ओहो ! मुटुको चालमा गडबडी
सामान्य त मुटुको धड्कन प्रतिमिनेट ६० देखि १ सय सम्म हुन्छ । सुतेको बेलामा मुटुको धड्कन घट्न सक्छ भने खेल खेल्दा वा ज्वरो आउँदा मुटुको धड्कन बढ्नसक्छ । यसलाई फिजियोलोजिकल धड्कन भनिन्छ । यस्तो अवस्थामा डराउनुपर्दैन । तर शरीरको आवश्यकता बिना नै मुटुको धड्कन बढ्ने वा घट्ने समस्यालाई प्याथोजेनिक मानिन्छ र यसको उपचारको आवश्यकता पर्दछ ।
जोखिम
शरीरको आवश्यकता विना नै मुटुको चाल १०० भन्दा बढी भएको अवस्थालाई ट्र्याकी एरेद्मीया भनिन्छ । ट्र्याकी एरेद्मीया पनि दुई किसिमको हुन्छ । एउटा मुटुको माथिल्लो कोठाबाट आएको र अर्को मुटुको तल्लो कोठाबाट आएको हुन्छ । मुटुको माथिल्लो भागबाट आएकोलाई सिप्रा भेन्ट्रिकुलर एरेद्मिया र मुटुको तल्लो भागबाट आएको समस्यालाई भेन्ट्रिकुलर एरेद्मिया भनिन्छ । मुटु चलाउन साइनस नोडले करेन्ट उत्पादन गर्न नसक्ने र उत्पादन भएको करेन्ट राम्रोसँग प्रवाह नभएमा मुटुको चाल कम हुन्छ । एबी नोडमा अवरोध भएमा मुटुको चाल कम हुने गर्छ । यो महत्वपूर्ण जंगसन हो यदि एबी नोडमा करेन्ट ब्लक भएमा माथिल्लो कोठाको करेन्ट तलको कोठामा जान पाउँदैन जसलाई हार्ट ब्लक भनिन्छ । यस्तो अवस्थामा मुटुको चाल एकदमै कम हुन्छ र ज्यान जाने खतरा समेत हुनसक्छ । जन्मजात (कन्जनाइटल हार्ट ब्लक), इन्फेक्सन, बुढेसकाल, हृदयघात आदिले मुटुको चालमा गडबडी ल्याउँछ ।
सामान्य रुपमा मुटुमा करेन्ट बग्ने बाटो बिराएर करेन्ट प्रवाह भएमा र मुटुमा अन्य तन्तुहरु सक्रिय भएर अनावश्यक करेन्ट उत्पादन भएमा मुटुको चाल बढी हुनसक्छ । मुटु ढुकढुक हुने,छाति दुख्ने, सास फेर्न गाह्रो, रिंगटा लागेर बेहोस हुन खोज्ने वा बेहोस हुने, बेहोस भएर ज्यान जानसक्नेमुटुको चाल गडबडीको संकेत हो ।
सडेन कार्डियाक डेथ
मुटु एक्कासी बन्द भएर मृत्यु हुने समस्यालाई सडेन कार्डियाक डेथ भनिन्छ । यस्तो अवस्थामा मुटुको धड्कन एक्कासी आवश्यकता भन्दा बढी हुन्छ र तत्काल उपचार नपाएमा ज्यान जाने निश्चित हुन्छ ।
सडेन कार्डियाक डेथमा मुटुको चाल अत्यधिक बढी हुन्छ । यस्तो अवस्थामा तुरुन्त सिपिआर (छाति थिचेर, स्वास प्रश्वासलाई हेल्प गरेर) गर्न नसकेको अवस्थामा बिरामीको तुरुन्त ज्यान जान्छ । सडेन कार्डियाक डेथ सिड्रोममा विकसित मुलुकमा समेत ९० प्रतिशत मानिसको मृत्यु हुने गर्दछ भने हाम्रो जस्तो मुलुकमा यो भन्दा पनि बढी हुने कुरा सहजै अनुमान गर्न सकिन्छ ।
त्यसैले हामीले यसको जोखिम वर्ग पहिचान गरी रोकथामको उपाय अपनाउनुपर्छ । तर मुटुको पम्प गर्ने क्षमता कस्ता मानिसमा यसको जोखिम बढी हुन्छ भन्ने कुरा अझसम्म पत्ता लागिसकेको छैन । तर मेडिकल साइन्सले पत्ता लगाइकेका केही जोखिम वर्गहरु छन् जुन हामीले थाहा पाउनुपर्ने हुन्छ । जस्तै—मुटुको पम्प गर्ने क्षमता कम भएमा, मुटु अत्यधिक मात्रामा सुन्निने भएमा, परिवारमा कसैको एक्कासी बिना कारण मृत्यु भएमा, मुटुको आइवन लेवलमा समस्या भएमा सडेक कार्डियाक डेथ हुनसक्छ ।
के गर्ने ?
