Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

प्यारालाईसिस हुनबाट जोगाउने इन्डोभास्कुलर प्रविधि



बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलमा इन्टरभेन्सनल रेडियोलोजिष्ट डा.सुबास फुयालले गत एक वर्ष देखी न्युरो इन्टरभेन्सन सेवा प्रदान गर्दै आउनुभएको छ । उहाँ न्युरो इन्टरभेन्सनमा अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेज (एम्स, नयाँ दिल्ली) बाट डीएम गर्ने पहिलो नेपाली चिकित्सक हुनुहुन्छ ।न्युरो इन्टरभेन्सनबारे डा. फुयालको भनाइ उहाँकै शव्दमा …


इन्डोभास्कुलर वा न्युरो इन्टरर्भेन्सन भनेको बिना शल्यक्रिया क्याथेटरको माध्यमबाट बन्द भएको मस्तिष्कको नसा खोल्ने वा फुटेको मस्तिष्कको नसा रिपेयर गर्ने पद्धति हो । यस प्रविधिमा हात वा खुट्टाको नसाबाट क्याथेटर पठाएर मस्तिष्कको नसा भित्र जमेको रगत थेग्लो निकालिन्छ । यस पद्धतिमा टाउको नखोल्ने भएकाले बिरामीलाई छिट्टै घर पठाउन सकिन्छ । बिरामीको उपचारमा जोखिम धेरै कम हुन्छ । मस्तिष्कको समस्या जस्तै, मस्तिष्कघात, एन्युरिजम (रक्तनलीको फोको), घाँटीको नशा सुक्ने, मेरुदण्डको नसा सम्बन्धि समस्यामा न्युरो इन्टरभेन्सन पद्धतिबाट उपचार गर्न सकिन्छ ।

बाइप्लेन क्याथ ल्याब


अहिलेको जीवनशैली जसमा हिँडडुल र शारीरिक व्यायामको कमी, खानपिनमा आएको परिवर्तन, साथै मद्यपान र धुम्रपानको बानीले गर्दा रगतमा तैलीय पदार्थको मात्रा बढी भई त्यसले रक्तनलीको रोगहरु निम्त्याइएको देखिन्छ । यसले उच्च रक्तचाप र मुटुको समस्या जस्तै हृदयघात (Heart attack) का साथ–साथै मस्तिष्कघात (Brain attack) लाई पनि समाजमा व्यापक बनाएको छ ।

उच्च रक्तचापका कारण मस्तिष्कको नसा कमजोर भई ब्रेन हेमोरेज पनि हुनसक्छ । यसो हुँदा विगतमा टाउको खोलेर फूटेको नसा सिलाइन्थ्यो । यसरी टाउको खोलेर शल्यक्रिया गर्दा जटिलताका साथ–साथै अस्पतालको बसाई पनि लम्बिन्थ्यो । तर अहिले एन्युरिज्मका कारण हुने ब्रेन हेमोरेज भएका व्यक्तिलाई तारको माध्यमबाट खुट्टाको नसा हुँदै च्यातिएको नसा भित्रभित्रै सिलाइन्छ । यसलाई क्वाइलिङ्ग भनिन्छ । यस्ता बिरामीहरुलाई साधारणतया ५–७ दिन भित्र घर पठाउन सकिन्छ । तार (क्याथेटर) को माध्यमबाट शल्यक्रिया गर्दा इन्फेक्सन हुने, लामो समयसम्म आईसियूमा बस्नुपर्नेलगायतका समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

क्याथेटरबाट मस्तिष्कको नशा खोलिएको


अमेरिकाको हारवर्ड विश्वविद्यालयका अनुसार,मस्तिष्कमा करिव सयौ अरब कोशिकाहरु हुन्छन् । मस्तिष्कघात भई रक्तनली बन्द भएर उपचार नपाएको खण्डमा प्रतिमिनेट करिब २० लाख दिमागका कोशिकाहरु मर्दछन् । त्यसैले मस्तिष्कघातलाई एक्युट मेडिकल इमर्जेन्सी (आपतकालीन स्वास्थ्य समस्या) भनिन्छ । मस्तिष्कघात भएका बिरामीको उपचार, विगतमा थ्रोम्बोलाइसिसमा मात्र सिमित थियो । यस पद्धतिमा औषधिको प्रयोगबाट रगतको थेग्लो पगाल्न प्रयास गरिन्छ । यसका लागि मस्तिष्कघात भएको साढे चार घण्टा भित्र बिरामीलाई अस्पताल पु¥याउनुपर्ने हुन्छ । अहिले भने न्युरो इन्टरभेन्सन पद्धतिबाट २४ घण्टा सम्म पनि यस्ता बिरामीलाई अस्पताल पुर्याउन सकेमा बन्द भएको ठूलो रगतको नसाबाट त्यो थेग्लो निकालेर बिरामीलाई पुर्ववत अवस्थामा ल्याउन सम्भव भएको छ ।

