जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड खोपको बूस्टर डोज अर्थात् तेस्रो मात्रा सबै अमेरिकीका लागि आगामी सेप्टेम्बर २० तारिखदेखि उपलब्ध गराउन लागिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
करिब ८ महिना अगाडि खोप दिइएका स्वास्थ्यकर्मी, नर्सिङ होममा बस्नेहरू र वृद्धवृद्धाहरूलाई बूस्टर मात्रा सबैभन्दा पहिले उपलब्ध गराइने उनीहरूले बताएका छन्।
ह्वाइट हाउसले कोरोनाभाइरसको डेल्टा भेरिअन्टका कारण सङ्क्रमण बढेको र समयसँगै खोपको प्रभावकारिता घट्दै जाने विवरणहरू प्राप्त भएकाले यस्तो कदम चाल्नुपरेको जनाएको छ।
यस्तो बूस्टर खोप लगाइने औपचारिक सिफारिस र अनुमति प्राप्त भएपछि अन्तिम निर्णय लिइनेछ।
जुलाई महिनाको शुरूयता अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको दैनिक सङ्ख्या बढ्दै गएको छ।
त्यसबेला दैनिक दशहजारभन्दा कम सङ्क्रमित थिए भने अहिले देशभरमा दैनिक १ लाख ५० हजार भन्दा बढी सङ्क्रमित हुने गरेका छन्।
अस्पतालहरूमा बिरामीको सङ्ख्या बढेको छ। मृत्यु दर बढेपछि अधिकारीहरूले मास्क र सामाजिक दूरीको नियम पुनस् लगाउन लागेका छन्।
औषधी सम्बन्धी विभिन्न अमेरिकी निकायहरूस् सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्शन, द फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन र न्याशनल इन्स्टिच्यूट अफ हेल्थ र राष्ट्रपति जो बाइडनका प्रमुख मेडिकल सल्लाहकार डा एन्थोनी फाउची सबैजना बूस्टर मात्राको पक्षमा छन्।
यिनै समूहले ह्वाइटहाउसको योजना अनुमोदन गर्ने हुन्।
समयसँगै कोभिड खोपको प्रभावकारिता घट्दै जाने थाहा भएको अधिकारीहरूले बताएका छन्। उनीहरू भन्छन्, डेल्टा भेरिअन्टको सङ्क्रमण बढ्दै जाँदा रोगको कम र मध्यम गम्भीर प्रकृतिप्रतिको सुरक्षा पनि कम हुँदै जाने गरेको देखिएको छ।
खोपबाट प्राप्त हुने सुरक्षालाई अझ बलियो बनाउन लागि बूस्टर मात्रा आवश्यक भएको हाम्रो निष्कर्ष छ र त्यसले खोपको प्रभावकारिता पनि बढाउने छ।
खोप
बूस्टर मात्रा आठ महिना अघि फाइजर खोप वा मोडेर्ना खोपको दोस्रो मात्रा लगाएका अमेरिकीहरूलाई उपलब्ध गराइनेछ।
ह्वाइट हाउसले जोन्सन एन्ड जोन्सनको एक मात्रा कोभिड खोप लिएकाहरूलाई पनि बूस्टर चाहिन सक्ने तर त्यसका लागि अनुसन्धान आवश्यक भएको बताएको छ।
हालै हप्ताहरूमा इजरेल, फ्रान्स र जर्मनीले पनि बूस्टर मात्रा वृद्धवृद्धा र कमजोर रोग प्रतिरोधी क्षमता भएका मानिसहरूलाई दिने निर्णय गरिसकेका छन्।
तर विश्व स्वास्थ्य सङ्गठनले बूस्टर मात्रा लगाउनु अघि कम्तीमा सेप्टेम्बर अन्त्यसम्म कुर्न भनेको छ।
त्यस बेलासम्म कम आय भएका मुलुकका बासिन्दाले कम्तीमा पनि खोपको पहिलो मात्रा लगाउन पाउने ठानिएको छ।
अमेरिकी सङ्घीय तथ्याङ्क अनुसार बूस्टर मात्राबारेको निर्णय औपचारिक रूपमा घोषणा हुनु अघि नै दश लाख अमेरिकीले स्वस्फूर्त रूपमा खोपको थप मात्राको चाहना व्यक्त गरेका थिए। बीबीसी
३२ जना एम्बुलेन्स चालकलाई जीवन–रक्षक बीएलएस तालिम
शुक्रबार, मंसिर २६, २०८२
अनुहारको सौन्दर्य र चायापोतो
मंगलबार, मंसिर १६, २०८२
बिहान नुहाउनु राम्रो हुन्छ कि रातमा? विशेषज्ञहरू यसो भन्छन्
मंगलबार, मंसिर १६, २०८२
३८औँ विश्व एड्स दिवस २०२५: ‘अवरोधहरू पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ
सोमबार, मंसिर १५, २०८२
