Logo
|
Friday 19th April 2024
Logo

epaper

एन्जिओग्राफीमा जब मेरो स्टेन्ट मिसप्लेस भयो…



म इन्टरनल मेडिसिन विशेषज्ञ हुँ । अहिले ७४ वर्षको भएँ । मेरो परिवारमा श्रीमति सविता पिया र तीन छोराहरु छन् । सरकारी सेवा छाडेर तनहुँको आबुखैरेनीमा आफ्नै क्लिनिकमा प्राक्टिस गर्दै आइरहेको छु । हरेक दिन तीस देखि पैतीस जना बिरामीको उपचारमा संलग्न हुने गर्छु । मैले लामो समय सरकारी सेवामा बिताएँ । बीर अस्पताल, भरतपुर अस्पताल लगायत थुप्रै सरकारी अस्पतालमा काम गरेको छु ।

डा. नारदकुमार (एन.के.) पियाका साथ उनकी श्रीमती सविता पिया


मलाई अन ओर्किङ चेष्ट बर्निङ सेन्सेसन (छाती पोल्ने) हुन्थ्यो । मुटुमा केही समस्या भएको शंका लागेर चितवनको एक अस्पतालमा चेकअपका लागि गएँ ।

इन्भेस्टिगेसनको क्रममा मुटुमा ब्लकेज देखियो । त्यसपछि मुटुको एन्जीयोग्राफी सर्जरी गरेर स्टेन्ट राखियो । तर केहि समयपछि समस्या झन बढ्न थाल्यो ।

त्यसपछि नर्भिक अस्पतालका डा. यादव भट्टसँग परामर्श लिएँ । स्टेन्ट गलत ठाउँमा राखेको रहेछ । उहाँले ‘डा. साब तपाईको बाइपास सर्जरीनै गर्नुपर्छ, एन्जियोग्राफी गर्दा स्टेन्ट राख्नुपर्ने ठाउँमा नराखेर अन्यन्त्र राखिएछ’ भन्नुभयो । फेरी ह्याम्स अस्पतालका डा. ज्योतिन्द्र शर्मासँग पनि कुरा गरेँ । उहाँले पनि बाइपास सर्जरी नै गर्नुपर्ने बताउनुभयो । उहाँले ‘इट्स इजी, डन्ट ओरी’ भनेर कन्भिन्स गराउनुभयो । उहाँकै नेतृत्वमा तीन महिना अघि ओपन हार्ट सर्जरी भयो । म अहिले एकदम फिट छु । उपचारमा संलग्न सबैस्वास्थ्यकर्मीलाई धन्यवाद भन्न चाहान्छु । म अझै १० वर्ष काम गर्न सक्छु जस्तो लागेको छ । शल्यक्रिया पछि म झनै फिट भएको छु । जेपनि गर्न सक्छु जस्तो लाग्छ ।


म डाक्टरलाई विश्वास गर्छु । सबै डाक्टरले पढ्ने किताब उही हो, तर कसले ध्यान दिन्छ कसले दिँदैन भन्ने मात्र हो । उपचारमा संलग्न चिकित्सकको लापरबाहीबाट म चिकित्सक स्वयं पीडित हुनपुगेँ । म जस्तै अन्य धेरै सर्वसाधारणहरु पनि पीडित भएको पाइएको छ । अहिले डाक्टरी प्रोफेसन पैसामा बिक्न थलेको छ । डाक्टरको ध्यान किताबी ज्ञान र सिपमा भन्दा पनि पैसामा बढी जान थाल्यो । सबै डाक्टरहरु जान्ने नै हुन्छन् । तर उनीहरुले आफ्नो ध्यान काममा लगाउन सकेनन् । यस्ता कुरा बिरामीको जीवनमरण सँग जोडिएको हुन्छ । प्राइभेट सेक्टरबाट डाक्टर पढाउनु नै गलत हो । प्लसटुमा मेरिट हुनुपर्छ । मेरिटवालालाई सरकारले पढाउनुपर्छ । जथाभावी डाक्टरी पढाई हुँदा यस्तो बिकृति आएको जस्तो लाग्छ ।


एकछिन बसेर कुरा गर्ने बित्तिकै डाक्टर कस्तो छ भने बुझिन्छ । डाक्टर खराब होइनन् । पैसाले यो पेसालाई खराब बनाइदियो । केहि डाक्टर पैसामा बिके । सबैले एउटै किताव पढेको कसरी उपचार फरक हुन्छ ? टु प्लस टु फोर नै हुन्छ नि । हरेक चिकित्सकले आफ्नो काममा ध्यान दिन जरुरी छ । ताकी भोलि यस्ता गल्ति नदोहोरियोस् ।


विरुवा रोपेर राम्रोसँग मलजल गरे त्यसबाट अवश्य फल मिल्छ । हामीले पहिले नै फल हेर्नुहुँदैन । राम्रो काम गर्नुभयो भने राम्रो फल पाउनुहुनेछ । यति कमाउछु उति कमाउछु भनेर पैसाको पछि नलाग्नुहोस् । आफ्नो कामबाट ध्यान नहटाउनुहोस् । यदि बिरामीलाई गुणस्तरिय उपचार सेवा दिन सक्यौँ भने बिरामीहरु खोजीखोजी आउँछन् । क्वान्टीटी होइन क्वालिटीमा ध्यान दिऔँ ।

मुटु स्वस्थ्य राख्न हामीले खानपानमा विशेष ध्यान दिनुपर्छ । धुमपान र मद्यपान जस्ता नशालुपदार्थ सेवन गर्नुहुँदैन । धेरै चिल्लो खानुहुँदैन । नियमित शारीरिक व्यायाम गर्नुपर्छ ।


मैले चिकित्साक्षेत्रमा झण्डै पाच दशक बिताइसकेको छु । पहिले र अहिलेको उपचार पद्धतीमा धेरै फरक आएको छ । अहिले नयाँ नयाँ टेक्नोलोजीहरु आविष्कार भएका छन । हामीले समयअनुसार आफूलाई अपडेट गराउदैँ जानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्