Logo
|
Friday 29th March 2024
Logo

epaper

सङ्क्रमण दरमा कमी आएसँगै कोभिड विशेष अस्पतालमा घटे बिरामी



जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड-१९ को सङ्क्रमण दरमा केही कमी आएको भन्दै काठमाडौँ महानगरपालिकाले तत्काल अक्सिजनसहितको उपचार कक्ष थप सञ्चालन नगर्ने जनाएको छ ।

अहिले स्वास्थ्य उपकरणसहित सञ्चालनमा आएका अस्पतालहरुमा पनि २० प्रतिशत मात्र कोरोनाका बिरामी रहेकाले कामपाले तत्काल थप उपचार कक्षको आवश्कता नरहेको जनाएको हो ।

दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि यसअघि कामपाले १२ वटा अस्पतालसँग सम्झौता गरी आवश्यक पर्ने स्वास्थ्य उपकरण र उपकरण खरिदका लागि आर्थिक सहयोग गरेको थियो ।

कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार अहिले सञ्चालनमा आएका अस्पतालमा पनि बिरामीको सङ्ख्या कम रहेकाले तत्कालका लागि थप सञ्चालनको योजना नरहेको हो ।

“बिरामीको सङ्ख्या बढे त्यसमा पुनः विचार गरिन्छ”, उहाँले भन्नुभयो, “कामपाको आर्थिक सहयोगमा सामाखुशीस्थित राधास्वामी सत्सङ्ग भवनमा नेपाली सेनाको व्यवस्थापनमा ८८ अक्सिजनसहित १७४ शय्याको कोभिड-१९ आइसोलेसन केन्द्र सञ्चालनमा ल्याए पनि हाल उक्त स्थानमा १६ वटा शय्या मात्र सञ्चालनमा आएको छ ।”

उहाँका अनुसार धेरै सङ्क्रमित घरमै आइसोलेशनमा छन्, केही मात्रै अस्पताल गएकाले पनि निर्माण भएको अक्सिजनसहितका अस्पतालहरुमा शय्याअनुसार बिरामी नभएका हुन् ।

त्यस्तै कामपाकै सहयोगमा सञ्चालित छत्रपाटी निःशुल्क चिकित्सालय र नरदेवी आयुर्वेदिक अस्पताल पनि जम्मा सङ्ख्याको २० प्रतिशत मात्रै कोरोनाका बिरामीले उपचार गराइरहेको कामपाको भनाइ छ ।

हाल कामपामा ६१ हजार ९२४ कोरोना सङ्क्रमित रहेकामा ५० हजार ६८९ जना निको भएका छन् भने १० हजार १२५ होम आइसोलेशन र १७० संस्थागत आइसोलेशनमा रहेका छन । त्यस्तै हाल १० हजार ८१६ सक्रिय सङ्क्रमितमध्ये ५२१ ले अस्पतामा उपचार गराइरहेका छन् । कोरोनाका कारण ४१९ जनाले ज्यान गुमाएको तथ्याङ्कमा उल्लेख छ ।

कोभिडका बिरामीलई उपचारमा सहज होस् भन्ने हेतुले नागरिक हट लाइन ११८० बाट २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाइएको छ । विरामीलाई अस्पतालमा पुग्न सहज होस् भनी कोभिड-१९ का बिरामीका लागि फोन नं १०२ मार्पmत १० वटा र नन् कोभिड बिरामीका लागि १० वटा गरी कूल २० वटा निःशुल्क एम्बुलेन्स सेवा कामपाले सञ्चालनमा ल्याएको छ । यी माध्यमबाट हालसम्म २२ हजार कोभिड सङ्क्रमित बिरामी र १२ हजार नन् कोभिड बिरामीले सेवा लिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्