Logo
|
Sunday 19th January 2025
Logo

epaper

म्याग्दीको विकट गाउँ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ



नेपाल हेल्थ न्युज, म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ नामिलामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । रघुगङ्गा गाउँपालिकाले स्वास्थ्य एकाइ स्थापना गरेपछि स्थानीयवासीलाई आधारभूत स्वास्थ्य सेवा लिन सहज भएको छ ।

नामिलाका बासिन्दालाई चिमखोलामा रहेको स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक थियो । बर्खायाममा पहिरोका कारण सडक र पैदलमार्ग अवरुद्ध हुँदा छिमेकी वडाको कुइनेमङ्गले स्वास्थ्य चौकीमा पुगेर सेवा लिने गरेका थिए । रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका वडाध्यक्ष थकबहादुर पाइजा (रिम) का अनुुसार एकाइबाट नामिला र आसपासको गाउँका करिब एक सय घरपरिवार लाभान्वित भएका छन् ।

‘एकाइ खुलेपछि गाउँमै आधारभूत स्वास्थ्य सेवा पाएर राहत मिलेको छ’, उहाँले भन्नुभयो, ‘एक जना अनमीले एकाइबाट सेवा दिने व्यवस्था मिलाएका छौँ ।’ स्वास्थ्य परीक्षण, परामर्श, निःशुल्क औषधि वितरण र खोपसम्बन्धी सेवा दिइने वडाध्यक्ष पाइजाले बताउनुभयो ।

आमा समूहको भवनको कोठामा एकाइ स्थापना गरिएको छ । यसअघि चिमखोलाको पात्ले गाउँमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन गरिएको थियो । नामिला, पात्लेसहित रघुगङ्गाको ठाडाखानी, कुइनेखानी, रायखोर, दर्मीजा, बादुक, राममन्दिर र मौवाफाँटमा स्वास्थ्य एकाइ स्थापना गरेर स्वास्थ्य सेवा विस्तार गरिएको छ । वडास्तरका स्वास्थ्य संस्थामा पुगेर सेवा लिन अपायक पर्ने गाउँमा एकाइ स्थापना गरेर सेवा विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्