Logo
|
Friday 29th March 2024
Logo

epaper

हृदयघातले झुक्याउला है !



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल आयुर्वेद चिकित्सक संघका पूर्व अध्यक्ष डा. ऋषि राम कोइरालाको गत भदौ २०७८ मा ६५ वर्षको उमेरमा हृदयघातबाट निधन भयो । यसैगरी गत भदौमा ४० वर्षका बलिउड कलाकार सिद्धार्थ शुक्लाको हृदयघातका कारण ज्यान गयो । बिग बोस–१३ का विजेतासमेत रहेका शुक्लाले सुत्नुअघि औषधि सेवन गरेका थिए । त्यसपछि उनी उठेनन् । बाँकेका पत्रकार मोविनुद्दिन सिद्धिकीको असार २०७८ मा हृदयघातबाट ज्यान गयो भने लामो समयदेखि कुवेतमा बस्दै आएका प्युठानका ३६ वर्षका पत्रकार माधव शाहीको असोज २०७८ मा कुवेतमा हृदयघातबाट निधन भयो ।


नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष तथा विश्व बुद्धिचाल महासंघ (फिडे)का इथिक्स कमिटी सदस्य राजेशहरि जोशी ६५ वर्षको उमेरमा असार २०७८ मा हृदयघातका कारण परलोक भए । नेपाली कांग्रेस ओखलढुंगाका नेता मित्रसेन दाहालको हृदयघातबाट फागुन २०७७ मा ज्यान गयो । अस्ट्रेलियाका पूर्व क्रिकेटर डीन जोन्स ५९ वर्षको उमेरमा हृदयघातबाट भारतको मुम्बईमा मरे । पूर्व प्रधानन्यायाधीश केदार प्रसाद गिरीको २०७५ साल मंसिरमा हृदयघातबाट निधन भएको थियो । तेलेगु सिनेमाका चर्चित अभिनेता तथा हाँस्यप्रधान खलनायक जयप्रकाश रेड्डीको ७४ वर्षको उमेरमा मुम्बइमा हृदयघातबाट ज्यान गुमाए । ६० वर्षीय अर्जेन्टिनी फुटबल स्टारको ‘हृदयघातबाट असोज २०७७ मा ज्यान गएको थियो । यसैगरी भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा हृदयघातबाट निधन भएको थियो । यसरी धेरैले एकपछि अर्कोगरी हृदयघातबाट ज्यान गुमाइरहेका छन् ।


हृदयघातका कारण कसैको तुरुन्तै मृत्यु हुन्छ भने कतिपयलाई आफूमा हृदयघात भएको थाहा नहुनसक्छ । यद्यपी हृदयघातमा मुटुको कुन भागको नशा ब्लक भयो ? र, त्यसले कति भागलाई प्रभाव पारेको छ ? भन्ने विषयले अत्यन्त महत्व राख्छ । मुटुको कुन र कति भाग क्षति भएको छ ? भन्ने कुराले व्यक्तिको गम्भिरताको निक्र्योल गर्छ । यसरी मुटुरोग सम्बन्धि समस्या संसारभर एक विकराल समस्याको रुपमा स्थापित भएको देखिन्छ ।

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार, नेपालमा सन् २०१८ मा कोरोनरी मुटु रोगबाट ३४ हजार १६७ जनाको मृत्यु भएको थियो जुन नेपालमा कुल मृत्युको २०.५३ प्रतिशत हुन आउँछ । विश्वको सन्दर्भमा नेपाल कोरोनरी मुटु रोगमा ३८ औं स्थानमा रहेको पुष्टि गरेको छ ।

