शल्यक्रिया गर्नुपर्ने मुटु रोग
मुटु शरीरको जटिल संरचनाबाट बनेको एउटा अंग हो । मुटुका सबै रोगमा शल्यक्रियाको जरुरत पर्दैन । मुटु रोगीका लागि औषधि सेवन र शल्यक्रिया भन्ने कुरा रोगको प्रकृतिमा निर्भर हुन्छ । तीन मिनेट भन्दा बढी मुटु नचलेको अवस्थामा मस्तिष्कमा रगत सञ्चालन नपुगेर मानिसको मृत्यू हुन्छ । मुटु सर्जनले मुटु शल्यक्रियाको दौरानमा मुटु बन्द गराएर बैकल्पिक मुटु र फोक्सोको काम गर्ने (हार्ट लङ) मेसिनमा राखेर मुटु र फोक्सोबाहेकका अन्य सबै अंगहरुमा रगत सञ्चार गराएर मुटुभित्र गर्नुपर्ने सबैकाम सकेपछि फेरि मुटु चलाउनुपर्छ । त्यसैले यसमा धेरै जटिलता जोडिएको छ । मन लगाएर काम गर्दा गाह्रो भन्दा गाह्रो अवस्थाका बिरामी बचाउन सकिन्छ । बिरामी बचाएको जस्तो आनन्द अरु केहीबाट पाउन सकिँदो रहेनछ । बाथ मुटुरोगको अवस्था भए, मुटुको रक्तनली बन्द भएर चाँडै पत्ता लागेमा औषधि सेवनले फाइदा गर्छ । तर रोग बढेर भल्भ नराम्ररी बिग्रिएमा, मुटुका रक्तनली ६०–७० प्रतिशत भन्दा बढी बन्द भएमा, हिँड्दा धेरै छाति दुखेकामा शल्यक्रिया या एन्जियोप्लास्टीको जरुरत पर्नसक्छ । जन्मजात मुटु रोगलाई शल्यक्रियाको जरुरत पर्छ ।
जन्मजात मुटुका साना साना प्वालहरु कतिपयको आफैं टालिनसक्छन् । नटालिएमा खासै समस्या दिएको छैन एवं फोक्सोको प्रेसर बढाएको छैन भने त्यसलाई शल्यक्रिया गरिरहन आवश्यक हुँदैन । मुख्यतया मुटुको भल्वको रोग, मुटुको रगतको नलीहरुमा अवरोध भएर हुने कोरोनरी आर्टरी डिजिजमा वाइपास सर्जरी र बच्चाहरुमा जन्मजात हुने रोग कन्जिनाइटल हार्ट डिजिजमा शल्यक्रियाको जरुरत पर्छ ।
मुटुको भल्व
मुटुमा चार वटा भल्व हुन्छन् । मुटुको देब्र भागमा २ वटा र दाहिनेतिर २ वटा भल्व हुन्छन् । मुटुको भल्वको शल्यक्रिया मुख्यतया ¥यूम्याटिक र डि—जेनेरेटिभ गरी दुई प्रकारका हुन्छन् । वाथ ज्वोरोले भल्व बिग्रिएर हुने समस्या ¥यूम्याटिक हो र यो प्रायःजसो युवा व्यक्तिलाई हुने गर्छ । उमेर सँगसँगै भाल्वहरु बिग्रिने समस्यालाई डि—जेनेरेटिभ भनिन्छ । जन्मजात पनि भल्भहरु बिग्रिएका हुनसक्छन् । साधारणतया ¥यूम्याटिक वा डि—जेनेरेटिभलगायत जुनसुकै मुटुको रोग भएपनि देब्रेतिरको माइट्रल र एओर्टिक भल्भ बढी बिग्रेको पाइन्छ । दाहिने भागको भल्वहरु खासै त्यति बिग्रिएका हुँदैनन् ।
र्युम्याटिक हार्ट डिजिज
