Logo
|
Saturday 23rd November 2024
Logo

epaper

पेट सिटीस्क्यान सञ्चालन नहुँदा बिरामीलाई समस्या



जनस्वास्थ्य सरोकार, बिर्तामोड । झापाको बिर्तामोडस्थित पूर्वाञ्चल अस्पतालले क्यान्सर बिरामीका लागि ल्याएको पेट सिटीस्क्यान उपकरण सञ्चालनको अनुमति नपाउँदा एक वर्षदेखि थन्किएको छ । 

सांकेतिक फोटो

उपकरण सञ्चालन नहुँदा त्यस्ता बिरामी महँगो खर्च गरेर भारतमा उपचारका जाने बाध्य भएका छन् । सो उपकरणले क्यान्सर कहाँ कहाँसम्म फैलिएको छ, उपचार कस्तो भइरहेको छ भनेर पत्ता लगाउने गरिन्छ । यसले गर्दा चिकित्सकलाई क्यान्सरका बिरामीलाई उपचार गर्नका लागि सहज हुने गर्दछ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खरिद गर्न अनुमति दिए पनि सञ्चालनका लागि अनुमति नदिँदा त्यतिकै थन्किएको छ । कानून बन्न ढिलाइ गरेकाले अस्पतालले क्यान्सर बिरामीको उपचारका लागि ल्याएको उक्त उपकरण सञ्चालनमा समस्या परेको अस्पतालका निर्देशक डा वीरेन्द्र यादवले जानकारी दिनुभयो । “सरकारले कानून नबनाएकाले अझैसम्म सञ्चालन गर्न पाएका छैनौँ”, उहाँले भन्नुभयो, “यसले गर्दा हजारौँ बिरामीले उपचार गर्न पाएका छैनन् सञ्चालनका लागि धेरै पटक कानून चाँडो बनाउन भन्यो तर सुनवाइ भएको छैन ।”

वन तथा वातावरण मन्त्रालयबाट अस्पतालका लागि यो उपकरण आउँछ भनेर वातावरणीय मूल्याङ्कन प्रभाव (इआइए) समेत पास गराए पनि कानून बन्न ढिलाइ भएकाले उपकरण सञ्चालनमा समस्या भएको उहाँको भनाइ रहेको छ ।

“मन्त्रालयले एक वर्ष अघिदेखि नयाँ ऐन बनाउनुपर्दछ भनेर हामीलाई भनिरहेको छ”, अस्पतालका अध्यक्ष दुर्गाप्रसाद प्रसाईँले भन्नुभयो, “उपकरण यतिकै राख्न मिल्दैन । हामीले चलाएका चलै छौँ तर चलाएको उपकरणमा बिरामीलाई उपचार गर्न पाएका छैनौँ ।” 

उपकरणद्वारा क्यान्सर रोगको पहिचान गर्न, बिरामीको अवस्थाबारे जानकारी लिन मद्दत पुग्छ । यसै गरी यस रोगमा प्रयोग भएको औषधि शरीरमा प्रभावकारी भए नभएको तथा शरीरमा क्यान्सरको कण भए नभएको पत्ता लगाउने, तथा मुटु रोग तथा विभिन्न खाले दिमागको रोगको अवस्था जान्न पनि सघाउ पुर्‍याउने समेत उपकरणले गर्ने गर्दछ । बिरामीमा कुन तहको क्यान्सर भएको छ र त्यो कुन अवस्थामा छ भनेर जाँच गर्न यस पेट सिटीस्क्यानको प्रयोग गरिन्छ । 

करिब रु ७० करोडमा खरिद गरिएको उपकरणमा २४ घण्टा वातावरणनुकूलतामा राख्नुपर्ने हुन्छ । उपकरण सञ्चालन नआउँदा मासिक रु २० लाख बैङ्कसहित अन्यमा खर्च भइरहेको छ । उपकरण सञ्चालनका लागि समेत न्यूक्लियर मेडिसिन चिकित्सकसमेत अस्पतालले एक वर्षदेखि तलब खुवाएर राखिसकेको छ । उपकरण सञ्चालन नभएपछि त्यतिकै ती चिकित्सक बसिरहेका छन् । 

