Logo
|
Friday 19th April 2024
Logo

epaper

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चलखेलले लिनियाक अझै भित्रिएन, बिरामी मर्कामा



जनस्वास्थ्य सरोकार, चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी निर्देशकको चलखेलका कारण क्यान्सर सेकाइमा प्रयोग हुने अत्याधुनिक लिनियर एसेलेटर (लिनियाक) मेसिन टेन्डर गरेको एक वर्ष वितिसक्दा पनि भित्रिन सकेको छैन ।

यसले गर्दा सेकाइका लागि लामो समयदेखि प्रतिक्षारत क्यान्सर बिरामीहरु मर्कामा परेका छन् । लिनियाक अत्याधुनिक उच्चस्तरीय प्रविधि हो । यसले क्यान्सर भएको भागको ट्यूमरलाई मात्र मार्न मद्दत गर्छ । वरिपरीको भागमा असर गर्दैन ।

बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालले लिनियर एसेलेटर (लिनियाक) मेसिन खरीदका लागि २०२० को नोभेम्बर १३ मा पहिलो टेन्डर आव्हान गरेको थियो । अस्पतालको टेक्निकल कमिटीले तयार पारेको स्पेशिफिकेसनका आधारमा अमेरिकाको भेरियन कम्पनि र स्वीडेनको इलेक्टा कम्पनिले टेन्डरमा भाग लिएका थिए ।

अस्पतालको पहिलो टेन्डरमा हाइ इन स्पेशिफिकेसनको मेसिन मागिएको थियो । त्यसमा अमेरिकाको भेरियन कम्पनिले स्पेशिफिकेसन अनुसार टेन्डरमा भाग लिएको थियो । तर स्वीडेनको इलेक्टा कम्पनिले हाइ इनको मेसिन नभएको जानकारी गराएर टेन्डरमा भाग लिएन । अन्तिम समयमा फेब्रुअरी १७, २०२१ का दिन टेन्डर खोल्नुभन्दा २ घण्टा पहिला अस्पतालका कार्यकारी निर्देशकले टेन्डर रद्ध गरिदिए ।

सिंगल बिडर भएको कारणले उनीहरुले रद्ध गर्नुपरेको बताएका छन् । हस्पिटलले त्यसको जवाफ दिएको छैन । तर हस्पिटलका कार्यकारी निर्देशक डा.देजकुमार गौतम भने स्पेशिफिकेसन नमिलेका कारण टेन्टर रद्ध गर्नुपरेको बताउनुहुन्छ ।

पहिलो टेन्डर रद्ध गरेपछि अस्पतालले दोस्रोपटक फेरि स्पेशिफिकेसनमा परिवर्तन गरेर सोही मेसिन खरीदका लागि २२ मार्च २०२१ मा टेन्डर आव्हान गर्यो । यो टेन्डरमा पनि अमेरिकाको भेरियन कम्पनि र स्वीडेनको इलेक्टा कम्पनिले भाग लिए । दोस्रोपटकको स्पेशिफिकेसनमा २०१० वा त्यो भन्दा माथिको मोडल उपलब्ध गराउन आव्हान गरिएको थियो । तर इलेक्टाले २००८ मोडलको मेसिनको स्पेसिफिकसेन दर्ता गरेकाले टेक्निकल्ली डिस्क्वालिफाइडमा भएको थियो ।

भेरियन कम्पनिले अस्पतालको स्पेशिफिकेसनअनुसार टेण्डरमा भाग लिएपछि टेक्निकल टिमले भेरियनको प्रोडक्ट पास गर्यो । पास गरेको फाइल अस्पतालका कार्यकारी निर्देशक समक्ष पुगेपछि उनले दुवैको स्पेशिफिकेसन नपुगेको भन्दै जुन १५, २०२१ मा यस पटकको टेन्डर पनि रद्ध गरिदिए र भोलिपल्ट मेसिन खरीदका लागि जुन १६, २०२१ मा पुनः टेन्डर आव्हान गरिएको छ ।

यसमा अस्पतालका कार्यकारी निर्देशकले गेम खेलिरहेको जानकारहरु बताउँछन् । अस्पतालको लिनियाक मेसिन खरीद बजेट २९ करोड रुपियाँ भित्र रहेको छ । दुवैले सोही बजेटभित्र रहेर टेन्डरमा भाग लिएका छन् ।

अस्पतालका कार्यकारी निर्देशकको चलखेलका कारण एक वर्षदेखि अस्पतालमा क्यान्सर सेकाइको लिनियाक मेसिन भित्रिन सकेको छैन । हाइ इन मेसिन नराखी लो इन मेसिन कोड गरेर अघि बढ्ने योजना विफल भएपछि सिधै निर्देशकले यो टेन्डर रद्ध गरिदिएको आरोप लागेको छ ।

कार्यकारी निर्देशकले जसरी पनि आफ्नो व्यक्तिको सामान पार्न खोज्ने जाल रचिरहेको र प्रतिस्पर्धामा आउन नै नखोज्ने अवस्था सृजना भएपछि अस्पतालमा सेकाइका लागि ४ महिनादेखि कुरेर बसेका क्यान्सर पीडितहरु निराश भएका छन् । मुलुकमा सेवा नपाएर दिल्लीको राजिब गान्धी क्यान्सर हस्पिटल, मेदान्ता हस्पिटलजस्ता ठाउँमा बिरामीहरु जानुपर्ने बाद्यता भइरहेको छ ।

