Logo
|
Friday 26th April 2024
Logo

epaper

जो क्याथ मै रमाउन चाहन्छन्



डा.चन्द्रमणि अधिकारी विगत दुई वर्षदेखि शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक हुनुहुन्छ । भारतबाट इन्टरभेन्सनल कार्डियोलोजी (एन्जिओप्लाष्टी) मा तालिम सकेपछि केन्द्रमा १५ वर्षदेखि निरन्तर बिरामीको सेवामा समर्पित हुनुहुन्छ उहाँ । डा.अधिकारीले नेपाल सरकारको छात्रबृत्तिमा सन् २००३ मा चीनको सनयात्सेन युनिभर्सिटीबाट एमबीबीएस पूरा गर्नुभएको थियो । चीन सरकारले प्रदान गरेको छात्रबृत्तिमा सन् २००६ मा सोही युनिभर्सिटीबाट उहाँले कार्डियोलोजीमा एमडी गर्नुभयो । हालै डा. अधिकारीलाई मृगेन्द्र सम्झना मेडिकल ट्रष्टबाट योङ इन्भेष्टिगेसन अवार्ग प्रदान गरिएको छ । आउनुस् जानौं डा. अधिकारीको करियर कथा उहाँको आफ्नै शव्दमा ।

संघर्ष
शुरुका दिनमा कतिपय मान्छेहरुले ‘यो डाक्टर हो’ भनेर पत्याउँदैन थे । बीचमा निकै मिहिनेत गर्नुपर्यो र धेरै सिकियो पनि ।

आत्मविश्वास
पाँच वर्ष अगाडि केन्द्रमा आमाको सफल एन्जिओप्लाष्टी गरेको थिएँ । त्यसपछि आत्मविश्वास बढ्दै गयो । हाल धेरैको मुटुको सफल एन्जिओप्लाष्टि र एन्जिओग्राफी गरिरहेको छु । एन्जिओप्लाष्टि गर्न शुरु गरेको सन् २०१४ देखि हो जुनबेला मुलुकमा धेरै एन्जिओप्लाष्टि हुँदैनथ्यो । म लगायत मेरो टिमले एक दिनमा ५० वटासम्म एन्जिओप्लाष्टि, एन्जिओग्राम, डिभाइस क्लोजर, पिटिएमसीलगायतका प्रोस्युजरहरु गरेको छ । हाल हृदयघात भएका व्यक्तिहरुको प्रति महिना २ सयभन्दा बढीको एन्जिओप्लाष्टि गर्दछौं । केन्द्रमा प्रतिदिन ६—७ वटा ओपन हार्ट सर्जरी हुने गर्छ ।

हरेक महिना केन्द्रमा करिब १२ देखि १३ हजार बिरामी मुटु जाँच गराउन आउँछन् । आकस्मिक सेवा लिनेहरुको संख्या प्रति महिना १८ सयको हाराहारीमा छ । त्यसमा अधिकांश हृदयघातका बिरामी रहेका छन् । साथै मुटु फेलियर, मुटुको चालमा गडबडी, उच्चरक्तचापका बिरामीहरु पनि आकस्मिक सेवा लिन आइपुग्छन् ।

व्यवस्थापन
म काठमाडौंभित्र प्राइभेट प्राक्टिस गर्दिनँ । केन्द्रमा मात्र काम गर्ने भएकाले बिहानदेखि बेलुकासम्म कार्यालयको काम क्वार्टरमा बसेर पनि गरिरहेको हुन्छु ।

क्याथ ल्याबमा बिरामीको अवस्था नियाल्दै डा. चन्द्रमणि शर्मा

रुचि
कहिलेकाँही केन्द्र क्वार्टर, क्वार्टर केन्द्र गर्दा पट्यार त लाग्दैन भन्ने प्रश्न पनि आउने गर्छ । तर काममा रमाउन खोज्यो भने त्यस्तो अनुभव हुने रहेनछ । मलाई त बिहानदेखि बेलुकासम्म अप्रेसन गरिरहन पाएहुन्थ्यो जस्तो लाग्छ । क्याथल्याबमा बिरामीको उपचार गर्न निकै मजा आउँछ जुन ठाउँमा एन्जिओग्राम, एन्जिओप्लाष्टि एएसडी डिभाइस क्लोजर गरिन्छ । बेलुका ७—८ बजेसम्म काम गर्न पनि पछि हट्दिन । यो मेरो रुचि हो ।

तारिफको ओइरो
केही वर्षअघि ४८ घण्टाभित्र ५५ जनाको छाति नचिरी मुटुको प्वाल टाल्ने विधि एएसडी डिभाइस क्लोजर गर्न हाम्रो टिम सफल भएको थियो । त्यो बेला एकजना चर्चित भारतीय विज्ञ आउनुभएको थियो । अहिले पनि विदेशमा हुने डिभाइस क्लोजरसम्बन्धि कुनै सम्मेलनमा जाँदा यसको धेरै तारिफ हुने गर्छ । अहिले केन्द्रमा वर्षमा ४ सयदेखि ५ सयसम्मको हाराहारीमा डिभाइस क्लोजरसम्बन्धि शल्यक्रिया हुने गर्छ ।

