Logo
|
Saturday 27th April 2024
Logo

epaper

कोभिडका कारण बालबालिकाहरूले ज्यान गुमाउने जोखिम निकै कमः अध्ययन



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिडका कारण बालबालिकाहरू गम्भीर बिरामी हुने वा ज्यान गुमाउने जोखिम निकै कम रहेको एउटा नयाँ अध्ययनले पुष्टि गरेको छ ।

इङ्ल्यान्डमा महामारीको पहिलो १२ महिनाको विवरणका अनुसार १८ वर्षमुनिका २५ जनाले मात्रै कोभिडका कारण ज्यान गुमाएको बीबीसी नेपालीमा उल्लेख छ ।

एकभन्दा बढी दीर्घरोग भएका र स्नायु समस्या झेलिरहेकाहरू जोखिममा हुनेमध्येका रहे पनि समग्र जोखिम भने कम छ ।

त्यस्तो निष्कर्ष यूकेको खोप सुझाव समूहले निकालेको हो ।
स्वास्थ्यसम्बन्धी विभिन्न जोखिममा रहेका अवस्थामा समेत हाल १८ वर्ष मुनिका बालबालिकालाई नियमित कोभिड खोप दिइएको छैन ।

कस्तो अध्ययन ?
युनिभर्सिटी कलेज लन्डन तथा योर्क, विस्टोल र लिभरपुल विश्वविद्यालयका वैज्ञानिकहरूले बालबालिकाबारे आफूहरूको अध्ययन अहिलेसम्म विश्वमै भएको मध्येको विस्तृत भएको बताएका छन् ।

उनीहरूले इङ्ग्ल्यान्डको जनस्वास्थ्य तथ्याङ्क प्रयोग गरेर हेर्दा कोभिड १९ बाट ज्यान गुमाउने धेरैजसो कलिला मानिसहरू पहिल्यै जोखिमयुक्त स्वास्थ्य समस्या भएको बताएका छन् ।

झन्डै १५ जनाको आयु कम गर्ने अवस्था अथवा पहिल्यै अन्य रोगका कारण स्वास्थ्य समस्या थियो जसमध्ये १३ जना जटिल स्नायु पक्षाघातबाट जुझिरहेका थिए ।
छ जनाको विगत पाँच वर्षमा अन्य स्वास्थ्य समस्या थिएन । यद्यपि अध्ययनकर्ताहरूले कुनै खाले रोगको हेक्का नभएको हुनसक्ने भन्दै शङ्का व्यक्त गर्छन् ।


अनुसन्धानले सुझाए अनुसार थप ३६ बालबालिकामा मृत्युका बेला कोभिड देखिए पनि ती अन्य कारणले ज्यान गुमाएका थिए ।
समग्र जोखिम अझै कम भए पनि ज्यान गुमाउने जोखिममा रहेका धेरैजसो बालबालिकाहरू खास गरी १० वर्षभन्दा माथिल्लो उमेर समूहका र अश्वेत र एशियाली मूलका देखिएको बताइएको छ ।


अध्ययनकर्ताहरूको अनुमानमा इङ्ग्ल्यान्डका झन्डै एक करोड २० लाख बालबालिकाको जनसङ्ख्यामा २५ जनाको मृत्यु हुनु एउटा फराकिलो अवस्था भएको र मृत्युदर प्रति १० लाखमा दुई जना हुनु रहेको बताउँछन् ।

हालैको तथ्याङ्क अनुसार महामारी सुरु भएयता यूकेमा झण्डै एक लाख २८ हजार ३०१ मानिसहरू कोभिड पोजेटिभ भएको २८ दिनभित्र ज्यान गुमाएका थिए ।
अस्पताल बसाइ दुर्लभ

बेग्लै रूपमा वैज्ञानिकहरूले इङ्ल्यान्डमा फेब्रुअरी २०२१ सम्ममा अस्पतालको आपत्कालीन सेवा लिने बालबालिकाहरूको विवरण समेत हेरेका थिए ।

झन्डै ५,८०० बालबालिकाहरू भाइरसका कारण अस्पताल भर्ना भएका थिए । जबकि अन्य रोगका कारण अस्पताल भर्ना हुने बालबालिकाको संख्या (चोटपटकबाहेक) तीन लाख ६७ हजार छ सय थियो ।
झन्डै २५० जनालाई सघन स्याहार आवश्यक परेको थियो ।
झन्डै ६९० बालबालिकाहरू कोभिडसँग जोडिएको पेडिआर्टिक इन्फ्लामेटरी मल्टि सिस्टम सिन्ड्रोम (पीआईएमएस(टिएस) का कारण अस्पताल भर्ना भएका थिए ।


खास जोखिम अझै कम भए पनि धेरै समस्या भएका, धेरै तौल भएका र मुटु र स्नायुको समस्या भएका बालबालिका उच्च जोखिममा रहने गर्छन् ।


प्रमुख अनुसन्धानकर्ता प्राध्यापक रसेल भाइनलरका अनुसार खोप लगाएर बालबालिकालाई जोगाउने जटिल निर्णयहरू गर्नका लागि उनीहरूको अध्ययनमा मात्र भर नपरेर थुप्रै विमर्श आवश्यक पर्नेछ ।

तर उनले यदि पर्याप्त खोप हुँदो हो त केही निश्चित समूहका बालबालिकाहरू खोपबाट फाइदा लिन सक्ने भनेर आफ्नो अध्ययनले सुझाएको बताउँछन् ।
नेपालको तथ्याङ्क के छ ?
शुक्रवारसम्मको तथ्याङ्क हेर्दा नेपालमा नौ वर्षसम्ममा ४१ बालबालिका एवम् १० देखि १९ वर्षका ४८ जनाको मृत्यु भएको देखिन्छ ।

कूल मृत्यु भएकामध्ये यो एक प्रतिशतभन्दा कम हो।

सङ्क्रमितको सङ्ख्या भने १० वर्षसम्मका १५,४९७ छ भने ११ देखि २० वर्षका सङ्ख्या ४४,७०६ गरी कूल ६०,२०३ रहेको छ ।

त्यो सङ्ख्या कूल सङ्क्रमितको नौ प्रतिशतभन्दा केही बढी हो ।

२० वर्षसम्मका मानिसहरूमा कोभिड हुँदा मृत्युदर ०.१५ प्रतिशत छ अर्थात औसतमा लगभग ६६० जनामा सङ्क्रमण हुँदा एक जनाको मृत्यु हुने देखिएको छ ।

अन्य उमेर समूहमा मृत्युदर १।५६ छ अर्थात २० वर्षदेखिमा माथिका औसतमा ६४ जना सङ्क्रमित हुँदा एक जनाको मृत्यु हुने स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्