बच्चामा बेटा हिमोलाइटिक स्ट्रप्टोकोक्कस नामक ब्याक्टेरियाले टन्सिलाईटिस हुँदा समयमै उपचार नगरेमा तथा चिकित्सकको परामर्शमा एन्टिबायोटिक नखाएमा बाथ ज्वरो तथा र्युम्याटिक भल्व डिजिज हुनसक्छ । उक्त ब्याक्टेरियालाई मुटुको भल्व अति नै मन पर्छ । त्यसले गर्दा देब्रेतिरको भल्वहरुमा संक्रमण गरेपछि भल्वहरु बिस्तारै साँघुरो हुने वा चुहिने समस्या देखिनसक्छ । यसरी भल्व बिग्रिँदैमा सबैलाई शल्यक्रियाको जरुरत पर्दैन । यदि बिग्रिसकेपछि पनि समयमै औषधि खाएमा रोकथाम गरेर लामो समयसम्म भल्व मर्मत नगरीकन नै बच्न सकिन्छ । तर हाम्रो देशमा सामान्य उपचार सुविधासमेत पर्याप्त नभएकाले धेरै बिरामीहरुको भल्व कि एकदमै साँघुरो भइसकेको हुन्छ वा चुहिने भइसकेको हुन्छ । यस्तो अवस्थामा फोक्सोको प्रेसर वढ्छ र मुटु तन्केर धेरै ठूलो आकारको हुन्छ ।
अलिकति हिँड्ने बित्तिकै स्याँ स्याँ हुने, हिँड्न गाह्रो हुने, गोडा सुन्निने, पेट सुन्निनेजस्ता समस्याहरु देखिनसक्छन् । यस किसिमको समस्या आउन अगावै शल्यक्रिया गरेमा राम्रो हुन्छ । शल्यक्रिया प्रक्रियामा भल्व कतिको साँघुरो छ, यसमा कति चुहिने समस्या छ, मुटु कति तन्किएको छ र बिरामीलाई कतिको गाह्रो छ जस्ता कुराहरुको समिश्रण हेरेर भल्व फेर्नुपर्छ ।
डि—जेनेरेटिभ हार्ट डिजिज
उमेरसँगै छाला चाउरी परेजस्तै मुटुका भल्वहरु पनि चाउरी पर्न थाल्छन् । भल्वमा क्याल्सियम जम्न थाल्छन् । यस्तो प्रक्रियामा प्रायजसो एओर्टिक भल्व साँघुरो हुने र माइट्रल चुहिने हुन्छ । चुहिने अवस्थामा भल्व मर्मत गर्नुपर्छ तर एओर्टिक भल्व प्राय फेर्नु नै पर्ने हुन्छ । एकदमै धेरै समस्याग्रस्त बिरामीहरुलाई आजकल शल्यक्रिया नै नगरी गोडाको रगतको नलीबाट एन्जिओग्राम गरेजस्तै एउटा भल्व पठाएर एओर्टिक भल्वमा अर्को भल्व राख्न सकिन्छ । यसलाई ट्रान्स एओर्टिक भल्व रिप्लसमेन्ट भनिन्छ । तर यो निकै खर्चिलो छ । नेपालमा यो प्रविधिबाट हालसम्म शल्यक्रिया भएको छैन । भारतमा पनि एकदुईवटा अस्पतालमा मात्र हुने गर्छ ।
इन्फेक्टिभ इन्डोकार्डाइटिस
