Logo
|
Friday 26th April 2024
Logo

epaper

क्यान्सरविरुद्ध औषधिको नमुना नेपाली उद्योग



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा क्यान्सरको भयावह अवस्था छ । विगतको भन्दा उपचार गर्ने विशेषज्ञ र हस्पिटल बृद्धि भएका छन् भने क्यान्सर थेरापीका अत्याधुनिक उपकरण पनि थपिएका छन् । तर क्यान्सर विरुद्धका औषधिहरुको विकास र विस्तारमा मुलुक पछि परेको थियो ।

विदेशमा गएका क्यान्सरका बिरामीहरुले उपचारपश्चात् औषधि ल्याउनुपर्ने बाध्यता थियो । क्यान्सर उपचारमा आवश्यक पर्ने औषधिमा मात्र बर्षेनी अर्बौ रुपियाँ विदेशिने गरेको अनुमान छ । यसैलाई दृष्टिगत गरेर टिजिग फर्माको जन्म भएको हो ।

पहिलो विशिष्टिकृत कम्पनि
आइ.एस.ओ. ९००१ः २०१५ मान्यता प्राप्त टिजिग फर्मा क्यान्सर रोग विरुद्धको औषधि उत्पादन गर्ने नेपालको पहिलो विशिष्टिकृत कम्पनि हो । जुन कम्पनिमा एन्टिक्यान्सरबाहेक अन्य औषधि उत्पादन हुँदैनन् । नेपालमा क्यान्सर रोगविरुद्धका औषधिहरुको प्रयाप्त उपलब्ध नभइरहेको र सहजरुपमा बिरामीहरुले प्राप्त गर्न नसकिरहेको विषयलाई दृष्टिगत गरेर टिजिग फर्मा सन् २०१८ मा स्थापना भएको हो ।

बिरामीहरुलाई सहजीकरण
हाल यो कम्पनि काभ्रेको बनेपा नगरपालिका नालामा रहेको छ । उत्पादनलाई निरन्तरता दिएर क्यान्सरका औषधि अभाव हुन नदिने कम्पनिको लक्ष्य छ । क्यान्सर सेल नष्ट पार्ने औषधिलाई किमोथेरापी भनिन्छ । अहिले नेपाली कम्पनि टिजिगले ट्याब्लेट र क्याप्सुलका रुपमा किमोथेरापीका औषधि उत्पादन गरेको छ । यसले क्यान्सर बिरामीहरुलाई सहजीकरण भएको छ । इन्जेक्टेवल औषधि उत्पादन गर्न कम्पनिले सबै लेआउट तयार पारी निर्माण कार्य अघि बढाइसकेको छ । क्यान्सरविरुद्धका औषधि (कच्चा पदार्थ) लाई साइटोटक्सिक भनिन्छ जुन शरीरका जीवित कोषिकालाई नष्ट गर्ने प्रकृतिका हुन्छन् । यस्ता औषधि उत्पादन गर्ने क्रममा संलग्न व्यक्ति, उत्पादन क्षेत्र र वरिपरिका वातावरण सबै सुरक्षित राख्नुपर्छ । यसका लागि विशेष सुरक्षा प्रणालीलाई अवलम्बन गरिने हुनाले उत्पादन क्षेत्रमा व्यक्ति प्रवेश गर्ने विशेष सावधानी अपनाउन अनिवार्य गरिएको छ ।

