Logo
|
Friday 26th April 2024
Logo

epaper

वरिष्ठ सर्जन स्व.प्रा.डा. अञ्जनीकुमार शर्माको जीवन चरित ‘नकोरिएका सन्दर्भहरु’ लोकार्पण



जनस्वास्थ्य सरोकार, काठमाडौं । वरिष्ठ सर्जन स्वर्गीय प्रा.डा. अञ्जनीकुमार शर्माको जीवन चरित ‘नकोरिएका सन्दर्भहरु’ आज राजधानीमा लोकार्पण गरिएको छ ।

प्रा.डा. शर्माकी छोरी प्रा.डा. अनिता ढुंगेलले आफ्नो बुवाको बारेमा लेख्नुभएको सो कृति शर्माकी धर्मपत्नी अन्नपूर्णा शर्माले लोकार्पण गर्नुभएको हो ।

प्रा.डा. शर्माका छोराद्धय प्रा.डा. सुनिलकुमार शर्मा र डा. अनिलकुमार शर्माद्धारा प्रकाशित सो पुस्तकमा प्रा.डा. शर्माले बिताएका जीवनका क्षणहरुबारे शव्द चित्रमा प्रस्तुत गरिएको छ । पुस्तकमा डा. शर्माको कार्यशैली सर्जरीमा मात्र सिमित नभएर नेपाली समाजको उत्थानका लागि पनि गम्भीर रुपले खटेका कुरा विस्तृत रुपमा प्रस्तुत गरिएको छ ।


काठमाडौंको म्यारियट होटलमा निकै तामझामका साथ लोकार्पण गरिएको सो कार्यक्रममा आमन्त्रण गरिएका पाहुनाहरुलाई पुस्तक बेचेर प्राप्त भएको रकम भक्तपुर क्यान्सर हस्पिटलाई दान दिने शर्माकी छोरी ढुंगेलले बताउनुभयो ।

पुस्तकको मूल्य सामान्य कभरको रु. ५५० र हार्ड कभरको ६५० राखिएको छ । सो अवसरमा वरिष्ठ चिकित्सक डा. गौरीशंकरलाल दाश, वरिष्ठ बालरोग विशेषज्ञ प्रा.डा.हेमाङ्ग दीक्षित, वरिष्ठ समालोचक तथा पूर्व प्राज्ञ प्रा.डा. ज्ञानु पाण्डे, नेपाल क्यान्सर सोसाइटीका पूर्व अध्यक्ष कर्ण शाक्य, पूर्व डिस्ट्रिक्ट गर्भर लायान्स क्लवका पुनमचन्द्र अग्रवाल, वरिष्ठ शल्यचिकित्सक प्रा.डा. सुदीपकुमार भट्टाचार्य, वरिष्ठ अधिवक्ता विनोदकुमार शर्मा, वरिष्ठ प्लाष्टिक सर्जन प्रा.डा. शंकरमान राईलगायतले प्रा.डा. शर्माको वहुप्रतिभाशाली स्वभावबारे प्रस्तुत गर्नुभएको थियो ।


१ सय ९० पेजको सो पुस्तकमा शुक्लाफाँटा दुर्घटनाः रानी रत्नाको शल्यक्रिया, अर्बुदको पीडाः ओझेल मनस्थिति, माटोको लिलाः जागृत चेतना, अन्तर्दृष्टिको परिणतिः गन्तव्य चिकित्सा विज्ञान, सपना शृङ्खलाः शल्यचिकित्सा विशेषज्ञताको विस्तार, दृष्टि डिम्ड युनिभर्सिटीः लक्ष्य चिकित्सा विज्ञानको विकास, परोपकारी सोचः नयाँ नभको खोज गरी ७ अध्याय प्रस्तुत गरिएको छ ।

पुस्तकमा शल्यचिकित्साको इतिहास, धुम्रपानः लिन्छ ज्यानजस्ता प्रा.डा. अञ्जनीकुमार शर्माको आलेख एवं तस्बिर परिशिष्ट प्रस्तुत गरिएको छ ।

प्रा.डा. शर्माको तस्विरमा नातिनी आकृति शर्माले माल्यार्पण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्