Logo
|
Wednesday 24th April 2024
Logo

epaper

नेपालमा झण्डै एक दर्जन मानिसमा कालो ढुसीको संक्रमण, डब्लुएचओसँग तीन हजार भाइल औषधि माग



जनस्वास्थ्य सरोकार । नेपालमा कोभिड-१९ संक्रमितको आँखा बिगार्ने घातक कालो ढुसी ‘म्यूकोरमाइकोसिस’ को संक्रमण बढ्न थालेको छ । हालसम्म झन्डै एक दर्जन मानिसमा कालो ढुसीको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका नवनियुक्त प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार विभिन्न ठाउँबाट गरी अहिलेसम्म करिब १२ वटा म्यूकोरमाइकोसिसका केस रिपोर्टिङ भएका छन ।


उहाँका अनुसार वीरगन्ज, नेपालगन्ज र काठमाण्डौँलगायत ठाउँका अस्पतालबाट कालो ढुसीको सङ्क्रमणका विवरणहरू आएका हुन्।

भारतमा ब्ल्याक फङ्गसु अर्थात्‌ कालो ढुसीबाट हजारौँ मानिस सङ्क्रमित भएको विवरण सार्वजनिक भएका छन्।
केही दिनअघि उत्तर प्रदेशका एउटै बिरामीमा ब्ल्याक फङ्गस, ह्वाइट फङ्गस र येलो फङ्गसको विरल सङ्क्रमण देखिएको बीबीसी हिन्दीले जनाएको थियो।

के गर्दैछ नेपाल सरकार ?
नेपालमा सुरुमा सीमावर्ती सहर वीरगन्जबाट कालो ढुसीको सङ्क्रमणबारे मन्त्रालयलाई रिपोर्ट गरिएको थियो।
त्यसयता निगरानी थालेको मन्त्रालयले उक्त ढुसीको सङ्क्रमण रोकथाम तथा उपचारबारे प्रोटोकल बनाएर सार्वजनिक गर्ने क्रममा रहेको प्रवक्ता पौडेलले बताउनुभयो ।


नाक, कान, घाँटीसम्बन्धी नेपालका विशेषज्ञ चिकित्सकहरूको सङ्गठनले भने रोकथाम र व्यवस्थापनसम्बन्धी एउटा एड्भाइजरी प्रकाशित गरिसकेको छ।


विशेषज्ञ चिकित्सकहरूको एउटा कोर टीम बनाएर कालो ढुुसीको रोकथाम र उपचारबारे प्रोटोकल नै बनाएर त्यसलाई सर्भेलन्समा राख्ने प्रवक्ता डा. पौडेल जानकारी दिनुभयो ।
चिकित्सकहरूका अनुसार कालो ढुसीबाट सङ्क्रमितको उपचारमा मुख्यतया ‘एम्फोटेरिसिन बी’ औषधिको प्रयोग गर्ने गरिएको छ। नेपालमा त्यो औषधिको प्रयोग कालाजारको उपचारमा हुँदै आएको छ।
अहिलेसम्म बजारमा उपलब्धबाट काम चलाइँदै आएको भए पनि पछिल्लो समय भारतले निर्यातमा रोक लगाइदिएपछि समस्या देखिएको प्रवक्ता पौडेलले बताउनुभयो ।


उहाँले भन्नुभयो -‘त्यो औषधिको उपलब्धता अहिले पनि चुनौतीपूर्ण नै छ। हामीसँग अलि कम नै छ। हामीले डब्ल्यूएचओको संयन्त्रबाट माग गरेका छौँ। जुन महिनाको २ तारिखसम्म आइपुग्ने कुरा छ।’ ‘हाललाई पहिलो खेपमा हामीले ३,००० भाइल माग गरेका छौँ’-प्रवक्ता पौडेलले भन्नुभयो ।

कस्तो बेला बढी जोखिम हुन्छ?
कालो ढुसी पनि भनिने म्यूकोर हाम्रो वातावरणमा प्राकृतिक रूपमै पाइने एक प्रकारको अवसरवादी ढुसी हो जसको सङ्क्रमणबाट म्यूकोर्माइकोसिस हुन्छ।
काठमाण्डूको तिलगङ्गा इन्स्टिच्यूट अफ अफ्थ्याल्मलजीका प्रमुख कार्यकारी अधिकृत तथा कोर्निआ विशेषज्ञ डा. रीता गुरुङका अनुसार मानिसमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बेला म्यूकोर्माइकोसिस हुने गर्छ।
अहिले चर्चामा रहेका ब्ल्याक फङ्गस, ह्वाइट फङ्गस र एलो फङ्गस एउटै प्रजातिको भएको उहाँको भनाई छ ।
उहाँका अनुसार त्यस्ता ढुसी त हाम्रो वातावरणमा जहाँतहीँ हुन्छन्। तर जो कोहीलाई तिनले आक्रमण गरेका हुँदैनन्, उसैलाई गर्छन् जसमा रोगसँग लड्ने क्षमता कमजोर हुन्छ ।
कोभिड महामारीका बेला यो समस्या किन देखिँदैछ भन्दाखेरि एक त कोभिडले हाम्रो इम्यूनिटी (प्रतिरोध क्षमता) घटाइरहेको छ, त्यसमाथि सिकिस्त बिरामीलाई स्टेरोइड चलाइँदा रोगसँग लड्ने क्षमता अझै घट्न जान्छ।

कसरी बच्ने ?
आफ्नो शरीरमा रोगप्रतिरोधी क्षमतालाई घट्न नदिने कुरामा विशेष चनाखो हुनुपर्ने डा। गुरुङको सुझाव छ।
‘अर्को कुरा कोरोनाभाइरस सङ्क्रमित भएपछि मान्छेबाट सुनेकै भरमा स्टेरोइडको प्रयोग गर्नै भएन। हामीकहाँ त्यसको गलत प्रयोग भएजस्तो मलाई लाग्छ’-उहाँले थप्नुभयो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेल शरीरमा रोगप्रतिरोधी क्षमतालाई कमजोर बनाउने औषधिको विवेकपूर्ण प्रयोग गर्नका लागि आफूहरूले अनुरोध गर्दै आएको बताउनुहुन्छ ।
नाक रातो हुने, नाकमाथिको छाला कालो देखिने र आँखा खोल्न गाह्रो हुने समस्या देखिने भएपछि चिकित्सककहाँ जान डा गुरुङ सुझाउँनुहुन्छ ।बीबीसी

प्रतिक्रिया दिनुहोस्