नमुना फ्याक्ट्री
क्यान्सर विरुद्धका औषधिहरु उत्पादनका क्रममा व्यक्ति र वातावरणमा पर्नसक्ने असरहरुलाई (विश्व स्वास्थ्य संगठनको निर्देशिका, नेपालमा रहेका ऐन तथा नियमावली) नियन्त्रण गरेर स्थापित टिजिग फार्मा नेपालको औषधि उत्पादन क्षेत्रमा एउटा नमूना उद्योग हो । सुरक्षित, असरयुक्त र उच्चगुणस्तरका औषधिहरुको निरन्तर विकासमा कम्पनिले जोड दिएको छ । क्यान्सरविरुद्धका औषधि उत्पादन मात्र नगरी निरन्तर विकासका आधारमा समयसापेक्ष नयाँ मोलिक्युल्सहरु उत्पादन गर्दै जाने कम्पनिको लक्ष्य छ । क्यान्सरविरुद्ध औषधिको उत्पादनमा आवश्यक पर्ने नेपाली दक्ष जनशक्तिको कमीले ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ तथा २०७५’ अन्तर्गत भारतको हैदरवादमा रहेको एसपीएक्युर (एसपीएएलल्याव) सँग प्रविधि हस्तान्तरण सम्झौता गरेको छ र वैदेशिक लगानीका साथ स्थापना तथा सञ्चालनमा आएको पहिलो नेपाली औषधि कम्पनि हो ।

प्रविधि हस्तान्तरण
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्टान्डर्ड र नेपालको प्रविधि हस्तान्तरण सम्वन्धि ऐन अनुसार नै कम्पनि सञ्चालनमा ल्याइएको छ । कम्पनिले विश्व स्वास्थ्य संगठनको औषधि उत्पादन निर्देशिका, औषधि ऐन २०३५, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ तथा २०७५ को दफा (३) तथा विश्व स्वास्थ्य संगठनको प्रविधि हस्तान्तरण निर्देशिका पालना गरेको छ ।

टिजिग फार्मामा औषधि उत्पादन, विश्लेषण कार्यका लागि सम्बन्धित विश्व स्वास्थ्य संगठनको निर्देशिका, नेपालको औषधि ऐन र नियमावलीमा रहेका व्यवस्था सम्बन्धित औषधिहरुको ग्रन्थमा गरिएका व्यवस्था बमोजिम भएको छ जसमा थप एस पि एल (विश्व स्वास्थ्य संगठन, गुड म्यानिफ्याक्चरिङ प्राक्टिस, इयुजिएमपी सर्टिफाइड) व्यवस्थापन तथा निगरानीमा भइरहेको छ । फलस्वरुप औषधिको गुणस्तर नियन्त्रण, नियमनमा बलियो आधार बनेको छ र कम्पनिका उत्पादन विश्वस्तरका छन् ।


उत्पादन र निर्यातमा पहिलो
अहिले नेपालभित्रै विक्रिवितण गर्न पाँचवटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त भइसकेका र विदेशमा निर्यात गर्न पनि थप तीन मोलिक्युलको स्वीकृति पत्र प्राप्त भएको छ । क्यान्सर रोगबिरुद्धको औषधि नेपालमै उत्पादन गरी स्वदेशी र विदेशी बजारमा पठाउने यो कम्पनि नेपालकै पहिलो हो ।

उत्पादन स्वीकृति
औषधि व्यवस्था विभागबाट हालसम्म कम्पनिले २७ मोलिक्युल र ४५ प्रकारका क्यान्सर विरुद्धका औषधिहरु उत्पादन लाइसेन्स पाइसकेको छ । जसमध्ये ५ वटा फर्माकोपेल र २२ वटा नन फर्माकोपेल रहेका छन् । औषधि उत्पादन लाइसेन्स प्राप्त औषधिमध्ये ८ वटा मोलिक्युलका ११ प्रकारका औषधि विभागबाट मार्केटिङ लाइसेन्स प्राप्त भई बजारमा गइसकेका छन् । बाँकी औषधिहरु मार्केटिङ लाइसेन्सका लागि पाइपलाइनमा रहेका छन् । त्यस्तै कम्पनिले अन्य १० मोलिक्युलका १७ प्रकारका औषधिहरु औषधि उत्पादन अनुज्ञापत्र लिन पाइपलाइनमा राखेको छ । फर्माकोपेल उत्पादन स्थानीय बजार र निर्यात गर्न सकिन्छ भने नन फर्माकोपेल उत्पादन निर्यात मात्र गर्न पाइन्छ ।