क्यान्सर हस्पिटलले काम लाग्दैन भनेर फालेको र २ वर्षदेखि नचलाएको २० वर्ष पुरानो भेरियन कम्पनिको टेक्निकल सहयोगमा हालसम्म अपरेशनमा आइरहेको छ । नेपालको ठूलो क्यान्सर हस्पिटलमा भेरियन्ट कम्पनिले २० प्रतिशत सेवा दिएको छ । अस्पतालले भनेको मूल्य भन्दा कम मूल्यमा हाइजेष्ट मोडल कोड गरिएको थियो । सेकाइ नपाएर क्यान्सरका बिरामीहरुको ज्यान गइरहेको वर्तमान अवस्थामा लफडा गर्नुपर्ने आवश्यकता थिएन । भेरियनको उत्पादन डिस्क्वालिफाइड भएको भएपनि हुन्थ्यो । टेक्निकल्ली सबै क्वालिफाइड भएर मूल्याकनमा बजेट भित्र भइसकेपछि पनि उनीहरुले दुईचोटी क्यान्सिल गर्नुभनेको एउटै पार्टीलाई मात्र दिने नियत हो कि भन्ने शंका गर्ने ठाउँ सृजना भएको छ ।

भेरियन कम्पनिले त स्पेक (स्पेशिफिकेसन) अनुसार टेन्डर हालेको रहेछ नि भन्ने जिज्ञासामा अस्पतालका कार्यकारी निर्देशक देजकुमार गौतम भन्नुहुन्छ—‘यदि हालेको भए उसैलाई दिइहाल्दथ्यौं नि । हामीलाई के टेन्सन थियो र । हामीले भेरियनकै मेसिन २० वर्षदेखि चलाइरहेका छौं । स्पेक (स्पेसिफिकेसन) मिलेर आएमा हामी उसैलाई दिन्छौं । भेरियन आएमा झन राम्रो हुन्थ्यो । कसैको दवावले हामीले काम गरेका छैनौं । स्पेक नमिलेपछि के गर्नु ?’

एक वर्षदेखि किन तपाईहरु झेल्लिएर बस्नुभएको भन्ने जवाफमा उहाँले भन्नुभयो—‘शुरुमा हामीसँग पैसा नभएर रद्ध गर्यौं । फेरि पैसाको बन्दोवस्त गरियो । कसरी गर्ने भनेर सोचियो । थोरै बजेट थियो । प्रारम्भिक चरणमा छलफल गर्दा केही कुरा करेक्सन गरिदिन रिक्वेष्ट आयो । करेक्सन गर्दा लगत इस्टिमिटमा फरक हुने भयो । त्यसैले हामीले त्यो टेन्डर अगाडि बढाउन सक्ने अवस्था भएन ।’

उहाँ थप्नुहुन्छ—‘शर्त र कन्डिसन मानेर आउनुपर्ने बाद्यता हुन्छ । डकुमेन्टहरु अध्ययन गर्दा दुवैले शर्त र कन्डिसन मानेको देखिएन । उनीहरु दुवैले आ—आफ्नो कन्डिसन मात्र राखे । अस्पतालको नियमअनुसार नभई आफ्नो नियमअनुसार आएपछि टेन्डर रद्ध गरेको हुँ ।’

विकल्प के ? त भन्ने जिज्ञासामा डा. गौतम भन्नुहुन्छ—‘रि—टेन्डर गरेका छौं । अस्पतालको शर्त अनुसार कोही आएर काम गर्छन् भने स्वागत छ । अस्पतालको शर्त मानेर उनीहरुले आपूर्ति गर्ने सामान टेक्निकल्ली क्वालिफाइड हुनुपर्यो । यहाँले कुनै आफ्नो मान्छेलाई दिन लाग्नुभएको छ भन्ने आरोप पनि छ नि भन्ने जिज्ञासामा कार्यकारी निर्देशक डा. गौतम भन्नुहुन्छ— ‘त्यस्तो होइन । डकुमेन्ट मिलेर आएमा दिहाल्छौं । दिने एउटै पाटीलाई हो । सस्तो र टेक्निकल्ली डाटा मिलेको छ भने काम दिने हो ।

सन् १९९२ मार्च १८ तारिख (वि.स. २०४८ साल चैत) मा तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाले जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण गर्दा तत्कालीन चिनिया प्रधानमन्त्री लि फेङबीच द्विपक्षीय सहयोग बिस्तार गर्न नेपालमा क्यान्सर अस्पताल स्थापना गर्ने समझदारी भएको थियो । उक्त मितिदेखि हालसम्म यो अस्पताल मित्रराष्ट्र जनवादी गणतन्त्र चीन सरकार र नेपाल सरकारबीचको असल छिमेकी सम्बन्धको एक उदाहरणका रुपमा रहेको छ ।

क्यान्सर सम्बन्धी उच्चस्तरीय अध्ययन अनुसन्धान र क्यान्सर रोगीहरुको परीक्षण निदान र उपचार एवं रोगको रोकथाम र नियन्त्रण समेत गरी क्यान्सर रोगीहरुलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउने र यस क्षेत्रमा आवश्यक जनशक्ति विकास लगायतका कार्यहरु गरी स्वनिर्भरता प्राप्त गर्न स्वायत्त राष्ट्रिय प्रेषण अस्पतालको रुपमा विकास गर्न वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल ऐन, २०५३ द्धारा यस अस्पतालको स्थापना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्