प्यारालाईसिस हुनबाट यसरी जोगिए अर्जुन !!
जनस्वास्थ्य सरोकार, काठमाडौँ । अर्जुन बस्नेत काठमाडौंको धापासीमा बस्छन् । उमेरले उनी ३७ वर्ष भएका छन् । ललितपुरको पुल्चोकस्थित हुवाइ कम्पनिमा काम गर्छन् । उनको स्थायी घर दोलखाको चरिकोट भएपनि लामो समयदेखि राजधानीमा सपरिवार बस्दै आएका छन् । एक दिन मस्तिष्कघात हुन्छ र उपचार पनि नाटकीय शैलीमा पाउँछन् उनले । दश दिनमै आफ्नो सामान्य दिनचर्यामा फर्किन्छन् अर्जुन । उनको बाँसबारीस्थित उपेन्द्र देवकाटा मेमोरियल न्युरो हस्पिटलमा न्युरो इन्टरभेन्सन पद्धतिबाट बिना शल्यक्रिया क्याथेटरको माध्यमबाट मस्तिष्कमा जमेको रगतको थेग्लो निकालेपछि उनी सामान्य दिनचर्यामा फर्कन सफल हुन्छन् । पढ्दा कथा जस्तो लाग्नसक्छ । तर यो घटना सत्य हो ।
आइतबार बिदा भएपनि अर्जुन कार्यालय जान्छन् । साँडे ३ बजे घर फर्किन्छन् । लकडाउन भएकाले ‘शारीरिक अभ्यास पनि हुन्छ’ भनेर टोखा बजारतिर साइकल लिएर निस्कन्छन् । टोखाको उकालोमा साइकल चलाउँदै गर्दा उनलाई थाकेको महसुस हुन्छ । त्यसपछि साइकलबाट झर्छन् । साइकल डोर्याउँदै गर्दा उनलाई अझ धेरै थाकेको महसुस हुनथाल्छ र साइकल फर्काउँछन् ।
अचानक उनको शरीरको दाइने भाग नियन्त्रण हुन सक्दैन । त्यसपछि बिस्तारै रोड किनारामा साइकल रोकेर बस्छन् । आफूलाई गाह्रो भएकोबारे श्रीमतीलाई जानकारी गराउन गोजीबाट मोबाइल फोन निकाल्छन् । तर फोन गर्न सक्दैनन् । संयोगवश त्यति बेला उनकी श्रीमतीको फोन आउँछ । बोली नआएकाले ‘वा’ ‘वा’ मात्र गर्छन् । श्रीमती आत्तिएर अर्जुनको दाइलाई जानकारी गराउँछिन् ।
दाइले गरेको मोबाइल फोनमा जिब्रो लरबराउँदै अर्जुन कुरा गर्छन् । तर मस्तिष्कले कहिले काम गर्ने र कहिले नगर्ने भएकाले दाइले बोलेको अर्जुनले कति थाहा पाउँथे भने कति थाहा पाउँदैनथे । दुर्भाग्य अर्जुनलाई मस्तिष्कघात भएको रहेछ । टोखा जाने उकालोमा रहेको पेट्रोल पम्प नजिकैको घटना भएकाले यो दृश्य पम्प सञ्चालकले पनि नियालिरहेका हुन्छन् । उनले अस्पताल लैजान अर्जुनलाई आफ्नै कारमा राख्छन् । बीच बाटोमा दाइ, मामा र श्रीमतीले अर्जुनलाई भेट्छन् । मस्तिष्कघात भएकाले बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटल लैजाने सबैको सहमत हुन्छ र हस्पिटल पु¥याइन्छ । यो ७ जुन २०२० को घटना हो ।
अपत्यारिलो चमत्कार