मोलिक्युल्स फर्मुलेट
विश्वमा रहेका क्यान्सर रोग विरुद्धका औषधि बनाउने कम्पनिहरु निरन्तर क्यान्सरका नयाँ प्रकार र गम्भिर्यताविरुद्ध अझ सक्षम र असरयुक्त औषधिहरुको विकासमा लागेका हुन्छन् । यसले लागत अत्यधि रहन्छ । यस्ता मोलिक्युल विकास गर्ने खर्च यस कम्पनिले तत्काल गर्न नसकेपनि विश्व बजारमा प्रचलित औषधिहरु छानी नेपालका बिरामीहरुलाई उपलब्ध गराउने लक्ष्यका साथ कम्पनि अघि बढेको छ ।

उत्पादन क्षमता
कम्पनिबाट प्रतिसिप्ट दैनिक १ लाख २५ हजार ट्याब्लेट, १ लाख ८५ हजार क्याप्सुल क्षमता स्थापित गरेको छ । हाल कम्पनिको दैनिक १० केजी व्याचसम्म उत्पादन क्षमता रहेको छ । यो क्षमता एन्टिक्यान्सर औषधि उत्पादन क्षेत्रमा राम्रो र एउटा स्थापित स्तरको मानिन्छ ।

औषधिको आवश्यकता
क्यान्सरविरुद्धका औषधि स्पेशिफिक डाक्टरको सुपरभिजनमा मात्र प्रयोग हुने गर्छ । एउटा क्यान्सर बिरामीलाई कति औषधि आवश्यक हुन्छ भन्ने कुरा क्यान्सरको प्रकार र गम्भीरतामा आधारित हुन्छ । जसकारण औषधिको असिमित आवश्यकतामा तत्काल केही प्रतिशत तथा समय अनुसार क्षमता बृद्धि गरी मागलाई पूर्ति गर्दै जाने लक्ष्यका साथ कम्पनि अघि बढिरहेको छ ।

स्थानीय बजार र औषधि निर्यात
नेपाल सरकारबाट मान्यता दिइएका फर्माकोपियामा प्रकाशित भएका कुनै पनि (मोलिक्युल्स) मुख्य पदार्थका विभिन्न किसिमका (ट्याब्लेट, क्याप्सुल, इन्जेक्सन आदि) औषधिहरु देश भित्रका औषधि कम्पनिले नियमित उत्पादन गर्न पाउँछन् भने फर्माकोपियामा उल्लेख नभएका मुख्य पदार्थको औषधि उत्पादनको लागि त्यस्ता मुख्य पदार्थको ओषधिको स्तर निर्धारण गरेर मात्र औषधि उत्पादन र विक्रिवितरण गर्ने प्रावधान रहेको छ ।


यसमा केही समय अघि सम्पन्न भएको औषधि सल्लाहकार समितिको बैठकले फर्माकोपियामा नभएका औषधि स्तर निर्धारणको प्रक्रियामा आएका औषधिलाई निर्यातका लागि दर्ता र बजार बिक्रीको स्वीकृति दिन मिल्ने व्यवस्था गरेको छ जसबाट यस कम्पनिलाई ननफर्माकोपिल औषधि उत्पादन र निर्यात गर्ने मार्ग प्रशस्त भएको छ ।

औषधि स्तर निर्धारणका लागि प्रस्तुत भएका औषधिहरुको नेपाल सरकारबाट स्तर निर्धारणको काम सम्पन्न भएपश्चात् उक्त औषधिहरु नेपाली बजारमा पनि बिक्रीवितरण गर्न अनुमति दिने व्यवस्था रहेको छ । हाल निर्यातका लागि मात्र अनुमति पाएका औषधि निकट भविष्यमा नेपाली बजारमा बिक्री गर्न पाउने कम्पनिले अपेक्षा राखेको छ ।