एब्लिएसन
मुटुको कोठामा विभिन्न तारहरु राखेर मुटुको चाल बढी बनाउने तन्तुहरु कहाँ छन् ? भनेर पत्ता लगाउनुपर्छ , यसलाई इलेक्ट्रोफिजियोलोजिकल अध्ययन भनिन्छ । करेन्ट बग्ने चोर तन्तुलाई जलाएर निष्क्रिय बनाउने पद्धतिलाई एब्लेसन भनिन्छ । एब्लेसन पद्धतिको उपचारले धेरैजसो मुटुको गडबडीसम्बन्धि मुटुको समस्या दीर्घकालीन रुपमा समाधान हुन्छ ।
थ्री डी म्यापीङ मार्फत जटील प्रकारको मुटुको चालसम्बन्धि रोगको उपचार गरिन्छ । यसमा मुटुको थ्री डी बनावट तयार पारिन्छ र जस्तोजुकै कठीन र जटीलसम्बन्धि गडबडी पत्ता लगाउन मद्धत पुग्छ र उपचारमा सजिलो हुन्छ ।
पेसमेकर
मुटुको चाल कम भएको बेला व्याकअप दिएर मुटु चलाउने स्वचालित यन्त्रलाई पेशमेकर भनिन्छ । यो छातिको छालाभित्र राखिन्छ । मुटुको चाल ठीक भएको अवस्थामा पेशमेकर चुप लागेर बस्छ । यो एउटा तार या दुइटा तार दुई प्रकारको हुन्छ । कसलाई कस्तो राख्ने भन्नेमा विशेषज्ञको सल्लाह बमोजिम गर्नुपर्ने हुन्छ । छातिको छालाभित्र राखिने पेसमेकरको मूल्य एकदेखि डेढ लाखसम्म पर्छ ।
आई.सि.डी.
एक्कासी मृत्युको जोखिम भएका मानिसमा विशेष किसिमको पेशमेकर (आईसिडी) जडान गर्नुपर्छ । आईसिडीले मुटुको अनियमित चाललाई करेन्ट दिएर ठीक पारिदिन्छ । यसले अकस्मात हुने मृत्युबाट जोगाउँछ । यो यन्त्र नराख्दा २० जनामा १९ जनाको ज्यान जाने सम्भावना हुन्छ । तर यो यन्त्र राखेमा २० जनामा १९ जनाको ज्यान जोगिने सम्भावना हुन्छ । यसको उपचार ४ देखि ५ लाख रुपियाँसम्म पर्छ ।
सि.आर.टी.
मुटुको काम गर्ने शक्ति कम भई सास फेर्न गाह्रो हुने समस्या भएमा विशेष किसिमको पेसमेकर सि.आर.टी.राख्नुपर्ने हुन्छ । यो साधारण पेसमेकर जस्तै छातिको छालाभित्र राखिन्छ जसमा तीन वटा तार हुन्छन् । सि.आर.टी. पेसमेकर राखेपछि बिरामीको सास फेर्न गाह्रो हुने समस्यामा सुधार आउँछ र मुटुको काम गर्ने शक्तिमा पनि सुधार आउँछ । यसको खर्च करिब ४ देखि ५ लाख रुपियाँ पर्दछ । (डा. राउत ह्याम्स र हेल्दी हार्ट क्लिनिकमा मुटुको चाल गढबडी हुने समस्याको विशेषज्ञ हुनुहुन्छ । )