अदालतको आदेश कुर्नुको विकल्प छैन
सिभिल सर्भिस हस्पिटलभित्र छिर्दै गर्दा अस्पतालको मुख्य गेटमा कालो झण्डामा विभिन्न माग लेखिएको व्यानर झुन्ड्याइएको देख्न सकिन्छ । हुन त ति सबै माग पूरा भइसकेका छन् । यसले अस्पताल बन्द भइसकेको हो कि भन्ने पनि नराम्रो किसिमको सन्देश गइरहेको छ । प्रशासनसँग सेवा सुविधा माग्न सकिन्छ, वार्ताको माध्यमबाट हुनसक्ने कुराको समाधान हुनसक्छ । यस्तो व्यानर मुख्य गेटमा राख्न राम्रो होइन । यसबाट बिरामी भ्रमित भइरहेका छन् । संस्थाप्रति नराम्रो छाप पर्नसक्छ । अस्पताल राजनीति गर्ने थलो होइन । अस्पतालको पुरानो बिनियमावली अनुसार खुल्ला प्रतिस्पर्धाबाट समावेशी करार छनौट भइ नियुक्त भएका र लामो समयदेखि कार्यरत सम्पुर्ण चिकित्सक तथा कर्मचारीहरुको स्थायीत्वमा असर पार्ने गरी संसोधन गरिएको बिनियमावली २०७७ खारेज गर्नुपर्ने र पुरानै बिनियमावली अनुसार एक पटकका लागि आन्तरिक प्रतिस्प्रर्धाबाट स्थायी गर्ने अवसर प्रदान गर्नुपर्नेलगायतका ९ बुँदै माग राख्दै आएका छन् । वास्तवमा यसको वास्तवकिता के हो भन्ने हामीले खोजी गर्यौं । यसबारे हस्पिटलका कार्यकारी निर्देशक विधाननिधी पौडेलले यसो भन्नुहुन्छ ।
अत्यधिक कर्मचारी अस्थायी र करारमा
सिभिल सर्भिस हस्पिटलमा डाक्टर, नर्स, बायोमेडिकल एसिस्टेन्ट, इन्जिनियर, प्लम्बरलगायत ४२ जना मात्र स्थायी छन् । अरु सबै अस्थायी र करारमा काम गरिरहेका छन् । हाल अस्पतालमा ६२१ जना कर्मचारी छन् ।
कर्मचारीहरुको सुविधामा अत्यधिक वृद्धि
अस्पतालमा अतिरिक्त काम गर्ने चिकित्सकहरुलाई फ्ल्याटमा ७५ प्रतिशत र चिकित्सकभन्दा बाहेकका कर्मचारीहरुलाई ५० प्रतिशत इन्सेन्टिभ (प्रोत्साहन भत्ता) दिने व्यवस्था मिलाइएको छ । शल्यक्रिया वा अन्य कम्लिकेसनको समयमा अनकलमा ल्याइने डाक्टरहरुका लागि पनि सुविधाको व्यवस्था मिलाइएको छ ।
अहिले अस्पतालमा ओभर टाइम भन्ने छैन । रात्रीकालीन ड्यूटी गर्ने चिकित्सकहरुलाई थोरै रकम भन्ने गुनासो छ । यसबारे मन्त्रालयमा कुरा भइरहेको छ । २४ घण्टा ड्युटी गर्ने चिकित्सकहरुलाई १५ सय र २२ सय भन्ने थियो ।
अहिले हामीले २४ घण्टा ड्युटी गर्नेहरुलाई ४५ सय र नाइट ड्युटी गर्नेहरुलाई ३ हजार गराउने काम अघि बढाएका छौं जुन सुविधा अन्य सरकारी अस्पतालमा छैन । नर्सको हकमा रात्रीकालीन सुपरभाइजर ड्युटी गर्नेलाई १ हजार रुपियाँ दिने व्यवस्था छ । डाक्टर र नर्स दुवैलाई रात्रीकालीन खानाका लागि २ सय ५० रुपियाँको पनि व्यवस्था गरिएको छ ।
प्यारामेडिक्स र मेन्टेनेन्सका सम्पूर्ण कर्मचारीहरुलाई पनि अतिरिक्त काम गरेवापत् प्रोत्साहन भत्ता उपलब्ध गराएका छौं । त्यसैले हस्पिटल राम्रो सँग सञ्चालन हुनुपर्छ । र तोकिएको जिम्मेवारी इमान्दारितापूर्वक पूरा गर्नुपर्छ ।
कर्मचारीहरुलाई स्थायी गर्ने सवाल
२०७१ को बिनियमावलीमा ५ वर्षपछि करारका कर्मचारीहरुलाई म्याद नथप्ने उल्लेख थियो । २०७२ सालको संविधानपछि २०७१ को बिनियमावली स्वत निस्क्रिय भयो । २०७७ सालमा फेरि नयाँ ल्याइएको बिनियमावलीले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने भनेको छ । तर तिनै कर्मचारीहरु अस्पतालको स्थापनाकाल २०६५ सालदेखि अहिलेसम्म १२ वर्षदेखि अस्पतालमा काम गरिरहेका छन् ।
खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्दा पुराना कर्मचारीहरुलाई निरन्तरता दिन करार कार्यविधि पनि ल्याइएको छ । करार कार्यविधिमा प्रत्येक वर्ष म्याद थप्ने भनेर नियमले लेख्न मिल्दो रहेनछ । उनीहरुलाई स्तर वृद्धि गर्न पनि मिल्ने रहेनछ ।