लगानी
कम्पनिले ट्याब्लेट र क्याप्सुल उत्पादनको लागि हालसम्ममा करिब ३२ करोड रुपियाँ लगानी गरिसकेको छ भने हाल निर्माणधिन भएको इन्जेक्टेबल औषधि उत्पादनतर्फको सम्पूर्ण कार्य सम्पन्न गर्दासम्म एक अर्ब रुपियाँ भन्दा बढी लगानी हुने र सम्पूर्ण लगानी बैदेशिक लगानी ऐनअन्तर्गत रही सम्पूर्ण प्रक्रिया पूरा गरी सम्पन्न गर्ने लक्ष्य छ । क्यान्सर रोगविरुद्ध आवश्यक सम्पूर्ण प्रकारका औषधिहरुको आवश्यकतालाई सम्बोधन गर्दै र नेपालमा रहेका क्यान्सर रोग निदान, नियन्त्रण र उपचारमा नियमित र उचित मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ काम गरिरहेको देखिन्छ ।

गुणस्तरमा नो कम्प्रोमाइज
विश्व बजारमा आप्mनो उत्पादन विक्री गर्दै आफ्नो पहिचान बनाएको एस पि एल सँगको सहकार्यमा रहेको यस फर्माको पहिलो प्राथमिकता औषधिको गुणस्तर कायम राख्नु रहेको छ । यसका लागि यस कम्पनीको ले—आउट, डिजाइन, मेसिन उपकरण, कच्चा पदार्थ सम्पूर्ण काममा एस पि एल का साथ सहकार्य भएको छ । औषधि उत्पादन गुणस्तर नियन्त्रणका लागि समेत एस पि एल बाट प्राविधिकहरुको नियमित उपस्थिति रहेको छ । यसका साथै कम्पनिले आफ्ना उत्पादनहरु तेस्रो पक्षबाट समेत परीक्षण र विश्लेषण गराउँछ । उत्पादन र परीक्षणमा प्रयोग हुने सम्पूर्ण मेसिन÷उपकरणहरुको समेत नियमित क्यालिब्रेसन, भ्यालिडेसन हुँदै आएको छ । जसबाट कम्पनि गुणस्तरीय औषधि उत्पादन र बिक्रीवितरणमा समर्पित रहेको बुझिन्छ ।


गुणस्तरीय कच्चा पदार्थ
कम्पनिले गुणस्तरीय कच्चा पदार्थको प्रयोगमा जोड दिएको छ । क्रिटिकल अवस्थाका बिरामीहरुलाई प्रयोग गरिने भएकाले क्यान्सर विरुद्धका औषधिहरुको इफिकेसी महत्वपूर्ण पाटो मानिन्छ । कम्पनिले यही विषयलाई महत्व दिएर विदेशी टेक्नोलोजी भित्र्याउने आवश्यकता महसुस गरेको हो ।

दक्ष जनशक्ति उत्पादन
औषधि उत्पादन, परीक्षण, विश्लेषण र निर्धारणका कार्यका लागि एपिएलबाट अनुभवी जनशक्ति उपलब्ध गराउँदै आएको छ, यस्ता जनशक्तिले आवश्यक सम्पूर्ण प्रक्रियामा सरिक हुँदै यहाँका जनशक्तिलाई तालिम गराउने काम पनि सम्पन्न गर्दै आएका छन्, जुन टेक्नोलोजी ट्रान्सफरको सबैभन्दा महत्वपूर्ण अंग हो र यसबाट देशमा नै क्यान्सर रोग विरुद्ध औषधि उत्पादनमा दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेल्छ ।

प्रतिस्पर्धी मूल्य
विदेशी कम्पनिहरुमा उत्पादन भएका क्यान्सरविरुद्धका औषधिहरु अन्तर्राष्ट्रिय जगतसँग प्रतिस्पर्धा गरेर आएका हुन्छन् । नेपालको सन्दर्भमा उत्पादन क्षमता कम र लागत बढी हुन्छ । तै पनि प्रतिस्पर्धामा सहज दृष्टिले हुबहु वा सकेसम्म सस्तोमा दिने कोशिस कम्पनिको छ ।

