Logo
|
Friday 26th April 2024
Logo

epaper

मुलुककै सबैभन्दा धेरै आईसियू वेडको मेडिकल कलेज



जनस्वास्थ्य सरोकार, चितवन । चितवन मेडिकल कलेजले नेपालकै सबैभन्दा ठुलो सघन उपचार कक्ष (आइसियू) सञ्चालनमा ल्याएको छ । कलेजले हाल १ सय ९७ शैय्याको लेवल थ्री आइसियू सञ्चालन गरिरहेको छ । यसै सन्दर्भमा कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक हरिश चन्द्र न्यौपानेसँग गरिएको कुराकानी ।

क्रिटिकल केयरलाई किन प्राथमिकतामा राख्नुभयो ?
चितवन मुलुकको सेन्टरमा छ । मेडिकल हब जस्तो छ । यहाँ धेरै बिरामीहरु रिफर भएर आउँछन् । अधिकांश बिरामीको अवस्था क्रिटिकल (जटिल) हुन्छ । धेरैजसोलाई आइसियू चाहिन्छ ।

चितवनमा झण्डै १५/२० ओटा नर्सिङ होम छन् । त्यहाँका बिरामी पनि सिफारिस भएर यहि अस्पतालमा आउँछन् । आइसियूको माग बढी छ । रिफरल बिरामीलाई स्तरीय सेवा दिने उद्देश्यले नै आइसियू स्थापना गरेका हौँ ।

अर्को कुरा, हामीसँग जनशक्ति पनि प्रशस्त छन् । हामी सबै डाक्टरहरु मिलेर सञ्चालन गरेको मेडिकल कलेज भएकाले अरु भन्दा केही फरक गर्ने उदेश्यले क्रिटिकल केयरलाई प्राथमिकता दिएका छौं ।

जनशक्ति उत्पादनमा के भइरहेको छ ?
नेपालमा पहिलोपटक नेसनल एकेडेमी अफ मेडिकल साइन्सेस (न्याम्स) ले क्रिटिकल केयर मेडिसिन पढाई सुरु गर्यो । डा. शीतल अधिकारी पहिलो व्याच हो । उहाँ क्रिटिकल केयरमा डिएम गर्ने पहिलो नेपाली डाक्टर हुनुहुन्छ । अध्ययन सकिएपछि डा. शीतल चितवन मेडिकल कलेजमा सेवा गर्न आउनुभयो । हामीले न्याम्ससँग सहकार्य गरेर क्रिटिकल केयर सेट अप गर्यौँ । न्याम्सले पढाइ सुरु गरेपनि अनेक अवरोध खेप्नुपर्यो ।

शुरुका दिनमा नयाँ कलेज भएकाले देशको नियम र कानुनले गाह्रो बनायो । विस्तारै हामीलाई जनशक्ति पनि पुगेन । एकैचोटी डिएम सुरु गर्ने कुरा पनि थिएन । त्यसैले हामीले नेपाल मेडिकल काउन्सिलसँग स्वीकृती लिएर मलेसियन युनिभर्सिटीसँग टाइअप गरी क्रिटिकल केयर मेडिसिनको तीन वर्षे फेलोसिप कोर्ष चलायौँ । अहिले तीनचार वर्ष भइसक्यो । हामीले नेपालका लागि दक्ष जनशक्ति उत्पादनमा टेवा पुर्याइरहेका छौँ ।

उपचारमा कतिको सहुलियत छ ?
मेडिकल कलेज भएकाले मात्र हामीले केहि सस्तोमा उपचार सेवा दिन सकेका छौं । ठूला मेडिकल कलेजले सस्तोमा गर्नुसक्नुको कारण बिरामीको भोल्युमले नै हो ।

अस्पतालमा भएको १९७ बेडमा हरेक दिन ९० प्रतिशत भन्दा बढी बिरामीको अक्युपेन्सी दर रहेको छ । आइसियूमा भर्ना भएका बिरामीलाई प्रतिदिन पाँच हजार शुल्क लिँदै आएका छौँ । हामीले कोभिडको बेला २६० बेड सम्म आइसियू चलाएका थियौँ । सरकारले तोकेको शुल्क १५ हजार भन्दा बढी लिएनौँ ।

वास्तवमा यसरी चलाउन धेरै गाह्रो छ । लगानीको कुरा गर्दा एउटा आइसियू बेड स्थापना गर्न झण्डै एक करोड जति खर्च हुन्छ ।आइसियू बेड, भेन्टिलेटर, आइसियूको मेनपावरको खर्च धेरै हुन्छ । दुइसय बेडको आइसियू स्थापनाका लागि झण्डै दुइसय करोड खर्च भइसकेको छ । सबैले गर्न सक्दैन । त्यसका लागि डेडिकेसन चाहिन्छ ।


सरकारको भूमिका के हुनसक्छ ?
आइसियू सेटअप एकदमै महंगो सेटअप हो । त्यति सजिलो छैन । त्यसैले सबैभन्दा पहिलो कुरा सरकारले आइसियूको वर्गिकरण गरिदिनुपर्छ । आइसियू सेटअपका लागि सरकारले सहयोग गर्नुपर्छ बिरामीहरु क्रिटिकल केयर सम्म आइपुग्दा सबै पैसा सकिसकेका हुन्छन् ।

सरकारले आइसियूको सामान किन्दा कर छुट गरिदिनुपर्छ । बैँकको ऋणमा पनि सहुलियत दिनुपर्छ । तब मात्र आइसियूलाई लेबल अप गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्