Logo
|
Saturday 27th April 2024
Logo

epaper

काठमाडौं उपत्यकाका यी पाँच स्थानमा भेटियो हैजाका बिरामी, के हैजा फैलिएको हो ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौँ उपत्यकाका पाँच ठाउँमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

बर्खायाममा अस्पताल भर्ना हुने झाडापखालाका बिरामी बढिरहँदा हैजाका बिरामी पनि फेला परेको महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताउनुभयो ।

‘शुरूमा काठमाडौँको बागबजारमा दुईजना बिरामी फेला परेका हुन्। धेरै सिकिस्त भएकोले आईसीयूमै भर्ना गर्नुपर्‍यो, तर अहिले जेनरल वार्डमा सारिएको छ ।’

त्यसबाहेक काठमाण्डूकै डिल्लीबजार, बोहोराटार, कपन र ललितपुरको सानेपामा हैजाका एक-एकजना बिरामी भेटिएको उहाँले जानकारी दिनुभयो । डा. दासका अनुसार भर्ना भएका हैजाका बिरामीहरू १८ वर्षदेखि ५५ वर्षका रहेका छन्।

फेला पारिएका सबै बिरामीले खाने गरेको पानीको नमुना सङ्कलन गरी जाँच गर्दा झाडा पखाला गराउने जीवाणु पाइएको डा. दासले जानकारी दिनुभयो ।


‘बागबजारका बिरामीको हकमा उहाँहरूले खाने पानीको जाँच गर्दा झाडा पखाला गराउने ईकोलाइ र कोलिफर्म दुइटै जीवाणु देखियो,’– उहाँँले थप्नुभयो–‘उहाँहरूले घरमा धारा र ट्युबवेलको पानी जम्मा गर्नुहुँदो रहेछ अनि पानी सीधै नउमाली अथवा पानी शुद्धीकरण गर्ने कुनै विधि नअपनाई खानुहुँदो रहेछ।’

सबै बिरामीको हकमा हैजाको कारण दूषित पानी भएको देखिएको बताउँदै डा. दासले भन्नुभयो–‘दूषित कहाँ भयो भन्ने कुरा पत्ता लगाउन हामी लागिपरेका छौँ।’

सन् २०१५/१६ यता काठमाडौँ उपत्यकामा हैजाका बिरामी फाटफुट देखिने गरेको उहाँले बताउनुभयो । काठमाण्डूलाई इन्डेमिक शहरको रूपमा लिएको उहाँको भनाइ छ ।

नियन्त्रणका लागि के गरिँदैछ ?
हैजा पुष्टि भएसँगै कारण पत्ता लगाउन एवं रोकथाम तथा नियन्त्रणबारे सुझाव दिन जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डूले छानबिन टोली गठन गरेको छ।

छ सदस्यीय टोलीले काम पनि थालिसकेको त्यसका संयोजक तथा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डूका प्रमुख वसन्त अधिकारीले बताउनुभयो ।

‘प्रारम्भिक नतिजा हेर्दा उहाँहरू हैजा पुष्टि भएका बिरामीहरूे ले खानयोग्य पानी नखाएको पाइएको छ। हामीले पानीका थप नमुना लिने काम पनि गरिरहेका छौँ।’

उहाँले थप्नुभयो–‘अस्पतालले रिपोर्ट गर्नेबाहेक ठूला अस्पताल तथा स्वास्थ्य चौकीमा आफैँ पुगेर अनि नगएको दिन फोनमार्फत् निगरानी गर्ने काम एप्रिलदेखि नै गरिरहेका छौँ। अहिले हामी थप चनाखो भएका छौँ।’

काठमाडौँका अन्य ठाउँमा पनि हैजा फैलिएको हुन सक्ने डा.दासको अनुमान छ। ‘झुपडी बस्तीहरू हैजाका लागि सम्भावित ठाउँ हुन सक्छन्। त्यो भएर हामीले वाग्मती नदी किनारका सुकुम्बासी क्षेत्रलाई लिएर चनाखो भएका छौँ,’ उहाँले थप्नुभयो ।

हैजाबारे सचेतना फैलाउने काम तथा पानी आपूर्ति गर्ने सरकार निकायका साथै निजी कम्पनीहरूलाई पानी राम्रोसँग शुद्धीकरण गरेपछि मात्रै आपूर्ति गर्न पनि आफूहरूले भनेको प्रमुख अधिकारीले बताउनुभयो। बीबीसी

प्रतिक्रिया दिनुहोस्