अस्पतालको आवश्यकता र समझदारीमा करारलाई निरन्तरता दिन सकिने उपायहरु अपनाउदा अस्पताल र सेवारत कर्मचारीहरुलाई फाइदा पुग्छ ।
समस्या विगतदेखि कै
नयाँ संविधान बनेताका २०७२ सालतिर तत्कालीन अस्पताल प्रमुखले समस्याको सम्बोधन गरिदिएको भए यो समस्या आउँदैन थियो । २०७४ सालसम्म लोकसेवा आयोगले पनि विगतकै प्रक्रिया अपनाउँदै आएको थियो । त्यो बेला बीर अस्पतालका १७० जना कर्मचारी विगतकै प्रक्रियाअनुसार स्थायी भएका थिए । २०७४ सालदेखि लोकसेवा आयोग पनि सक्रिय भयो ।
सिभिल सर्भिस हस्पिटलमा पनि प्रक्रिया बनाइदिएको भए समस्या आउने थिएन । तत्कालीन व्यवस्थापन समिति र कार्यकारी निर्देशक नै सो समस्याको भागिदार हुनुहुन्छ र कार्यरत कर्मचारी पनि बिनियमावलीअनुसार सचेत नहुनु दुर्भाग्यपूर्ण कुरा हो । त्यसपछि समस्यामाथि समस्या थोपरिदै गयो । समस्याले निकास पाउन सकेन ।
कार्यकारी निर्देशकको भूमिका
अब अदालतको निर्णय कुर्नुको विकल्प छैन । अदालतले निर्णय गरेर लोकसेवा लिइदिनु भनेको अवस्थामा पदपूर्ति समिति गठन गरेर लोकसेवा खोल्छौं र स्थायी प्रक्रिया अघि बढ्छ । साथै सिमित प्रतिस्पर्धाकोबीच खोलिदिँदा सबैलाई राम्रो हुन्छ र अस्पतालले पनि निकास पाउँछ ।
करार कार्यविधि
अहिले करार कार्यविधि पनि बनेको छ । करार कर्मचारीहरुलाई निरन्तरता दिन करार कार्यविधि ल्याइएको छ । अहिलेसम्म कुनै पनि मन्त्रालयमा करार कार्यविधि छैन । यो विशेष प्रकारको वोर्ड भएकाले सेवारत पुराना कर्मचारीहरुलाई निरन्तरता दिन करार कार्यविधि ल्याइएको हो । करार कार्यविधिमा पनि केही चिकित्सकहरुले चित्त बुझाएका छैनन् । करार कार्यविधिपनि स्थगित गरियोस् भनेर अदालतमा मुद्धा दायर गरिएको छ ।
यदि पुरानै बिनियमावलीअनुसार प्रक्रिया अघि बढाउन अदालतले आदेश दिएमा र करार कार्यविधि नभएमा अस्थायी कर्मचारीको म्याद थप्ने अधिकार अस्पताल प्रशासनलाई हुँदैन र अहिले कर्मचारीहरुले पाउँदै आएको सुविधा पनि कटौति हुन्छ ।
अस्पतालका डाक्टर, नर्स, प्यारामेकिडक्सलगायतका कर्मचारीहरुको पिरमर्कामा हामी हातेमालो गरिरहेका छौं । सकेसम्म काम गरिरहेका छौं । कार्यकारी निर्देशकको हैसियतले जायज माग पूरा गरिरहेका छौं । लामो समय लाग्ने कुरा सम्बन्धित वोर्डबाट सिफारिस गराउन लागिपरेका छौं । अस्पतालमा बिरोध गर्नुपर्ने मैले कुनै पनि औचित्य देख्दिन ।
हाल अगाडि बढाइका कार्यहरु
अस्पतालमा पहिला साधारण बिरामीको मात्र उपचार हुन्थ्यो भने म हाजिर भएपछि दोस्रो लहरमा १५ वटा कोभिड आईसियू सञ्चालन गरेर धेरैलाई दुर्घटना हुनबाट जोगाएका छौं । कोभिडका बिरामीलाई भर्ना गरी सफल उपचार गर्यौं । हाम्रो लक्षय १५० जना बिरामीलाई भर्ना लिने थियो जुन बेला अक्सिजनको अभावले पूरा गर्न सकेनौं । ५० वेडको आइसोलेसन वार्ड सञ्चालनको अवस्थामा छ । अहिले अस्पतालमा सूर्य नेपालको सहयोगमा ५ करोड रुपियाँ मूल्य बराबरमा दैनिक करिब ३५० सिलिन्डर अक्सिजन निकाल्ने देशकै सबैभन्दा ठूलो अक्सिजन प्लान्ट जडान भएको छ । १२ वर्षदेखि नभएको तलबमान कायम गरी तलब सुविधा ५० र ७५ प्रतिशतले बढेको छ । निजामति कर्मचारी अस्पतालको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन तयारी अवस्थामा आएको छ र निकट भविष्यमा लागू गरिनेछ । अतिरिक्त स्वास्थ्य सेवा प्रवाह (इएचएस) गर्ने कार्यविधि तयर भइसकेको छ । आँखाको बिरामीका लागि चश्मा सहितको सेवा शुरु भइसकेको छ । एकेडेमिक कार्यक्रमलाई अगाडि बढाइएको छ । सुधार गर्नुपर्ने काम धेरै छन् । थप १६ वेड आईसियू, सिसियु, ६ वेड एनआईसियु, २ वेड पिआईसियु सञ्चालनमा ल्याउने तयारीमा छौं ।