पोखरा, चितवन, काठमाडौँलगायत ठाउँबाट बिरामी अस्पतालमा पेट सिटीस्क्यान उपकरण छ भनेर अस्पतालमा आउने गरेता पनि ती बिरामीलाई उपचार गर्न नपाएको अस्पतालका निर्देशक डा यादवले जानकारी दिनुभयो । काठमाडौँमा रहेका दुई प्रयोगशालामा समेत पेट सिटीस्क्यान भए पनि कोभिड–१९ का कारण नियमित हवाई सञ्चालन नहुँदा सञ्चालनमा आएको छैन । नियमित उडान नहुँदा बिरामीको लागि लगाउने रेडियो आइसोटोप ल्याउन नसकेको कारणले काठमाडौँमा रहेका पेट सिटीस्क्यान उपकरण सञ्चालनमा नआएको हो । यसले गर्दा अहिले पेट सिटीस्क्यानका लागि क्यान्सरका बिरामी उपचारका लागि कलकत्ता, नयाँ दिल्ली जाने गर्दछन् । भारत जाँदा करिब रु पाँच लाख खर्च हुने गरेको छ तर नेपालमा अस्पतालले उपकरण सञ्चालनको अनुमति पाए आफूहरूले एक बिरामीको रु ६० देखि ७० हजारमा उपचार गर्ने उहाँको भनाइ रहेको छ ।

बिरामीका लागि उपचारका लागि उपकरण सञ्चालनसँगै ‘रेडियो आइसोटोप’ समेत प्रयोग गरिन्छ । रेडियो आइसोटोप ल्याएको चार घण्टाभित्र बिरामीको उपचारका लागि प्रयोग गरिसक्नुपर्ने हुन्छ । भारतको कोलकर्ताबाट खरिद गरेको दुई घण्टामा झापाको वित्तामोडमा उक्त रेडियो आइसोटोप आइपुग्दछ र बिरामीलाई समेत सजिलै उपचार गर्न सकिने भएकाले अस्पतालमा पेट सिटीस्क्यान जडान गरिएको अस्पतालका निर्देशक डा यादवले जानकारी दिनुभयो ।

कोलकर्ताबाट सिलगुडीको वागडुग्रा विमानस्थलमा एक घण्टा र त्यहाँबाट आधा घण्टामा बिर्तामोडमा उक्त रेडियो आइसोटोप ल्याइसक्ने भएकाले आफूहरूले बिरामीको उपचार गर्नका लागि पेटस्क्यान उपकरण राखिएको उहाँले बताउनुभयो । अस्पतालका अध्यक्ष प्रसाईँले मन्त्रालयले चाँडै कानून बनाएर उपकरण सञ्चालनको अनुमति दिनुपर्ने बताउनुहुन्छ । उक्त उपकरणबाट दैनिक २० देखि ५० जना बिरामीको उपचार गर्न सकिन्छ । 

दक्षिणपूर्वी नेपालमा रहेको क्यान्सर अस्पतालमा स्थापना भएपछि नेपालसहित भारतबाट पनि बिरामी उपचार गर्नका लागि आउने गरेका छन् । अस्पतालमा निर्देशक डा यादव नेतृत्वमा डा प्रियङ्का कटुवालसहितको नौ सदस्यीय विशेषज्ञ टोली कार्यरत छ । अस्पतालका अध्यक्ष प्रसाईँले क्यान्सरका बिरामीलाई नेपालमा नै उपचार गराउन उद्देश्यले अस्पताल स्थापना गरिएको बताउनुभयो । उहाँले यहाँका भएका विशेषज्ञ चिकित्सकले जस्तोसुकै क्यान्सरको पनि उपचार गर्न सक्ने बताउनुभयो । 

अस्पतालमा सङ्क्रमण (एन्टिब्यक्टरिया) मुक्त शल्यक्रिया कक्षको समेत निर्माण गरिएको छ । मिर्गौला, कलेजो, फोक्सो प्रत्यारोपण गर्नाका लागि सङ्क्रमणमुक्त शल्यक्रिया निर्माण गरिएको छ । उहाँले प्रत्यारोपण गर्न सजिलो र बचाउने गा¥हो पर्ने भएकाले सङ्क्रमणमुक्त शल्यक्रिया कक्ष निर्माण गरिएको अस्पतालका निर्देशक डा यादवले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्