दक्षिण एसियामा यति धेरै डिभाइस क्लोजरसम्बन्धि शल्यक्रिया हुने भारतमा एक दुई ठाउँमा मात्र छ । १५ वर्ष मुनिका सबै नेपालीलाई निःशुल्क छ । यो संसारकै सबैभन्दा सस्तोमा सेवा उपलब्ध गराइएको छ ।


महसुस
बढ्दो मुटुसम्बन्धि समस्या रोकथाममा हाम्रो काम गराइ कम हो कि भन्ने लाग्छ । हाम्रो सिस्टमले पनि नयाँ तरिकाले सोच्नुपर्ने अवस्था छ । विद्यालय, कलेज अध्ययन गर्ने विद्यार्थीलगायत सबैलाई ‘चुरोट खैनि सेवन गर्न हुँदैन, शारीरिक अभ्यास गर्नुपर्ने’ जस्ता कुरा थाहा छ । तर धेरैले यसलाई आफ्नो जीवनसँग मिलाउन सकिरहेका छैनन् ।

क्याथ ल्याबबाट निस्किएपछि डा. चन्द्रमणि शर्मा

कोरोना कालमा दोब्बर
हृदयघात भएर आएका बिरामीहरुलाई प्राइमरी एन्जिओप्लाष्टि गरी शत्प्रतिशत बन्द भएको मुटुको नसा खोलिन्छ । यो आकस्मिक शल्यक्रियामा पर्छ । यो सेवा कोरोनाकालमा पनि कहिल्यै रोकेनौं ।

विगतको तुलनामा कोरोनाकालमा दोब्बर बिरामी बढेका छन् । विगतमा ३० जनाको हाराहारीमा हुने प्राइमरी एन्जिओप्लाष्टि कोरोनाकालमा ४० देखि ६० वटासम्म भइरहेको छ ।

सहजीकरण
केन्द्रमा अनलाइनबाट टिकट बुकिङ गर्ने सिस्टम छ । अनलाइन टिकटिङ सिस्टममा अघिल्लो दिनमा नै टिकट बुकिङ गर्न सकिन्छ । टिकट बुकिङ गरेका बिरामीहरु समयमा आइदिदैनन् ।

आत्मनिर्भरताको कुरा
केन्द्रलाई भवन, इन्फाइस्ट्रक्चरका लागि पूँजीगत अनुदान नेपाल सरकारले उपलब्ध गराउँछ । सरकारले १५ वर्ष मुनिका बालबालिका र ७५ वर्ष माथिका बृद्धबृद्धा र मुटुको भल्भको सर्जरी निःशुल्क गरेको छ । विपन्न वर्गलाई दिएको सुविधालगायतको रकम सरकारले व्यहोर्छ । तर कर्मचारीको तलब भत्ता आफैं कमाउँछौं । केन्द्रको ओपिडीमा आइपुगेका कुनै पनि बिरामी फर्केर जानुपर्दैन ।

चिकित्सा सेवाको चक्र
परिवारमा म एक्लो मेडिकल डाक्टर हो । मेरो धेरै महत्वकांक्षा छैन । ओपिडी हेर्ने, क्याथमा काम गर्ने र अनुसन्धानमा धेरै समय बित्छ । अहिले कार्यकारी निर्देशक भएकाले कार्यालयको काममा पनि व्यस्त हुनुपर्छ । शल्यक्रिया गर्दा कम्लिकेसन भएर सोचेजस्तो प्रतिफल नआउँदा निराश लाग्छ । तर यस्ता कुराहरु बिर्सदै पुनः बिरामीहरुको सेवामा समर्पित हुनुपर्ने रहेछ । यसरी नै चिकित्साको सेवाको चक्र चलिरहेको हुन्छ ।

अब्बल डाक्टर बन्ने आधार
सम्बन्धित विधामा ज्ञानको जरुरत पर्छ । बिरामीको मर्का र पीडा राम्रोसँग सुनिदिनुपर्छ । समय दिएर बिरामीको रोग पहिचान गर्नुपर्छ । बिरामीबाट फाइदा लिने चेष्टा गर्न हुँदैन ।

म बिरामी भएर कुनै एउटा डाक्टरकोमा जाँदा ‘त्यो डाक्टरले मलाई जसरी उपचार गरोस् भन्ने चाहन्छु’ त्यसरी नै एउटा बिरामीलाई उपचार गर्न सकेमा सफल डाक्टर बन्न त्यति नै काफी हुन्छ ।

चाहना
जन्म पछिको अर्को सत्य मृत्यु हो । डाक्टरको काम आयुलाई लम्व्याउने र रोगको छटपटीलाई कम गराउने हो । आगामी दिनहरुमा नेपालमा नभएका मुटु रोगको उपचार प्रविधि शुरु गर्ने चाहना छ । आफूले सिकेका सीप नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जाने अभियानमा छु । भविष्यको कल्पना गर्दिन तर वर्तमानमा रमाएर सेवा उपलब्ध गराइरहेको छु । अहिले ४४ वर्षको भएँ । २०७६ साल पुस ९ गते कार्यकारी निर्देशक भएको हो । कोरोनाको विषम परिस्थितिलाई छिचोल्न सफल भएका छौं ।

प्रतिक्रिया दिनुहोस्