Logo
|
Saturday 27th April 2024
Logo

epaper

नेपाल मेडिसिटीमा पाइलट र क्याबिनक्रियुलाई प्री—हस्पिटल केयर प्रशिक्षण



जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पताल र यति एअरलाइन्स तथा तारा एअर बीच एयरक्राफ्ट मार्पmत बिरामीहरुको उद्धार गर्ने सहकार्य कार्यान्वयनमा आएसँगै अस्पतालमा पाइलट र क्याबिनक्रियु तथा प्रशासनिक कर्मचारीहरुलाई प्रि—हस्पिटल केयरबारे प्रशिक्षण प्रदान गरिएको छ ।

नेपाल मेडिसिटीका प्रि हस्पिटल केयर तथा आकस्मिक उपचार विभागप्रमुख डा. सञ्जय कार्की तथा इन्फेक्सन कन्ट्रोल नर्स रक्षा रक्षा अधिकारीले प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रममा यति तथा तारा एयरका १५ जनाकर्मचारी सहभागी रहेका थिए । देशका विभिन्न स्थानबाट बिरामी स्थानान्तरण गर्नेक्रममा के–कस्ता प्रक्रिया तथा सावधानी अपनाउन सकिन्छ भन्ने विषयमा कर्मचारीहरुलाई प्रशिक्षण प्रदान गरिएको अस्पतालका महाप्रवन्धक बिजय रिमालले जानकारी गराउनुभयो ।

हाल देशमा हेलीकोप्टरबाट तथा चार्टर्ड फ्लाईटबाट बिरामीहरुलाई स्थानान्तरण गर्ने गरिएकोमा अब यति एअरलाइन्स तथा तारा एयरले नियमित एयरलिफ्ट एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ । यस व्यवस्थाले बिरामीहरुलाई रात्रिकालीन उद्धार उडान गर्न समेत सहज हुने भएको हो ।

द्विपक्षीय सम्झौताको कार्यान्वयनसँगै यती तथा ताराका कर्मचारीहरु तथा स्काई क्लबका सदस्यहरुले अस्पतालको सेवामा विशेष सहुलियत समेत प्राप्त गर्नेछन् ।

देशैभरका नागरिक सम्म उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखेको अस्पतालका लागि यती एयरलाइन्ससँगको यस सम्झौताले विशेष भूमिका खेल्न सक्ने आशा राखिएको छ । आकस्मिक उद्धारका लागि दूरदराजमा समेत यती तथा तारा एअरलाईन्सको यस सेवाबाट सहज तथा सहुलियत सेवा प्रदान गर्ने अवसर सिर्जना हुने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्