हृदयघात कस्तो रोग हो ?
शारीरिक संरचनाअनुरुप मुटुमा अक्सिजन आपूर्ति गर्ने विभिन्न नशा/धमनी अवरुद्ध भएर निम्त्याउने नतिजा हृदयघात हो । यसबाट मुटुका मांसपेशी अक्सिजन नपाएर क्रमशः मर्न थाल्छन् । हृदयघातको कुनै निश्चित समय हुदैन । जुनसुकै समयमा वा स्थानमा पनि हुनसक्छ । तसर्थ हृदयघात भएका बिरामी र बिरामीसँगै रहेका व्यक्ति निकै नै सजग हुनुपर्छ ।
लक्षण
मधुमेहीहरुलाई लक्षण बिना नै हृदयघात हुने गरेको पाइन्छ । तर, अन्य व्यक्तिको हकमा भने त्यसो भएको देखिदैन । उनीहरुमध्ये केहिमा विशेषगरी छाती दुःख्ने हुन्छ भने कतिपयमा छातिको दुःखाई महशुस नभईकन नै कम्तिमा दश मिनेटजति सास फेर्न गाह«ो भएको महशुस हुने र मुटु भारी भएको जस्तो लाग्छ । र, सो दुखाई क्रमशः सर्दैगई घाँटीसम्म आउने र व्यक्तिलाई घाँटी समातेको जस्तो लाग्छ । यस्तो दुखाई

प्रायजसोः छातीको बीचभागमा भएपनि कहिलेकाहिँ त्यसको तोडले दायाँ वा बायाँ पनि दुःखाईको महशुस हुने गर्छ । सो दुखाईले पछिल्लो भागमा समेत असर गर्ने र कसैको भने बायाँपट्टि भित्री भाग हुँदै दुःखाई सर्दै गएको महशुस हुनसक्छ । यसबाहेक केहि व्यक्तिमा भने औँला दुःखाईको मात्रै महशुस हुने र मुटुको धड्कनमा अनियमितता आउने समेत सम्भावना रहन्छ ।

कसलाई हुन्छ हृदयघात ?
बढ्दो उमेर
५०–६० वर्ष कटेपछि विशेषगरि पुरुषहरुमा हृदयघात हुने सम्भावना उच्च रहन्छ । अस्वस्थ्यकर जीवनशैलीका कारण पछिल्लो समय युवाहरु यसको शिकार बन्न पुगेका छन् ।
तनाव
वर्तमान समयको व्यस्त जीवनशैलीमा अधिकांश व्यक्तिहरु तनावसहितको जीवनयापन गर्दै आएका छन् जुन हृदयघातको घातक पक्ष हो ।
धुम्रपान
धुम्रपानले मुटुका नशामा गहिरो असर पु¥याउने भएकाले हृदयघातको जोखिम बढाउँछ ।

शारीरिक निस्क्रियता
अधिकांश व्यक्ति आफ्नो सारा जीवन एकै ठाउँमा स्थिर रुपमा बसेर मात्रै समय व्यतीत गर्ने बहाना पाइरहेका छौ । यति हुदाँहुदैँ पनि कतिपयले शारीरिक व्यायामलाई समेत बेवास्ता गरिरहेका छन् । तर, हाम्रो यस्तो निस्क्रियपनले उल्टै मुटुरोग समस्या निम्त्याइरहेको हुन्छ ।

मोटोपन
विशेषगरी एसिया राष्ट्रका व्यक्तिहरु शरीरका अन्य भाग हेर्दा फिट देखिए पनि उनीहरुको पेट बाहिर निस्केको पाइन्छ । यस्तै शरीरको उचाई अनुरुप अधिकांशको तौल बढि नै हुन्छ । यस्ता व्यक्तिहरुमा पनि हृदयघातको जोखिम उच्च रहन्छ ।

आणुवंशिक
परिवारका कुनैपनि सदस्यलाई हृदयघात भएमा घरका अन्य व्यक्तिमा पनि आणुवंशिक रुपमा देखापर्नसक्छ ।त्यसैले घरमा मुटुसम्बन्धि समस्या भएका अन्य सदस्यले पनि समय–समयमा आफ्नो स्वास्थ्य परीक्षण गराइ रहनुपर्छ ।

अन्य जोखिम
उच्च रक्तचाप, मधुमेह तथा उच्च कोलेस्टोर भएका व्यक्तिहरुमा पनि हृदयघातको जोखिम उत्तिकै रहन्छ ।

