Logo
|
Saturday 27th April 2024
Logo

epaper

सबैको सहयोगले नसर्ने रोग नियन्त्रण गर्न सकिन्छ : मन्त्री खतिवडा



जनस्वास्थ्य सरोकार,काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणमा सबै पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्। स्वास्थ्य मन्त्रालयमा बिहीबार आयोजित ‘नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना’ सार्वजनिक गर्दै मन्त्री खतिवडाले सबैको सहयोगले नसर्ने रोगको रोकथाम र नियन्त्रण गर्न सकिने उल्लेख गरे। उनले  कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरेर सबै नागरिकलाई स्वस्थ्य बनाइने बताए।

मन्त्री खतिवडाले नसर्ने रोगबाट उत्पन्न परिस्थितिलाई सम्बोधन गर्नका लागि बहुपक्षीय समन्वय तथा सहकार्य आवश्यक रहेको धारणा राखे । ‘सबै नीतिको मूलप्रवाहमा नसर्ने रोगका विषयलाई सापेक्ष बनाई स्थानीयस्तरसम्म प्रभावकारी कार्यान्वयन गर्न आवश्यक छ,’ उनले भने।  नसर्ने रोग दिनानुदिन बढ्दै गएको र यसको मुख्य कारण जलवायु परिवर्तन, अखाद्य पदार्थको प्रयोग, निष्क्रिय जीवनशैली, लागुऔषधलगायत रहेको उनको भनाइ थियो । 

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले कार्ययोजनालाई प्रादेशिक र स्थानीय तहमा कार्यान्वयन गर्नतर्फ मन्त्रालयले ध्यान दिने बताए । राष्ट्रिय योजना आयोगका सदस्य डा उमाशङ्कर प्रसादले स्वास्थ्य उपचार गर्न विदेश जाँदा धेरै पैसा बाहिरीने गरेको भन्दै नेपालमा उपचार हुने रोग यही नै गर्नुपर्नेमा जोड दिए।

विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रमुख डा .राजेश पाण्डवले कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गरेर नेपालले दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने धारणा राखे। मन्त्रालयका प्रवक्ता डा. सङ्गीता कौशल मिश्राले नसर्ने रोगको रोकथाम र नियन्त्रणका लागि पाँचवर्षीय ९२०७८–८२० योजना ल्याइएको बताइन्। रासस

प्रतिक्रिया दिनुहोस्