‘हस्पिटल लगिसकेपछि अरु मलाई केही थाहा छैन । मेरो उपचार शुरु भएछ । राति नसाको माध्यमबाट मस्तिष्कमा जमेको रगतको थेग्ला (ब्लड क्लट) निकालिएछ । त्यसपछि राति १२ बजेतिर मेरो बोली फिर्ता आइसकेको थियो ।’— अर्जुन भन्छन्—‘ त्यो बेलासम्म मैले आफूले आफूलाई सामान्य अनुभव गरिसकेको थिएँ । मलाई मस्ष्तिकघात भएको र यति चाँडै निको भएको कुरा अस्पतालमा भेट्न आउने आफन्तले समेत पत्याएनन् ।’
खुशीको त्यो क्षण
अर्जुनको परिवारमा आमा, श्रीमती र छोरा छन् । अर्जुनको कमाइमा परिवार पालिएको छ । अर्जुनको आमालाई पनि ११ वर्षअघि मस्तिष्कघात भएका कारण प्यारालाईसिसको समस्या छ । हिँडडुल गर्न सके पनि बोली छैन । ‘आमाको अवस्था देखेर मेरो परिवारले मलाई सामान्य अवस्थामा फर्कनेत कल्पना पनि गरेका थिएनन् । तर खुशीको कुरा मैले समस्याबाटशत्प्रतिशत छुटकारा पाएँ ।’—उनले खुशी व्यक्त गरे । अर्जुन ३ दिनभन्दा बढी अस्पताल बस्नु परेन । अर्जुनको उपचारमा करिब ७ लाख जति खर्च भएको छ ।
अर्जुन भन्छन्—‘खर्च भएपनि म सामान्य अवस्थामा फर्किएँ । त्यही ठूलो कुरा भयो । उपचार भएको १० दिनपछि दैनिक जागिरमा फर्किन सफल भएको छु ।’ हामीले अर्जुनसँग कुरा गर्दा उनी फुटबल खेल्न जान लागेका थिए ।
‘त्यो बेलामा यदि मेरो परिवारमा अलिकता आइडिया नभएको भए मलाई अरु हस्पिटल लग्थे होलान् । सही उपचार पाउने थिइँन होला । — अर्जुन भन्छन्—‘म आमा जस्तै प्यारालाईसिस भएर बाँच्नु पर्ने अवस्था पनि आउनसक्थो नि । नयाँ प्रविधिकै कारण सही उपचार पाएँ र १० दिनभित्र काममा फर्किन सकेँ । कमाउन सकेँ । यस प्रकारको अवसर नपाएको भए सायद जीवनभर खर्चै खर्चमा जिउनुपथ्र्यो र परिवारको बिचल्ली हुने थियो होला ।’
अनुभवको आधारमा सल्लाह
अर्जुन भन्छन्, ‘यस प्रकारको समस्या प्रायः उच्च रक्तचाप, उच्च कोलेस्टेरोल र मधुमेह भएका व्यक्तिहरुलाई हुनसक्ने चिकित्सकहरुले बताउनुभयो । मेरो पनि कोलेस्टेरोल उच्च देखिएको थियो । यस प्रकारको समस्या नबल्झियोस् भनेर चिकित्सकहरुले उच्च रक्तचाप र कोलेस्टेरोलको औषधि सिफारिस गर्नुभएको छ । मेरो व्यक्तिगत अनुमानमा लकडाउनका बेला खानपान बढ्यो र शारीरिक व्यायाम कम भएकाले समस्या भएको हुनसक्छ । हामीले बेलाबेलामा आफ्नो स्वास्थ्यको जानकारी राख्नुपर्छ । रोगको लक्षणहरुबारे थाहा भएमा सहि समय सम्बन्धित अस्पताल पुग्न सकिन्छ र उचित उपचार पाउन सकिन्छ ।
हस्पिटलमा एउटा बिरामी पुग्नु भनेको त भूतलाई शिकार आएको जस्तै ठानिन्छ । बिरामी रिफर गर्ने प्रचलन छैन । आफ्नै तरिकाले उपचार शुरु गरिन्छ । अन्य अस्पतालमा भएको स्पेशलाइज सेवाबारे जानकारी गराइँदैन । पैसा भएसम्म अनेकौं आश्वासन दिएर बिरामी होल्ड गरेर राख्छन् ।’—अर्जुनले भने ।