Logo
|
Tuesday 28th January 2025
Logo

epaper

कोरोनाको घातक भेरिएन्ट ‘ओमिक्रोन’ भारतमा फेला परेपछि नेपालमा त्रास, आवतजावत गर्न विभिन्न देशले प्रतिबन्ध लगाउन थाले



जनस्वास्थ्य सरोकार, काठमाडौँ । तीब्र संक्रामक र घातक मानिएको ‘ओमिक्रोन भेरिएन्ट’ भारतमा फेला परेपछि नेपाल पनि उच्च जोखिममा परेको छ । मुलुकको खुला सिमाका कारण यो कोरानाको घातक भेरियन्टले हाम्रो देशमा पनि त्रास बढाएको हो ।

ओमिक्रोन’ पहिलोपटक २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । बोट्स्वाना, बेल्जियम, हङकङ, इजरायल, जर्मनी, क्यानडा, रुस, अमेरिका र अन्य युरोपियन देशहरूमा यो भाइरस फैलिइरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाको यो नयाँ भेरियन्ट ‘ओमिक्रोन’ युरोप र अमेरिकामा तीव्र फैलिँदै गइरहेको जनाएको छ । हालसम्मकै छिटो फैलिने अनुमान गरिएको यो नयाँ भेरियन्टले पुनः महामारीको रूप लिने डब्लुएचओले संकेत गरेको छ । छोटो समयमा तीव्र फैलिइरहेको नयाँ भेरियन्ट उच्च संक्रामक रहेको डब्लुएचओले उल्लेख गरेको छ ।

अफ्रिका, युरोप र अमेरिकामा गम्भीर संक्रमित र मृत्युदर बढाइरहेको ओमिक्रोन भेरियन्ट डेल्टा भेरियन्ट वर्गसँग सम्बन्धित रहेको स्वास्थ्य विज्ञहरू बताएका छन् ।

नयाँ भेरिएन्ट देखिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय हवाइ उडानको समीक्षा गर्न र नियन्त्रणका लागि कडाइ गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पनि पुनः हवाइ उडानमा कडाइ गर्नुपर्ने बताएका छन् ।

यो नयाँ भेरिएन्ट संक्रमण भएमा हाल प्रचलनमा रहेका कोरोना विरुद्धका खोपले समेत काम नगर्ने बताएपनि यसबारे थप अनुसन्धान भइरहेको छ । यो भेरियन्ट तीव्र फैलिन थालेपछि संक्रमण भेटिएका स्थानमा आवतजावत गर्न विभिन्न देशले प्रतिबन्ध लगाउन थालेका छन् । दक्षिण अफ्रिकामा नयाँ भेरियन्टमा खोज अनुसन्धान पूर्ण नहुन्जेलसम्म अमेरिका, क्यानडा, रसिया र अन्य युरोपियन देशहरूले आवतजावतमा प्रतिबन्ध लगाएका छन् । अस्ट्रेलियाले शनिबारदेखि दक्षिण अफ्रिकालगायतका आठ देशमा १४ दिनसम्म आवतजावतमा रोक लगाएको छ । जापानले शनिबारदेखि संक्रमण फैलिएका देशबाट आएकालाई १० दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरेको छ ।

भारतले अमेरिका, युरोप र अफ्रिकाबाट आउने यात्रुमा स्क्रिनिङ र परीक्षणको दायरा बढाएको छ । क्यानडाले पछिल्लो १४ दिनमा दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्बे, बोत्सवाना, लेसोथो, इस्वाटिनी वा मोजाम्बिक हुँदै यात्रा गरेका सबै विदेशी नागरिकलाई प्रतिबन्ध लगाएको छ ।

विगतमा डेल्टा भेरियन्टले पनि निकै दुःख दिएको थियो । स्पाइक प्रोटिन (भाइरसको बाहिरको चुच्चो) लाई टार्गेट गरेर खोप बनाइएको छ । चीन र भारतको कोभ्याक्सिनबाहेक अन्य नेपालमा प्रयोग भएका खोप स्पाइक प्रोटिनलाई टार्गेट गरेर बनाइएको हो । यसले अत्यधिक मात्रामा स्वरूप परिवर्तन गर्दा हामीसँग उपलब्ध भएका खोपहरूलाई चुनौती दिन सक्छ । सामान्य रूपमा फैलियो भने डराउनुपर्दैन, तर तीव्र रूपमा फैलाउन थालेको भए फेरि सचेत हुने अवस्था आएको सरुवा रोग विज्ञ शेरबहादुर पुन बताउनुहुन्छ ।