मस्तिष्कघातका ५ लक्षण
१. उभिँदा शरीरको सन्तुलन नमिल्ने
२. आँखाले नदेख्ने वा आँखा धमिलो हुने
३. एक्कासी मुख एकातिर बाँङ्गीने
४.हातखुट्टा एक्कासी कमजोर हुने
५. बोली नआउने वा बोली लरबराउने

उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटल


बिरामीको मस्तिष्कको नसा बन्द (मस्तिष्कघात) भएपछि एक्कासी बोली नआउने, बोली लरबरिने, आँखाले नदेख्ने वा धमिलो देख्ने, एउटा हात र खुट्टा एक्कासी नचल्नेलगायतका समस्या हुनसक्छ । न्युरो इन्टरभेन्सन पद्धतिमा क्याथल्याब मेसिनको सहायताले उत्तिखेरै मस्तिष्कको नसाको भित्रबाट शल्यक्रिया गरिन्छ र जमेको रगतको थेग्लो निकाली रक्तसंचार पहिले जस्तै सुचारु गरिन्छ । वाइप्लेन क्याथल्याबमा शल्यक्रिया गर्दा चारैतिरको नसा एकै पटकमा देखिने भएकाले सिंगल प्लेन क्याथल्याब भन्दा बिरामीलाई सुरक्षित तवरले छिट्टो उपचार गर्न सकिन्छ र रेडिएसनको मात्रा पनि कम हुन्छ । चिकित्सकलाई पनि उपचार गर्न सहज हुने गर्दछ । त्यसैले अन्तर्राष्ट्रिय समुदायले मस्तिष्क सम्बन्धित नसाको शल्यक्रिया गर्न वाइप्लेन क्याथल्याब नै सिफारिस गरेको छ ।
उपचारमा लाग्ने खर्च ?
न्युरो इन्टरभेन्सनको माध्यमबाट मस्तिष्कको नसा खोल्न र ब्रेन हेमोरोइजको उपचार गर्न जटिलताका आधारमा मूल्य निर्धारण गरिएको हुन्छ । ६ देखि १०लाख रुपियाँसम्म उपचार खर्च लाग्ने गरेको छ । मस्तिष्कमा बन्द भएको नसा खोल्न प्रयोग गरिने क्याथेटरको मूल्य नै ३—४ लाख रुपियाँसम्म पर्छ । कुनै कुनै क्याथेटरको मूल्य नै ८–१२ लाख रुपियाँसम्म पर्न जान्छ । जटिलताको मापनको आधारमा कस्तो प्रविधि आवश्यक पर्छ भन्ने कुरा निर्धारण हुन्छ । वाइप्लेन क्याथबाट मस्तिष्कका दुई तीनवटा नसा फुटेको अवस्थामा पनि एकैपटक उपचार सम्भव हुन्छ ।


यस अस्पतालमा बाईप्लेन क्याथल्याब भित्रिए सँगै वरिष्ठ न्युरो सर्जन प्रा.डा. उपेन्द्र देवकोटाको न्युरो इन्टरभेन्सन सेवा सर्वसुलभ बनाउने सपना साकार भएको छ । अहिले बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलमा नेपालकै पहिलो वाई प्लेन क्याथल्याब जडान भई विगत एक वर्षदेखि सञ्चालनमा आएको छ । हालसम्म ३० जनाले थ्रम्बेक्टोमी र ४५जनाले एन्युरिजम क्वाइलिङको सेवा पाई सक्नुभएको छ ।

साथै यस प्रविधिमाबाट गरिएको उपचारमा ९२ देखि ९५ प्रतिशतसम्म सफलता प्राप्त भएको छ । नेपालमा पहिलोपटक भित्रिएको अत्याधुनिक सेवा बारे सबैलाई जानकारी हुन आवश्यक छ । यसो गर्न सकेमा मस्तिष्कघात जस्तो प्राणघातक रोगको यस प्रविधिबाट सेवा लिई धेरै भन्दा धेरै बिरामीहरुले गुणस्तरीय जीवनयापन गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्