किटाणु संक्रमणका कारण भल्वमा समस्या आउनसक्छ । यदि मुटुको भल्वमा संक्रमण भएमा बिरामीलाई ज्वरो आउने, भल्व पाक्ने, कुहिने, त्यहाँ याब्सेस (पिप जम्ने) जस्ता प्रक्रियालाई इन्फेक्टिभ इन्डोकार्डाइटिस भनिन्छ । लागू औषध प्रयोगकर्ताहरुमा मुटुको दाहिने भागको ट्राइकस्पिड भल्वमा समस्या देखिनसक्छ । अन्य रोगले बिग्रिसकेको भल्वमा इन्फेक्टिभ इन्डोकार्डाइटिस हुने संभावना रहन्छ । कसैमा ¥यूम्याटिक हार्ट डिजिजका कारण अलिकति भाग बिग्रिएको भएमा उसलाई संक्रमण हुने संभावना उच्च रहन्छ । डि—जेनेरेटिभ हार्ट डिजिजमा पनि भल्वमा समस्या आउने जोखिम धेरै हुन्छ । इन्फेक्टिभ इन्डोकार्डाईटिसबाट कहिलेकाँही व्यक्तिको ज्यानसमेत जानसक्छ । यस्तो समस्यामा कम्तिमा चारदेखि ६ हप्तासम्म रगतको नलीबाट एन्टिबायोटिक पठाएर उपचार गर्नुपर्छ । यस्तो समस्यामा भल्व मर्मत गर्ने वा फेर्नुपर्ने हुनसक्छ । ।
कोरोनरी आर्टरी बाइपास ग्राफ्ट सर्जरी
मुटुको रगतका नलीहरु साँघुरिएर हृदयघात हुने वा छाति दुःख्ने भएमा कोरोनरी आर्टरी डिजिज भनिन्छ । देब्रेतिर २ वटा र दाहिनेतिर एउटा गरी मुटुमा ३ वटा रगतका नली हुन्छन् । तीनवटा रगतका नलीमध्ये कुनै एकमा वा सबैमा अवरोध देखिएमा यस्तो खालको समस्या हुनसक्छ । कतिपय अवस्थामा औषधि खाएर पनि निको हुन्छ वा एन्जिओप्लास्टी गरेर पनि समाधान गर्न सकिन्छ । तर यी दुवै प्रभावहीन भएमा शल्यक्रिया गर्नुपर्छ । यसमा अवरोधको प्रकृति कस्तो छ ? भन्नेमा निर्भर हुन्छ । कतिवटा रगतका नलीमा अवरोध छन् ? कहाँ अवरोध छ ? व्यक्तिमा मधुमेह छ वा छैन ? व्यक्तिलाई पहिला हृदयघात भएको छ कि छैन ? उसको मुटुले कति काम गरिहेको छ ? जस्ता कुराले वाइपास सर्जरी गर्ने कि नगर्ने भन्ने कुराको निक्र्यौल गरिन्छ ।
मुटुको तीन वटा रगतका नली अवरोध भएमा मधुमेह भएका बिरामीहरुमा एन्जिओप्लास्टीको तुलनामा कोरोनरी आर्टरी वाईपास ग्राफ्ट सर्जरी (मुटुको रगतको नली वाइपास गरेर अर्को रगतको नली हाल्ने) निकै राम्रो मानिन्छ । यसमा छाति मुनी हुने रगतका नली, हातमा हुने रगतका नली र खुट्टामा हुने भेनहरु लगेर अवरोध भएको भागभन्दा मुनि जोडिन्छ र रक्तसञ्चारका लागि वैकल्पिक बाटो बनाइन्छ । यसले पछि हृदयघात, हिँड्दा स्याँ स्याँ, छाति दुख्ने जस्ता समस्याबाट मुक्ति मिल्छ । यस्तो अवस्थामा औषधि नियमित रुपमा खानुपर्छ र आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ । यो भत्केको पूलमा डायभर्सन हालेजस्तै हो ।
कहिलेकाँही पछि हालेको रगतको नलीमा पनि अवरोध आउनसक्छ । त्यसैले यसमा अवरोध आउन नदिन चिकित्सकले भनेका कुरामा ध्यान दिनुपर्छ । जस्तो—नियमित व्यायाम गर्ने, नियमित औषधि खाने, जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ । खानपानमा विचार गर्नुपर्छ । चुरोट सेवन गर्नहुँदैन । उच्चरक्तचाप र मधुमेहलाई नियन्त्रणमा राख्नुपर्छ । यसो गर्न सकेमा बाइपास गरेर जोडेका नलीहरु लामो समयसम्म खुला रहन्छन् ।
