Logo
|
Saturday 27th April 2024
Logo

epaper

भारतमा पहिलो डीएनए कोभिड खोपलाई अनुमति, खोपले कसरी काम गर्छ ?



जनस्वास्थ्य सरोकार। भारतको औषधि नियामक निकायले आपत्कालीन प्रयोगका लागि कोरोनाभाइरसविरुद्ध निर्मित विश्वको पहिलो डीएनए खोपलाई स्वीकृति प्रदान गरेको छ।

तीन मात्रा दिनुपर्ने जाईकोभ-डी (ZyCoV-D) नामक उक्त खोप लिएका ६६ प्रतिशत मानिसमा लक्षणयुक्त सङ्क्रमण हुन नपाएको खोप उत्पादन गर्ने कम्पनी क्याडिला हेल्थकेअरले गरेको एउटा अध्ययनमा उल्लेख छ।

उक्त कम्पनीले प्रत्येक वर्ष एक करोड २० लाख मात्रा खोप उत्पादन गर्ने योजना बनाएको छ। यो भारतमै निर्मित दोस्रो कोभिड खोप हो। यसअघि निर्माण गरिएका डीएनए खोपहरूले पशुमा मात्र राम्ररी काम गरेका थिए।

भारतमा कोभिशील्ड, कोभ्याक्सीन र स्पुत्निक भी गरी तीन किसिमका खोप प्रयोगमा छन्। अहिलेसम्म ती खोपका ५७ करोड मात्रा दिइसकिएको छ।

क्याडिला हेल्थकेअरका अनुसार उक्त खोपको भारतमा गरिएको सबैभन्दा ठूलो क्लिनिकल परीक्षणमा २८,००० जना स्वयंसेवी सहभागी भएका थिए। त्यसका लागि ५० वटाभन्दा बढी केन्द्रहरू सञ्चालित भएको उसले जनाएको छ।

उक्त कम्पनीले भारतमा पहिलो पटक १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीमा कोभिड-१९ को खोपको परीक्षण गरिएको दाबी गरेको छ। उक्त खोप त्यो उमेर समूहका मानिसमा “सुरक्षित र एकदमै सह्य” भएको पाइएको क्याडिला हेल्थकेअरको दाबी छ।

जाईडस क्याडिलाको कोभिड खोप

उक्त खोपको क्लिनिकल परीक्षणको तेस्रो चरण भारतमा कोरोनाभाइरस महामारीको दोस्रो लहर उत्कर्षमा पुगेको बेला गरिएको थियो। त्यसबाट विशेषगरी अतिसङ्क्रामक डेल्टा भेरिअन्टजस्तो कोरोनाभाइरसको “उत्परिवर्तित प्रकारविरुद्ध” उक्त खोपको प्रभावकारिता सिद्ध भएको खोपनिर्माताको विश्वास छ।

“म यो खोपबारे उत्साहित छु किनभने यसले निकै राम्रो क्षमता देखाएको छ। यो खोपले काम गर्‍यो भने भविष्यमा खोप अभियान व्यावहारिक रूपमा अझ सहज हुन्छ,” भाइरसविद् प्रा. शाहिद जमीलले भने।

डीएनए खोपले कसरी काम गर्छ?

डीएनए र आरएनए जीवनका आधारभूत तत्त्व हुन्। ती तत्त्वमा आनुवंशिक सूचनाहरू हुन्छन् जुन जीवबाट तिनका सन्तानमा प्रसारित हुन्छन्।

डीएनए खोप लिएपछि त्यसले पनि अरू खोपले जस्तै शरीरको प्रतिरोध प्रणालीलाई भाइरससँग सङ्घर्ष गर्न सिकाउँछ।

जाईकोभ-डीमा प्लाज्मिड भनिने साना गोलाकार डीएनए प्रयोग गरिएको छ। खोपमा भएको आनुवंशिक सूचनावाहक त्यस्तो डीएनए मानिसको छालाको दुई तहको बीचमा पुग्छ।

कोरोनाभाइरसले मानवकोषमा टाँसिन र भित्र प्रवेश गर्न प्रयोग गर्ने काँडेदार “स्पाईक प्रोटीन” बनाउन लगाउने सङ्केत ती प्लाज्मिडमा हुन्छ।

कोरोनाभाइरस

अधिकांश कोभिड खोपहरूले मानवशरीरलाई स्पाईक प्रोटीन बनाउन लगाउने निर्देशन दिन्छन्।

त्यसबाट मानिसको प्रतिरोध प्रणाली सक्रिय भई कोरोनाभाइरसविरुद्ध एन्टिबडी उत्पादन हुन थाल्छ र शरीरलाई उक्त भाइरसविरुद्ध सङ्घर्ष गर्न प्रशिक्षित गर्छ।

यो खोप किन अरूभन्दा फरक छ?

