Logo
|
Thursday 25th April 2024
Logo

epaper

‘यात्रा प्रतिबन्ध ओमिक्रोन भेरियन्ट नियन्त्रणको उपाय होइन’- डब्लुएचओ



जनस्वास्थ्य सरोकार, जेनेभा । हालै अफ्रिकामा देखिएको भनिएको कोरोना भाइरसको ओमिक्रोन नामक भेरियन्टको नियन्त्रणका लागि यात्रा प्रतिबन्ध मात्र समाधान नभएको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।

कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै सङ्क्रमणको उच्च जोखिम बढाउने भन्दै चेतावनी यसअघि पनि विश्व स्वास्थ्य सङ्गठनले दिँदै आएको छ ।

तर यो भेरियन्ट अफ्रिकामा देखिएको भनेपछि सो भाइरसको नियन्त्रणका लागि विश्वका कतिपय देशहरूले अफ्रिकी देशहरूसँगको यात्रामा प्रतिबन्ध लगाएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले यो भेरियन्टले विश्वका केही क्षेत्रमा नराम्रो प्रकारले असर गर्न सक्ने र गम्भीर परिणामहरू निम्त्याउन सक्ने भन्दै यसबाट बच्नका लागि जन स्वास्थ्यका मापदण्डहरू अपनाउन बताउँदै आएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका निर्देशक टेड्रोस आधनाम गेब्राएससले यो नयाँ प्रजातिबाट बच्नका लागि पनि विश्वका देशहरूलाई स्वास्थ्यका मापदण्डहरू अपनाउन आग्रह गर्नुभएको हो ।

उहाँले गरिब देशहरूमा खोपको व्यवस्था गर्न, सबै नागरिकमा खोप सर्वसुलभ बनाउन पनि माग गर्नुभयो । यो नयाँ भेरियन्ट यसै महिनाको सुरुमा दक्षिण अफ्रिकामा पत्ता लागेको थियो । प्रारम्भिक प्रमाणहरूले यसको सङ्क्रमण जोखिम धेरै रहेको देखाएका थिए ।

उक्त भेरियन्ट पत्ता लागेको बारेमा तत्कालै सार्वजनिक गरिएको भनेर विश्व स्वास्थ्य सङ्गठनका निर्देशक गेब्रिएससले दक्षिण अफ्रिकाको प्रशंसा पनि गर्नुभएको थियो ।

उहाँको भनाई थियो कि नयाँ भेरियन्ट पत्ता लागेको कुरा समयमै दक्षिण अफ्रिकाले खबर गर्‍यो, समयमै भन्यो, तर उसलाई सहयोग गर्ने, धन्यवाद दिने काम गर्नुको सट्टा उसैलाई दण्डित गरेर यात्रा प्रतिबन्ध लगाइएको छ, यो राम्रो भएन ।सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्