Logo
|
Wednesday 24th April 2024
Logo

epaper

ओली सरकारका छैटौं स्वास्थ्यमन्त्री कृष्णगोपाल श्रेष्ठ को हुन् ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । शिक्षा तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले असार ११ गतेदेखि स्वास्थ्य मन्त्रालयको पनि जिम्मेवारी सम्हाल्नुभएको छ । उहाँले शिक्षा तथा प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । यो सँगै उहाँले वन तथा वातावरण मन्त्रालय र श्रम तथा रोजगार मन्त्रालयको कार्यभार सम्हाल्नुभएको छ ।

सर्वोच्च अदालतले असार ८ गते प्रतिनिधिसभा विघटनपछि नियुक्त भएका २० मन्त्रीलाई पदमुक्त गरेपछि प्रधानमन्त्री ओलीको सिफारिसमा असार १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी रहेका चार मन्त्रीलाई अन्य मन्त्रालयको जिम्मेवारी दिनुभएको हो ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा शेरबहादुर तमाङ हुनुहुन्थ्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले तमाङलाई २०७८ जेठ २१ गते स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिनुभएको थियो । तर सर्बोच्चको आदेशपछि उहाँ १८ दिनपछि असार ८ गते पदमुक्त हुनुभएको थियो । तमाङ अघि स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा हृदयश त्रिपाठी हुनुहुन्थ्यो । ५ महिना ११ दिन मन्त्रालयको जिम्मेवारी पाउनुभएका त्रिपाठीलाई प्रधानमन्त्री ओलीले जेठ २१ गते हटाउनुभएको थियो ।

२०७६ साल मंसिर ४ गते नियुक्ती पाएर एक वर्ष ६ महिना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका भानुभक्त ढकाललाई २०७७ पुस १० गते हटाइएको थियो । यसैगरी उपेन्द्र यादव २०७५ जेठ १८ देखि मंसिर ४ सम्म स्वास्थ्य मन्त्री भई १ वर्ष ५ महिना १६ दिन जिम्मेवारी सम्हाल्नुभएको थियो । यसअघि पद्मा अर्यालले राज्यमन्त्रीको हैसियतमा २०७४ चैत्र २ गतेदेखि २०७५ साल जेठ १७ गतेसम्म २ महिना १५दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

नेकपा सांसद कृष्णगोपाल श्रेष्ठ शहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालिसक्नुभएको छ ।

काठमाडौं—९ बाट निर्वाचित सांसद श्रेष्ठ ओलीका बफादार पात्र मानिनुहुन्छ । ओली अध्यक्ष भएपछि उहाँले तत्कालीन एमालेको कार्यालय सचिवका रूपमा काम गर्नुभयो । उहाँ लामो समय काठमाडौँ उपत्यकाको पार्टी नेतृत्वमा हुनुहुन्थ्यो । श्रेष्ठ स्थानीय विकास राज्यमन्त्री पनि हुनुहन्थ्यो ।

मन्त्री श्रेष्ठको जन्म वि.स. २०१५ साल असोज १५ गते विजया दशमीको दिन काठमाडौंमा भएको हो । हाल काठमाडौं महानगरपालिका वडा नम्वर १४ बल्खुमा बस्नुहुन्छ । उहाँका बाबुआमा काठमाडौंको राणा थर भएका एक व्यक्तिको घरमा डेरा गरी बस्नुहुन्थ्यो । डेरामा नै कृष्णगोपालको जन्म भएको हो । आमाले ज्याला मजदुरी गरेर हुर्काएको सम्झना उहाँलाई अहिले पनि ताजै छ । उहाँको बुबाको नाम हरिलाल श्रेष्ठ र आमाको नाम हरिमाया श्रेष्ठ हो । उहाँका एक छोरा र दुई छोरी छन् ।

स्वास्थ्य मन्त्री श्रेष्ठले अर्थशास्त्रमा एमए गर्नुभएको छ । राणा परिवारका बालबालिकाले पढेको देखेर उहाँले सानो उमेरमा अक्षर चिन्ने मौका पाउनुभयो । स्कूल जान त पाउनुभएन । तर घरबेटीका छोराहरुले लेखपढ गरेको देखेर उहाँले धेरै कुरा सिक्ने मौका पाउनुभयो । पछि एकैपटक ५ कक्षामा भर्ना भएर आफ्नो पढाई पूरा गर्नुभएको थियो । सानै उमेरमा गरिवी, अभाव र पछौटेपन भोगेका नेता श्रेष्ठलाई त्यही बेलादेखि प्रगतिशील विचारधाराले प्रभावित बनायो ।

२०३७ सालमा अनेरास्ववियुले गरेको पहिलो नेपाल बन्दमा उहाँ सकृयतापूर्वक सहभागी हुनुभएको थियो । विद्यार्थी र पार्टी आन्दोलनमा सहभागी हुँदा उहाँ पटकपटक जेल समेत पर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्