Logo
|
Friday 26th April 2024
Logo

epaper

सुर्तिजन्य पदार्थ सेवन विरोधी देशव्यापी कविता प्रतियोगितका विजयी विद्यार्थी, कसले कुन स्थान हाँसिल गरे ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्व धुम्रपान रहित दिवस २०२१ को अवसरमा नेपाल अर्वुद रोग निवारण संस्थाले आयोजना गरेको देशव्यापी विद्यालयस्तरीय कविता प्रतियोगितामा भ्याली भ्यू बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत छात्रा प्रतिष्ठा पौडेल प्रथम भएकी छन् ।

‘सुर्तिजन्य पदार्थ त्याग्न प्रतिवद्धता गरौं’ भन्ने शीर्षकमा देशभरका विभिन्न विद्यालयका ४७ जना छात्रछात्राको सहभागिता रहेको उक्त भर्जुअजल वाचन प्रतिस्पर्धामा पौडेलले प्रथम स्थान हाँसिल गरेकी हुन् ।त्यसैगरी रिपुमर्दनी सैनिक सेकेन्डरी स्कुल बाँसबारी काठमाडौंकी कक्षा ९ मा अध्ययनरत आयुष्मा पन्त दोस्रो, भ्याली भ्यू इंगलिस स्कुल मध्य बानेश्वरका कक्षा सातमा अध्ययनरत छात्रा परार्थ पराजुलीले तेस्रो स्थान हाँसिल गरेका छन् ।


यसैगरी तारापुञ्ज एजुकेशन एकेडेमी पोखरामा कक्षा १० मा अध्ययनरत अंकिता ढुंगाना, डायन्ड सेकेन्डरी स्कुल पोखराकी कक्षा १० मा अध्ययनरत छात्रा अनुषा लामिछाने, सुर्योदय सेकेन्डरी बोर्डिङ स्कुल काठमाडौंकी छात्रा सिलास्मी थपलीया, विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय काठमाडौकी छात्रा दिक्षा सायमाझी र माउन्ट अन्नपूर्ण सेकेन्डरी स्कुल पोखराकी कक्षा १० मा अध्ययनरत छात्रा प्रकृति खत्रीले सान्तना पुरस्कार प्राप्त गरेका छन् ।
उनीहरुको भाषा, शैली, छन्द विषयवस्तु, शव्द संयोजन, साहित्य सृजना, , कविता वाचन प्रस्तुतीकरणको आधारमा मूल्यांकन गरिएको थियो ।


प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, दोस्रोलाई ३ हजार, तेस्रोलाई २ हजार र ५ जनलाई जनही १ हजार र प्रमाणपत्र वितरण गरिने संस्थाले जनाएको छ ।


संस्थाले हरेक वर्ष विश्व धुम्रपानरहित दिवसका अवसरमा यसप्रकारको प्रतियोगिता गर्दै आएको छ ।

प्रथम हुने छात्राको कविता यस्तो छ
सुर्तीजन्य पदार्थ त्याग्न प्रतिबद्धता गरौँ
पढियो शिक्षा, लिइयो दीक्षा, ज्ञानले खारियो,
सेवन गरी, चुरोट खैनी, त्यो ज्ञान मारियो ।
मन यो सिल्ली,चुरोट खिल्ली, देखेर लोभिन्छ,
मृत्युको साँचो, सुर्तीका सर्का, फोक्सोमा झोसिन्छ ।।
लागेको बानी, तनन तानी, मुटुमा खसाल्छौँ,
धुवाँको सर्को, तानेर लर्को, फोक्सोमा बसाल्छौँ ।
रम्दछ मन, सकिन्छ धन, रोगको भकारी,
बस्दछौँ खोकी, त्यो रोग बोकी, मजाले डकारी ।।
नशालु कुरा, नखानु भन्छौँ, लाग्दछ सरम,
कुलत तोड्न, सकिन्न छोड्न, खाँदै छौँ हर्दम ।
उमेर हुँदै, रोगले छुन्छ, शरीर ढल्दछ,
क्यान्सर, टीबी लागेर ज्यान, बेलैमा गल्दछ ।।
चेतना हुँदा, अर्तीका कुरा, नगर्नु भन्दछौँ,
सुर्तीका दास, जिउँदो लास, मानिस बन्दछौँ ।
छोडेको आजै, बाचा र कसम, गर्दछौँ मुखमा,
लागेको बानी, सकिन्न छोड्न, फस्दछौँ दुःखमा ।।
वर्षमा हामी दिवस पनि मान्दछौँ एउटा,
सकेनौँ छोड्न, मुखमा जोड्न, चुरोटका ठुटा ।
खाएर सुर्ती, देखाई फुर्ती, सानले हिँड्दछौँ,
देहमा घाउ, क्यान्सर राहु न हामी चिन्दछौँ ।।
पाइन्न चोला, सम्झनु होला, अमूल्य जिन्दगी,
मृत्युका अघि जिन्दगीलाई नराखौँ बन्धकी ।
प्रतिज्ञा गरौँ, अगाडि सरौँ, यो मन सम्हाली,
चुरोट, खैनी, बर्जित गरौँ, संस्कार बसाली ।
चुरोट, खैनी………………………………. !!
— प्रतिष्ठा पौडेल
भ्याली भ्यु इ. स्कुल,
मध्य बानेश्वर, काठमाडौँ ।

प्रतिक्रिया दिनुहोस्