Logo
|
Friday 29th March 2024
Logo

epaper

मधुमेहले अन्धोपनको समस्या बढ्दोः रोग पहिचान हुनासाथ नियमित आँखाको परीक्षण गराउन आग्रह



जनस्वास्थ्य सरोकार, काठमाडौं । मधुमेहले अन्धोपनको समस्या बढाइरहेकाले रोग पहिचान हुनासाथ डाक्टरको सल्लाह अनुसार नियमित आँखाको परीक्षण गराउन आग्रह गरिएको छ ।समयमै मधुमेह रोग र यसबाट हुनसक्ने असरहरुका बारेमा सचेत हुनसकेमा सम्भावित खतराबाट जोगिन मद्धत गर्ने तिलगंगा आँखा प्रतिष्ठानद्धारा आज आयोजित मधुमेहले आँखामा पार्ने असर सम्बन्धि सञ्चारकर्मीसँग भएको अन्तरक्रिया कार्यक्रममा चिकित्सकहरुले जानकारी दिनुभएको हो ।


मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको मधुमेहले आँखाको पर्दामा पूर्ण रुपमा क्षति पुर्याउने र दोश्रो प्रकारको मधुमेहले करिव २ तिहाई विरामीको आखाँको पर्दा (रेटिना) मा असर गर्ने उल्लेख गर्दै प्रतिष्ठानकी भिट्रो रेटिना स्पेशलिष्ट डा. रवा थापाले समयमा आँखाको जाँच गराउन आग्रह गर्नुभयो । मधुमेही बिरामीमा आँखाको पर्दामा असर गरेपनि लक्षण तत्कालै नदेखिने र आँखामा धेरै असर गरिसकेपछि मात्र रोगको बारेमा थाहा हुने उल्लेख गर्दै उहाँले उपचारको पहुँचमा ढिलो गरेमा दृष्टि फर्काउन गाह्रो हुने बताउनुभयो ।

मधुमेहले आँखाको पर्दाको रक्तकोशिकाहरुमा असर गरी पर्दाको रक्तसञ्चारमा प्रभाव पार्ने र दृष्टि कमजोर हुने डा. थापाले स्पष्ट पार्नुभयो ।
संसारमा कुल अन्धोपना मध्ये ४ दशमलव ८ प्रतिशत अन्धोपना डायवेटिक रेटिनोपेथीको कारणले हुने गरेको पाइएको छ । मधुमेहको आँखामा असर “डायवेटिक रेटिनोपेथी” सम्बन्धि जनचेतना जगाउन सन् २०१४ देखि विश्व मधुमेह दिवसका अवसरमा तिलगंगा आँखा प्रतिष्ठानले “डायवेटिक रेटिनोपेथी दिवस” मनाउदै आएको र विगत १५ वर्षदेखि साताव्यापी जनचेतना कार्यक्रम गर्दैै आएको छ । हरेक वर्ष नोभेम्बर १४ मा विश्व डायवेटिम रेटिनोप्याथी दिवस मनाउने गरिएको छ ।


मधुमेह सेवाको पहुँच : अहिले नभए कहिले ? भन्ने २०२१ को मुल भाव अनुरुप तिलगंगा आँखा प्रतिष्ठानले कार्तिक २८ देखि मङ्गिसर ४ गते सम्म मधुमेहको आँखामा असर सम्बन्धी सचेतना सप्ताहका रुपमा विशेष कार्यक्रमका साथ मनाएको छ । यस अन्तर्गत मधुमेहको आँखामा असर सम्बन्धि जनचेतना फैलाउन अस्पतालको हाताभित्र जानकारीमूलक विभिन्न सामाग्रीहरु वितरण गरिएको छ । यसका साथै आमसञ्चारका विभिन्न माध्यम रेडियो, टेलिभिजन तथा सामाजिक सञ्जालको माध्यमबाट सामाग्रीहरु प्रचार प्रसार गरिएको छ ।

साताभरि प्रतिष्ठान लगायत प्रतिष्ठानको शाखा सामुदायिक आँखा अस्पताल र आँखा केन्द्रहरुमा मधुमेहका बिरामीलाई निःशुल्क उपचार सेवा प्रदान गरिएको छ । जसमध्ये ९९ जनाले निःशुल्क परिक्षण र १५ जनाले विशेष उपचार (लेजर थेरापी र अभाष्टिन इन्जेक्सन) सेवा लिएको प्रतिष्ठानका कार्यक्रम निर्देशक नविन राइले जानकारी गराउनुभयो ।


अन्तराष्ट्रिय मधुमेह संघका अनुसार संसारभर ४६ करोड ३० लाख मानिस मधुमेह बाट ग्रसित छन् । अन्धोपना, खुट्टा काट्नुपर्ने अवस्था, हृदय रोग, मृगौलाले काम नगर्ने अवस्था र असामायिक निधनको प्रमुख कारणको रुपमा मधुमेह देखिएको छ । हरेक तीन मध्य एकजना मधुमेहका बिरामीमा आफ्नो जिवनकालमा कुनै न कुनै प्रकारले दृष्टी मा क्षति ब्यहोर्नुपर्ने हुन्छ । मधुमेह लागेका ब्यक्तिमा हृदय रोगको जोखिम सामान्य मानिसमा भन्दा तिनगुना बढी हुन्छ । मृगौलाले काम नगर्ने जोखिम मधुमेहका विरामीमा १० गुना बढी हुन्छ । संसारभर प्रत्यक ३० सेकेन्डमा कुनै एक मधुमेही व्यक्तिले आफ्नो खुट्टा गुमाई रहेका छन् । प्रत्येक दुई मध्ये एक वयस्कमा मधुमेह रोगको निदान भएको छैन ।


मधुमेह रोग आफैमा जति सम्वेदनशिल छ यो रोगको दुरगामी असर न्यूनिकरणका लागि धेरै पहल गर्न सकिने प्रतिष्ठानले जनाएको छ । खासगरी दोश्रो प्रकारको मेधुमेह, सन्तुलित आहार, नियमित व्यायाम, नियमित स्वास्थ्य परिक्षण, तनाव व्यवस्थापन र औषधोउपचारका माध्यमबाट सजिलै ५०५ भन्दा बढिमा रोकथाम गर्न सकिने डा. थापाले जानकारी गराउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्