्म लामो समयपछि शौचालय प्रयोग गर्ने गर्दा उपयुक्त हुन्छ। सङ्क्रमितको आफ्नै रुमाल हुनुपर्छ र सकेसम्म उसैले सफा गर्नुपर्छ।
सङ्क्रमितले शौचालय गरेर सफा गर्न नसक्ने अवस्थामा अर्को व्यक्तिले मास्क र पन्जा प्रयोग गरेर सफा गर्नुपर्छ र लगत्तै साबुनपानीले हात धुनुपर्छ।
सामानहरू
सङ्क्रमितले थाल, गिलास, कचौराजस्ता वस्तु छुट्टै प्रयोग गर्नुपर्छ। सङ्क्रमितले प्रयोग गरेका भाँडाहरू तातो पानी र साबुन वा भाँडा माझ्ने डिटरजेन्टले माझ्नुपर्छ। त्यसपछि हात पनि साबुनपानीले धुनुपर्छ।
फोहोर भएका कपडाहरू पन्जा लगाएर निकाल्नुपर्छ र झड्कार्नु हुँदैन। ती कपडाहरूलाई तातो पानीमा अन्य कपडासँगै धुन सकिन्छ तर ती लुगालाई उच्च तापमा सुकाउनु राम्रो हुन्छ। लुगा धोइसकेपछि साबुनपानीले हात धुनुपर्छ।
मानसिक स्वास्थ्यको ख्याल
एकाघरमा बस्ने सङ्क्रमित हुँदा सङ्क्रमित र अन्य सदस्यमा समेत मानसिक समस्याहरू देखिने गरेको मनोचिकित्साविद्हरू बताउँछन्। त्यस्तो अवस्थामा सङ्क्रमितले आफूलाई नकारात्मक सोच आउन नदिन विभिन्न क्रियाकलाप गर्नुपर्ने उनीहरूको भनाइ छ।
सङ्क्रमितले आफूलाई एक्लो महसुस हुन नदिनका लागि प्रविधिको उपयोग गर्दै आफन्तसँग भिडिओ कुराकानी गर्ने, योग ध्यान गर्ने, पढ्ने, लेख्ने र मन परेको कुराहरू सुन्ने गर्न सकिने मनोचिकित्साविद् डा. नर्मदा देवकोटा बताउनुहुन्छ ।
उहाँका अनुसार परिवारका अन्य सदस्यहरूले पनि घरमा एक व्यक्ति सङ्क्रमित भए अब हामी पनि हुन्छौँ भन्ने खालको सोच राखेर डराउनु हुँदैन । सङ्क्रमित हुन नदिनका लागि सुरक्षात्मक उपाय अपनाउने र डर आउन नदिनका लागि सङ्क्रमणलाई पनि सामान्य रूपमा लिनुपर्ने उहाँको भनाई छ ।
त्यस्तै सङ्क्रमित र सङ्क्रमितको परिवारसँग कुराकानी गर्ने आफन्त र साथीभाइले पनि नकारात्मक खबरहरू सुनाउनु भन्दा ढाडस दिएमा मानसिक समस्याहरू कम हुने उहाँले बताउनुभयो । बीबीसी