Logo
|
Sunday 19th January 2025
Logo

epaper

डोल्पा र जाजरकोटका चिकित्सकले पाएनन् तलबभत्ता



जनस्वास्थ्य सरोकार, जाजरकोट । सरकार आफैँले घोषण गरेको तलबभत्ता नपाएको भन्दै डोल्पा र जाजरकोटका चिकित्सकले गुनासो गरेका छन् । जिल्ला अस्पताल डोल्पामा कार्यरत चिकित्सकहरूले कोरोना सङ्क्रमितको कुनै पनि उपचार र सेवा नगर्ने चेतावनीसमेत दिएका छन् ।

कोरोना सङ्क्रमितको उपचार, नियन्त्रण र रोकथाममा जोडिएवापत पाउनुपर्ने सेवा–सुविधा नपाएको भन्दै चिकित्सकहरूले लिखितरूपमै सेवा बहिष्कार गर्ने चेतावनी दिएका हुन् ।

उनीहरूले स्वास्थ्य सेवा कार्यालयमार्फत कर्णाली प्रदेशका मुख्यमन्त्री तथा सामाजिक विकासमन्त्रीलाई माग सम्बोधन गर्न आग्रह गरेका छन् । जिल्ला अस्पतालमा कार्यरत पाँच चिकित्सकले नै त्यो सेवा सुविधा नपाएको भन्दै उनीहरुले यस्तो बताएका हुन् ।

चालु आर्थिक वर्षको कुनै पनि महिनाको सेवा सुविधा नपाएको भन्दै उनीहरूले तत्कालै त्यसको परिपूर्तिका लागि सबैको ध्यानाकर्षण गराएका हुन् ।

डा. मेलिना हमाल, प्रशन्ना कार्की, रुविना श्रेष्ठ, राजसिंह धुरेल र हेमन्त शाहीले कोभिड–१९ भत्ता नपाएको बताउनुभएको छ । अग्रपङ्क्तिमा रहेर कोरोना उपचार, रोकथाम र नियन्त्रणमा लागे पनि आफूहरूमाथि बेवास्ता भएको डा. हमालले बताउनुभयो ।

अरू स्वास्थ्यकर्मीले भत्ता पाइसक्दा चिकित्सकलाई नै यो सेवाबाट वञ्चित गरिनु विडम्बना भएको उहाँको भनाइ छ । उनको अनुसार चिकित्सकले चालु आर्थिक वर्ष सकिन लाग्दासमेत गत वर्षकै सेवा सुविधा पाएका छैनन् । यता जाजरकोटका चिकित्सकहरुले कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहलाई भेटेर गुनासो पोखेका छन् ।

स्वास्थ्य सेवा कार्यालय डोल्पाका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक अमरसिंह शाहीले चिकित्सकहरूले उठाएका मागबारे प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा जानकारी गराइएको बताउनुभयो । प्रदेश सरकारको निर्णय कार्यान्वयन नहुँदा चिकित्सकहरू समस्यामा परेका हुन् ।

गत वर्ष कर्णाली सरकारले कर्णालीका तीन जिल्लाका चिकित्सकलाई शतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो । प्रदेश सरकारले डोल्पा, मुगु र हुम्लाका चिकित्सकलाई शतप्रतिशत कर्णाली प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो ।

सरकारले बाँकी सात जिल्लाका चिकित्सकलाई कर्णाली प्रोत्साहन भत्तावापत ५० प्रतिशत र कोभिड भत्तावापत शतप्रतिशत रकम दिइरहेको छ । डा हमालले कर्णालीमा चिकित्सक बसेनन् भनेर दिइएको प्रोत्साहन भत्तालाई कोभिडको जोखिममा उपचार गरेको भत्तामै मिसाउन नहुने बताउनुभयो । अरू सबैले भत्ता लिँदा चिकित्सकलाई मात्रै नदिने कुराले हतोत्साहित बनाएको उहाँको भनाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस्