Logo
|
Wednesday 8th May 2024
Logo

epaper

समय नपुगी जन्मिएका २० प्रतिशत शिशु अन्धोपनाको जोखिममा

बच्चा जन्मिएको ३० दिनभित्र आँखा परीक्षण गराउन विज्ञको सुझाव



फाइल फोटो

जनस्वास्थ्य सरोकार, काठमाडौँ । समय नपुगी जन्मिएका शिशुको आँखा परीक्षण नगराएमा २० प्रतिशत शिशु अन्धो हुनसक्ने चिकित्सकहरुले बताएका छन् ।


त्यस्ता शिशुको अन्य शारीरिक बनावटसँगै आँखाको विकास पनि राम्रोसँग भई नसकेका हुँदा ‘रेटिनोप्याथी अफ प्रिम्याच्युरिटी’ ‘आरओपि’ का कारण अन्धो हुनसक्ने विज्ञहरुको भनाई छ ।


समयमा उपचार नपाए महिना नपुगी जन्मिएका २० प्रतिशत शिशुमा अन्धोपना हुनसक्ने नेत्रधाम अस्पताल काठमाडौँका रेटिना विज्ञ डा. संयम बजिमयले बताउनुभयो ।


उहाँले भन्नुभयो–‘समय अगावै जन्मिएको बच्चालाई ३० दिनभित्र र समय पूरा भएर जन्मिएकाहरूलाई पनि ६ महिनाभित्र आँखा परीक्षण गराउनुपर्छ ।’


सात, आठ महिनामा जन्मिएका र १ दशमलव ५ किलोग्रामभन्दा कम तौल भएका शिशुको अनिवार्य आँखा परीक्षण गराउनु पर्ने उहाँले बताउनुभयो ।


त्यसैगरी भरतपुर अस्पतालको बाल सघन उपचार कक्षका प्रमुख, वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर ओमकृष्ण पाठकले पहिले कम तौलका शिशुहरूको उपचार कठिन हुने गरेको भन्दै प्रविधि र दक्ष जनशक्तिद्वारा उपचार गराउँदा कम तौलका शिशुहरूलाई बचाउन सकिएको बताउनुभयो ।

उहाँले शिशुलाई बचाउनु पहिलो प्राथमिकता हुने भन्दै त्यस्ता शिशुहरूको शरीरका अङ्गहरू पनि कमजोर हुने बताउनुभयो । ‘समय अगावै जन्मिएका शिशुहरूलाई रेटिनोप्याथी अफ प्रिम्याच्युरिटी प्रमुख समस्या हुने गरेको छ ।’– उहाँले भन्नुभयो ।

बाल सघन उपचार कक्षमा राखेर अक्सिजन दिएका, संक्रमण भएका, जन्मँदा कृत्रिम श्वासप्रश्वास दिनु परेका, लामो समय सिप्याप र भेन्टिलेटरमा राखेर उपचार गरेका शिशुलाई आँखामा समस्या आउने पाठकको भनाई छ । ।

चितवन मेडिकल कलेजमा क्रिटिकल केयर हेर्दै आउनु भएका बाल रोग विशेषज्ञ डाक्टर विराज पराजुली ३७ हप्ता अघि जन्मिएका शिशुको शरीरले पूर्णता नपाउने बताउनुभयो ।

त्यस्ता शिशुको आँखाको रेटिना विकास नहुँदै अक्सिजन दिनु पर्ने अवस्था आयो र संक्रमण भयो भने आँखामा समस्या आउने उहाँको भनाई छ । ३७ हप्ताभन्दा कम समयमा जन्मिएका र ३० दिनभित्रै अक्सिजन दिनुपर्ने र संक्रमण भएका शिशुको आँखामा जोखिम बढी हुने उहाँको भनाई छ ।

नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालका बाल नेत्ररोग विशेषज्ञ डाक्टर मनीषा श्रेष्ठले कम उमेरमा जन्मिएका शिशुहरूको कम तौल हुने र उनीहरूमा विशेष प्रकारको समस्या आउने बताउनुभयो । आँखाको पर्दामा असर देखिने भन्दै उहाँले रेटिनोप्याथी अफ प्रिम्याच्युरिटी ‘आरओपि’ को सम्भावना धेरै हुने बताउनुभयो ।


शनिबार भरतपुर आँखा अस्पतालको आयोजनामा कम उमेरमा जन्मिएका शिशुहरूको आँखा उपचार सम्बन्धमा बालरोग विशेषज्ञहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो ।


भरतपुर आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा रेटिना विज्ञ डाक्टर संयम बजिमय, भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर ओमकृष्ण पाठक, भरतपुर आँखा अस्पताल बाल आँखा रोग विशेषज्ञ डा मनीषा श्रेष्ठ लगायतले प्रस्तुतीकरण एवं अन्तक्र्रिया गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्