निर्यातबाट लगानी उठ्ने
स्थानीय तहमा औषधि बेचेर फाइदा कमाउने लगानीकर्ता र व्यवस्थापन टिमको सोच छैन । निर्यातबाट लगानी उठाउन सकिने कम्पनिले अवधारणा बनाएको छ । क्यान्सरविरुद्धका मोलिक्युल्सहरु अन्तर्राष्ट्रिय पेटेन्ट राइट्स अन्तर्गत रहने कारण सहज उपलब्धताको प्रश्न गम्भीर रुपमा रहन्छ । त्यस्ता मोलिक्युलका लागि रोयल्टी पनि तिर्नुपर्छ । यसले औषधिहरु महँगा हुने भएपनि पनि कम्पनिले नेपाली माझ सहज उपलब्ध गराउने उद्देश्यका साथ अघि बढिरहेको छ ।

‘क्यान्सरविरुद्धका औषधि अभाव हुन दिन्नौं’

शैलेश वैद्य/ कार्यकारी निर्देशक निर्देशक/ टिजिग फर्मा


निकै ठूलो त्याग र तपस्याबाट क्यान्सर विरुद्धको औषधि उत्पादन गर्ने कम्पनि मुलुकमा भित्र्याउन सफल भएका छौं । टिजिग फर्माबाट उत्पादन भएका क्यान्सर विरुद्धका औषधि विदेशी औषधिको तुलनामा गुणस्तरीय छन् । यसमा कुनै द्धिविधा मान्नुपर्ने आवस्था छैन ।

एस पि एल सँग टेक्नोलोजी ट्रन्सफरका लागि केही रकम तिर्नुपर्ने भएपनि कम्पनिले आफ्ना औषधि निर्यातबाट देशको आर्थिक उत्थान तथा विदेशी मुद्रा आर्जनमा केही टेवा मिल्छ । हालसम्म केमोथेरापीको लागि सम्पूर्ण औषधिहरु विदेशबाट आयात गरिँदै आएकोमा अब टिजिगको उपस्थितिले मोलिक्युलको संख्या वृद्धि गर्दै सहज रुपमा उपलब्ध गराउँछौं ।


हालसम्म केमोथेरापीका धेरै औषधिहरु चिकित्सकको सिफारिसमा औषधि व्यवस्था विभागको पटके सिफारिसमा आउने कारण औषधिको नियमित उपलब्धता हुन सकेको थिएन । अब उप्रान्त बिरामीले ति झन्झट व्यहोर्नुपर्दैन । जसरी यस क्षेत्रका अस्पतालहरुको उदयसँगै बिरामीहरुलाई क्यान्सर निदान र उपचारमा सहजता भएको छ ।

त्यसैगरी टिजिग कम्पनिका औषधिहरुको उपलब्धताले बिरामीहरुलाई विदेशी औषधि सरहकै गुणस्तरको प्रतिवद्धताका साथ सहज वातावरण बनाउँदै अघि बढेका छौं । यसबाट नेपाललाई विश्व औषधि बजारमा पहिचान दिने एउटा अवसर पनि जुटाएका छौं ।


यस कम्पनिले आफ्ना उत्पादनहरु औषधि व्यवस्था विभागबाट बिक्रीको अनुमति पाएसँगै व्यवसायिक रुपमा बिक्रीवितरण गर्नुअघि नै कम्पनिको सामाजिक उत्तरदायित्वअन्तर्गत क्यान्सर रोगीलाई विभिन्न तरिकाले सहयोग गरिरकेका अस्पताल, संघ संस्थामार्फत उचित व्यक्तिलाइ हस्तान्तरण गर्नेगरी विभिन्न मितिमा केही आफ्ना उत्पादनहरु हस्तान्तरण गरेको छ । कम्पनिले आफ्नो उत्पादनको व्यवसायिक अनावरणको कार्यक्रमम २०७८ साल फागुन ३ गते सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्