कोभिडबाट हालसम्म विश्वभर ५० लाखभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसैले नयाँ भेरियन्टप्रति सचेत रहन आग्रह गरिएको छ । भेरियन्ट उच्च संक्रामक र पहिले संक्रमित भइसकेका व्यक्तिमा बढी जोखिम देखिएको भन्दै भेरियन्टबारे पर्याप्त अध्ययन नहुन्जेलसम्म सचेत रहन डब्लुएचओले चेतावनी दिएको छ । तर, नयाँ भेरियन्टले गम्भीर समस्या निम्त्याउने विषयमा हालसम्म कुनै प्रमाण भने फेला परेको छैन । अफ्रिकी वैज्ञानिकहरूले कतिपय संक्रमितमा कुनै पनि लक्षण नदेखिएको समेत बताएका छन् ।

चार दिनको अवधिमा अफ्रिका, अमेरिका र युरोपका अधिकांश देशमा फैलिइसकेका कारण नयाँ भेरियन्टको प्रकृति पहिचानमा जटिलता थपिँदै गएको विज्ञहरूले बताएका छन् । डब्लुएचओले एकपटक कोभिड संक्रमण भएका व्यक्तिमा ओमिक्रोनले बढी प्रभावित गर्न सक्ने जनाएको छ । यदि हाल प्रयोगमा आइरहेका भ्याक्सिन कम प्रभावकारी देखिएमा भेरियन्टको जोखिमबारे जान्न हप्तौँ लाग्न सक्नेसमेत डब्लुएचओले जनाएको छ । अध्ययनअनुसार ओमिक्रोन भेरियन्ट भाइरसको सतहको स्पाइक प्रोटिनमा ३० भन्दा बढी म्युटेसन भएको पाइएको छ । जब कि स्पाइक प्रोटिनहरूले शरीरको प्रतिरक्षालाई कमजोर बनाउने गर्छन् । भेरियन्टमा भएका मल्टिपल म्युटेसनका कारण कोभिडविरुद्धको भ्याक्सिनले समेत कम गर्न नसक्ने अनुमान गरिएको छ । जुन हालसम्मै सिभियर भेरियन्ट हुन सक्ने विज्ञहरूको अनुमान छ ।

नेपालले सबै देशमा आवतजावत खुला गरेकाले हाल अफ्रिकामा देखिएको नयाँ स्वरूपको ‘ओमिक्रोन’ भाइरस नेपालमा पनि सहजै प्रवेश गर्न सक्ने स्वास्थ्य अधिकारीहरू बताउँछन् । कार्यालयहरू सञ्चालनमा आएको, सामाजिक दूरी कायम नभएको, भिडभाड बढ्न थालेकाले नयाँ भाइरसको फैलन सक्ने चिकित्सकहरूको भनाइ छ ।

बेलायतले कोरोना संक्रमण धेरै भएका विभिन्न ६ वटा देशलाई रातोसूचीमा राखेको छ । दक्षिण अफ्रिका, नामिबिया, जिम्बाबे, बोत्सवाना, लेसोथो र इस्वातिनीलाई प्रतिबन्ध लगाएको हो । ती देशमा अस्थायी रूपमा उडानमा प्रतिबन्ध लगाएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीका अनुसार, नेपालमा ओमिक्रोन भेरिएन्ट पुष्टि भए दुःख दिन सक्छ । अधिकारीले भन्नुभयो— ‘हामीले नयाँ भेरिएन्ट पत्ता लगाउन निरन्तर जिन सिक्वेन्सिङ गरिरहेका छौँ । केही केन्द्रीय प्रयोगशाला र केही विश्व स्वास्थ्य संगठनको पहलमा बेलायत पठाएका छौँ,’ । विश्वव्यापी रूपमा भाइरसहरूले आफ्नो स्वरूप परिवर्तन गर्दै गइरहेको अवस्थामा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म डेल्टा प्लस, अल्फा, डेल्टा र कप्पा भेरिएन्ट पुष्टि भएको छ । नेपालमा डेल्टा भेरिएन्टले दोस्रो महामारी ल्याएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाले जिन सिक्वेन्सिङको प्रोसेसमा रहेको बताउनुभयो । जिन सिक्वेन्सिङ गर्न एक सय ५० नमुना बेलायतमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्