हृदयघातको पहिचान
अधिकांश केशमा एन्जाइटीका लक्षण पनि हृदयघातका लक्षणसँग मिल्दोजुल्दो हुने भएकाले व्यक्तिहरु झुक्किने गर्छन् । तसर्थ छातिको भागमा दुखाई भएका व्यक्तिहरुले इसिजी गराउनुपर्छ । यस्तै, ‘रिक्स फ्याक्टर’ को माध्यमबाट पनि आफुमा हृदयघातको सम्भावना अनुमान गर्न सकिन्छ । हृदयघात पहिचान गर्न सकिने माध्यम रक्त परीक्षण पनि हो ।
उपचार प्रकृया
औषधि सेवन
हृदयघात भएका व्यक्तिलाई उपचार प्रकृया स्वरुप पहिलो चरणमा औषधि दिइन्छ । यद्यपि औषधिले नै समस्याको निदान हुनसक्ने सम्भावना भने निकै कम रहन्छ ।
कोरोनरी हाइड्रोप्लाष्टि
कोरोनरी हाइड्रोप्लाष्टि भन्नाले मुटुमा रगतको क्लटका कारण ब्लक भएर बसेको धमनीलाई एउटा तारको सहायताले खोलेर जाली राख्ने प्रकृया भन्ने बुझिन्छ । र, तुनात्मक रुपमा यसलाई औषधि सेवनभन्दा प्रभावकारी प्रकृया मानिन्छ ।
बाइपास सर्जरी
मधुमेह, रक्तचाप तथा कोलेस्टेरोजजस्ता रोगले पहिल्यै ग्रसित व्यक्तिहरुको कतिपय घटनामा मुटुका अधिकांश नशाहरु ड्यामेज भइसकेका हुन्छन् । तसर्थ त्यस्तो अवस्थामा भने व्यक्तिको बाइपास सर्जरी गरिन्छ ।
पेसमेकर वा सीआरटी
मुटुको चालमा अनियमिता देखिएको खण्डमा व्यक्तिमा गरिने उपचार भनेको पेसमेकर अथवा सीआरटी हो । माथि उल्लेखित प्रक्रिया हृदयघात भएको ८ घण्टाभित्रै मुटुको अन्य भागहरु ड्यामेज हुनु अगावै अथवा अन्य भागहरु मर्नु अगावै गरिएमा उपचारको प्रभावकारिता बढि रहन्छ । अन्यथा समयमै उपचारको अभावमा व्यक्तिको मुटुको धड्कनको गतिमा कमी आई क्रमशः मुटुको केहि भाग चल्न छाड्छ । जसबाट शरीरमा जति मात्रामा मुटुले रक्तप्रवाह गर्नुपर्ने हो त्यत्ति मात्रामा गर्न सक्दैन र परिणाम स्वरुप ‘हार्ट फेल’ सम्म हुनसक्छ । साथै व्यक्तिको ज्यान जानसक्ने सम्भावना उच्च रहन्छ ।

सतर्कता
हृदयघातको सम्भावना बढि भएका व्यक्ति, विशेषगरी मधुमेह, उच्च रक्तचाप तथा कोलेस्टेरोलजस्ता दीर्घरोग र पहिले पनि शिकार भइसकेका व्यक्तिहरुले आफूमा भएको असहजताको महसुसलाई ध्यानमा राखेर सदैव सर्तक रहनुपर्दछ । यस्ता व्यक्तिले साथमा सकेसम्म ‘एस्प्रिन’ अथवा ‘डिस्प्रिन’ औषधि छुटाउन हुँदैन । र, आफूलाई हृदयघात हुने सम्भावना देखिएमा दुई चक्की सो औषधि चपाएर निल्नुपर्छ । त्यसपश्चात् तुरुन्तै नजिकको अस्पताल गएर ‘ईसिजी) गराउनुपर्छ ।
सहयोग
यदि कुनै व्यक्तिलाई हृदयघात भएमा अर्को व्यक्तिले तुरुन्त एम्बुलेन्सलाई खबर गरेर बिरामीलाई ‘एसप्रिन र डिस्प्रिन’ का दुईवटा चक्की चपाएर खान दिनुपर्छ । सम्भव भएसम्म एम्बुलेन्स नआउन्जेल बिरामीलाई अक्सिजन दिएर राख्नुपर्छ ।

रोकथाम
हृदयघातबाट बच्ने उत्तम उपाय मुटु स्वस्थ्य राख्नु हो । यसका लागि स्वस्थ खाना तथा सक्रिय जीवनशैलीलाई अवलम्बन गर्दै धुम्रपान तथा मद्यपानजस्ता घातक पदार्थको सेवन त्याग्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्