Logo
|
Thursday 26th December 2024
Logo

epaper

अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति किन भयो ? राष्ट्रिय आरोग्य दिवस २०२१



जनस्वास्थ्य सरोकार, काठमाडौं । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सा पद्दति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आज धन्वन्तरी जयन्ती मनाइँदैछ ।

देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक हिन्दूशास्त्रमा गरिएको छ ।

आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । विसं १९७४ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरीजयन्ती मनाउन थालिएको थियो ।

त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा सञ्चालित आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ । आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा २०५६ सालदेखि धन्वन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको छ । हातमा वैदिक हिन्दूदर्शनका चार उपवेद् मध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका भगवान धन्वन्तरीलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।

धन्वन्तरी जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना विकास समिति, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाड., जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रम गरी मनाउने गरिन्छ ।

कार्तिक कृष्ण त्रयोदशीका दिन आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मीस्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ । धनतेरस समेत भनिने आजका दिन सुनचाँदीका गहना किनेर ल्याउने प्रचलन छ ।

यमपञ्चकको पहिलो दिनदेखि यमराजलाई प्रशन्न बनाउन घरमा परिवार सङ्ख्याअनुसार यम दीपदान गरिन्छ । यसरी दीपदान गर्नाले यम यातनाबाट मुक्त भइन्छ, भन्ने शास्त्रीय मान्यता रहेको छ ।

किन शुरु भयो धन्वन्तरी जयन्ती ?
मानव इतीहासमा विभिन्न समयमा विभिन्न किसिमका रोगहरुको उत्पत्ती हुँदै आएका छन् । ईसा पूर्र्व १३००० पहिले मानव र दानव बीच सहमति भै रोग निवारणको लागी अमृत खोज्नको लागि भनेर समुद्र मन्थन गर्ने निर्णय गरियो ।

मन्दराचल पर्वतलाई मदानी र वासुकी नागलाई डोरी बनाई गरिएको समुद्र मन्थनबाट अमृतको घडा सहित कार्तिक कृष्णपक्ष त्रयोदशीका दिन धन्वन्तरी प्रकट भए र यसै दिन कागतिहार पनि पर्दछ । धन्वन्तरी भगवान विष्णुको अवतार भएकाले उनलाई भगवान धन्न्तरी भन्ने गरिन्छ ।

भगबान धन्वन्तरीले कागको वाणिको रुपमा स्वास्थ्य प्रबर्धन हेतु तिन सन्देस दिए । हितभोग अर्थात स्वास्थ्यलाई हित हुनेकुरा मात्र खाने, ऋतुभोग अर्थात ऋतु अनुसार आहार गर्न र मितभोग अर्थात अड्कलेर खाने । यसरी उत्पत्ती भएका धान्वन्तरीले अश्वीनिकुमारलाई आयुर्वेदको ज्ञान दिए र पछि काशिका राजा दिवोदास धन्वन्तरीको रुपमा प्रख्यात भए । दिबोदास धन्वन्तरीलाई भगवान विष्णु वा धन्वन्तरीकै अवतारको रुपमा लिइन्छ । उनले आफुसँग रहेको ज्ञान शुश्रुतलाई दिए र पछि शुश्रुतले शुश्रुत संहिता लेखे ।

उक्त बखत शल्य चिकित्साको निकै नै विकास भयो र आजसम्म पनि शुश्रुतलाई आयुर्वेद तथा एलोप्याथीहरुले शल्य चिकित्साका पिता भनेर मान्दै आएको छ । यस समयमा शल्यक्रियाको क्षेत्रमा निकैनै प्रगति भएको थियो । यतिसम्म कि धन्वन्तरी भन्नाले शल्यशास्त्रीलाई बुझिन थालियो (धनुःशल्यंतश्यपारंइियती गच्छति ईती धन्वन्तरी अर्थात शल्यशास्त्रमा निपूर्ण ब्यक्तिलाई नै धन्वन्तरी भनिन्छ ।)

पछि रोगब्याधी बढ्न थाल्यो । सवै जनता रोगी हुन थाले भनेर चिन्ता बढ्दै गयो । सवै ऋषिमुनीहरुले हिमवत क्षेत्रमा ठूलो सभा गरे र निस्चित ब्यक्तिमा रहेको आयुर्वेदको ज्ञान सर्बत्र फैलाउन पर्यो भन्ने निर्णय गरि आत्रेय ऋषिलाई स्वर्गका राजा ईन्द्र कहाँ आयुर्वेद पढ्न पठाउने निर्णय गरियो । आत्रेय ऋषिले एल लाख श्लोक र एक हजार अध्याय भएको ब्रह्म संहिता पढेर ऋषिहरुसँग आए । पछि यती ठूलो ग्रन्थ पढ्न सबैलाई गाह्रो हुने बुभेर यस संहितालाई आठ भागमा बाँढियो र यसैलाई अष्टाङ्ग आयुर्वेद भनिन्छ ।

धेरै पछि भगवान गौतम बुद्धको समयमा काटमार नगर्ने अभियानका कारण शल्य चिकित्सा अलि पछाडि परेको देखिन्छ । आयुर्वेदको शुश्रुत संहिताको आधारमा नै पश्चिमाहरुले आधुनिक सर्जरीको विकास गरेका हुन भन्न सकिन्छ । नेपालमा पुर्व राष्ट्रपति रामवरण यादव स्वास्थ्य मन्त्री हँुदा धन्वन्तरी दिवसलाई राष्ट्रिय आरोग्य दिवसको रुपमा मनाउने निर्णय भएपश्चात यो नियमित रुपमा यो दिवस विभिन्न कार्यक्रमका साथ मनाउने गरिएको छ र आयुर्वेद क्षेत्रको महान दिवसको रुपमा रहि आएको छ ।

प्रतिक्रिया दिनुहोस्