कन्जिनाइटल हार्ट डिजिज सर्जरी
जन्मजात मुटुमा हुने रोग भिन्न प्रकारका हुन्छन् । साधारण खालको मुटुमा प्वाल हुनेदेखि जटिल प्रकारका (मुटुको रगतको नलीहरु एकातिरबाट आउनुपर्नेमा अर्कोतिरबाट आउने, एकातिर हुनुपर्ने मुटुको खण्ड अर्कोतिर हुने, फोक्सोमा जाने रगतको नली नबन्ने, साँघुरो हुनेसम्म) हुन्छन् । हामी जन्मजात मुटुरोगको साधारण खालको प्वाल टाल्नेदेखि जटिल प्रकारका शल्यक्रियाहरु गर्न सक्षम छौं । समयमा बिरामीको उपचार भएमा धेरै रोग निको पार्न सकिन्छ । कतिपय जन्मजात रोगको शल्यक्रिया गरेर निको पार्न सकिदैन ।
हार्ट फेलियर
मुटुको देब्रे भेन्ट्रिकल र दाहिने भेन्ट्रिकल दुवैले रगत पम्प गर्छन् । दाहिनेले रगत फोक्सोमा पम्प गर्छ भने देब्रेले शरीरका विभिन्न भागमा पम्प गर्छ । विभिन्न कारणले मुटु कमजोर भएर मुटुको रगत पम्प गर्ने क्षमतामा कमी आएमा अर्थात मुटु तन्किएर मुटुको मांशपेशीमा समस्या आएमा हार्ट फेलियरको अवस्थामा पुगिन्छ । विभिन्न रोगले मुटुको पम्पिङ गर्ने क्षमता कम भएर जाने प्रक्रिया हार्ट फेलियर हो । मुटुलाई पम्प गर्न सक्रिय बनाउने प्रविधि छैन । मुटुका मांशपेशीहरु मरिसकेपछि त्यसलाई सक्रिय बनाउन सकिदैन । १५—२० प्रतिशत मात्र मुटुको काम गर्ने क्षमता बाँकी रहेमा मुटु प्रत्यारोपण एक विकल्प हुनसक्छ । तर नेपालमा अहिलेसम्म मुटु प्रत्यारोपण हुन सकेको छैन । भेन्ट्रिकुलर असिस्ट डिभाईस (भ्याड) एक किसिमको मुटुबाट रगत पम्प गर्ने मेसिन हो ।
मुटु कमजोर भएका व्यक्तिको भेन्ट्रिकलमा उक्त पम्प गर्ने मेशिन राखिन्छ । यसले मुटुले पम्प गर्न नसकेको रगत पम्प गरिदिन्छ । यो निकै महँगो शल्यक्रिया छ । भेन्ट्रिकुलर डिभाइस नै निकै महँगो छ । यो शल्यक्रिया पनि नेपालमा हालसम्म भएको छैन ।
अन्य मुटुका शल्यक्रिया
माथि उल्लेखित मुटुरोग तथा शल्यक्रियाबाहेक मुटुका ट्यूमर, मुटुबाट निस्कने मुख्य रगतको नली एओर्टमा लाग्ने रोग, मुटुको बाहिरको पत्र पेरिकार्डियममा लाग्ने रोगको शल्यक्रिया नेपालमा नियमित रुपमा भइरहेको छ ।
(डा. शर्मा ह्याम्स हस्पिटलमा कार्यकारी निर्देशक तथा चिफ कन्सल्यान्ट कार्डियाक सर्जन हुनुहुन्छ । )