यो कोभिड-१९ विरुद्ध निर्मित पहिलो डीएनए खोप हो। अमेरिकामा पशुहरूको उपचारमा प्रयोग गर्न केही डीएनए खोपले अनुमति पाएका छन्। तिनमा घोडामा हुने एउटा रोग र कुकुरमा हुने छालाको क्यान्सरविरुद्ध निर्मित खोपहरू पर्छन्।

यद्यपि अमेरिकामा मानिसहरूमा १६० प्रकारका विभिन्न डीएनए खोपको मानिसमा क्लिनिकल परीक्षणहरू भइरहेका छन्। तीमध्ये अधिकांश क्यान्सर उपचारसँग र एकतिहाइ एचआईभीको उपचारसँग सम्बन्धित छन्।

जाईकोभ-डी भारतका लागि घोच्ने सुईबिनै दिन सकिने पहिलो खोप पनि हो।

सुई आवश्यक नपर्ने र एकचोटि प्रयोग गरेपछि फ्यालिने इन्जेक्टर प्रयोग गरेर यो खोप दिइन्छ। त्यस्तो साधन प्रयोग गर्दा खोपमा भएको तरल द्रव्य छालाभित्र छिर्छ र उपयुक्त तन्तुसम्म पुग्छ।

“कुनै सङ्क्रमणविरुद्ध काम गर्ने डीएनए खोप हुनु भनेको ठूलो कुरो हो। यदि यसले राम्रो सुरक्षा प्रदान गर्छ भने यो भारतका लागि गौरवको विषय हुनेछ,” भाइरसविद् डा. गङ्गादीप काङले भनिन्।

यो खोपका फाइदा कस्ता छन्?

वैज्ञानिकहरूका अनुसार डीएनए खोपहरू तुलनात्मक रूपमा सस्तो, सुरक्षित र स्थिर हुन्छन्। तिनलाई बढी तापक्रममा – २ देखि ८ डिग्री सेल्सीअससम्म – भण्डारण गर्न सकिन्छ।

आफूले बनाएको कोभिड खोप तीन महिनामा २५ डिग्रीको तापक्रममा पनि नबिग्रिएको क्याडिला हेल्थकेअरको दाबी छ। यसबाट सो खोप सजिलै ओसारपसार र भण्डारण गर्न सकिने देखिन्छ।

डीएनए खोपको कमजोरी के हो?

मानिसमा लाग्ने सङ्क्रामक रोगविरुद्ध पहिला विकसित डीएनए खोप असफल भएका थिए। “समस्या के हो भने ती खोपले पशुहरूमा राम्ररी काम गर्छन्। तर मानिसहरूमा तिनले त्यही मात्राको प्रतिरोधात्मक सुरक्षा दिँदैनन्,” डा. काङ भन्छिन्।

उनका अनुसार दीर्घकालीन प्रतिरोधात्मक प्रतिक्रिया सिर्जना गराउनेगरी प्लाज्मिड डीएनएलाई मानवकोषभित्र पुर्‍याउने काम चुनौतीपूर्ण छ।

लुईजीयाना स्टेट यूनिभर्सिटीसँग आबद्ध भाइरसविद् डा. जेरमी कमिल पनि उस्तै धारणा राख्छन्।

“प्लाज्मिड डीएनए खोपहरू पहिला पनि प्रयोग गर्न खोजिएको थियो। तर प्लाज्मिड डीएनएलाई मानवकोषको न्यूक्लीअसभित्र पुर्‍याउन, विशेषगरी वयस्कमा, निकै कठिन हुन्छ,” उनले भने।

फाइजर र मोडेर्नाका खोपहरू एमआरएनए खोप हुन्। अर्थात् प्रोटीन उत्पादन गर्न लगाउन तिनले मेसिन्जर आरएनए प्रयोग गरेका छन्।

तर त्यस्ता खोपहरू कोषको न्यूक्लीअस भनिने केन्द्रीय भागसम्म पुग्नुपर्दैन।

जाईकोभ-डी खोपको अर्को दुर्बल पक्ष भनेको यसको तीन मात्रा चाहिन्छ। भारतमा प्रयोग गरिएका अरू दुईवटा खोपको दुई मात्रा भए पुग्छ। निर्माता कम्पनीले दुई मात्रा मात्र दिए पुग्ने खोपको मूल्याङ्कन भइरहेको जनाएको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्