Logo
|
Thursday 18th April 2024
Logo

epaper

स्वस्थ शहर धुलिखेलको बहार, जनताको घरदैलोमा गुणस्तरीय स्वास्थ्य उपचार



जनस्वास्थ्य सरोकार, काभ्रे । धुलिखेल नगरपालिकालाई स्वास्थ्य पर्यटन गन्तव्यका रुपमा विकास गर्ने योजना अगाडि सारिएको छ। आर्थिक वर्ष २०७९र८० को नीति, कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठले ‘स्वस्थ शहर धुलिखेलको बहार, जनताको घरदैलोमा गुणस्तरीय स्वास्थ्य उपचार’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिने भएको हो।

स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर नसर्ने रोगको प्रकोप नियन्त्रण गर्न ‘एनसिडी’ कार्यक्रममार्फत दीर्घरोगीलाई घरघरमा औषधि पुर्‍याउने तथा स्वास्थ्य परीक्षण व्यवस्थापन गरिने भएको छ। स्वास्थ्य सूचना केन्द्रलाई अझ बढी प्रभावकारी बनाई स्वास्थ्य सूचनामा जनताको पहुँच विस्तार गर्न ‘ड्यासबोर्ड’ कार्यक्रम सञ्चालन गरिने र स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा नमूनायोग्य क्रियाकलाप सञ्चालन गर्ने नीतिलाई अगाडि सारिएको छ।

आत्महत्या नियन्त्रणका लागि मानसिक तथा मनोसामाजिक नीतिअनुरुप उपचारको अभियानको कार्यक्रमलाई तीव्रता दिइने, स्वास्थ्य क्षेत्रमा विश्वस्वास्थ्य सङ्गठनलगायत बहुक्षेत्रगत स्वास्थ्य अभियान सञ्चालन गरी बहुआयामिक र दिगो स्वास्थ्य सेवाको सुनिश्चितता गरिने, काभ्रे भञ्ज्याङमा निर्माणाधीन नगर अस्पतालको बाँकी कार्यसम्पन्न गरी चालू आवबाट सञ्चालनमा ल्याइने र अस्पतालमा सरुवा रोग तथा डाइलासिस सेवाको उपलब्धताका लागि आवश्यक व्यवस्था गरिनेछ। नगरका उपयुक्त स्थानमा आवश्यकताअनुरुप ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र र बालबालिका हेरचाह गृह स्थापना गरिने, आयुर्वेद औषधालयको भवन निर्माण सम्पन्न गरी औषधालयको सेवालाई आयुर्वेद अस्पतालका रुपमा विस्तार गरिने भएको छ।

महिला स्वयंसेविका स्वास्थ्य समन्वय समितिलाई तालिम प्रदान गरी स्वास्थ्य सेवा अभिवृद्धि गरिने र नगर क्षेत्रका महामारी प्रभावित, अतिअशक्त विपन्न नागरिक, सुत्केरी, गर्भवती तथा प्रसूति सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा सुनिश्चित गरिने छ।

त्यसैगरी शिक्षा क्षेत्रको विकासका लागि बहुप्रतिभा पहिचान तथा विद्यार्थीको चौतर्फी विकास गर्न विविध विधागत कक्षा सञ्चालनका लागि यात्री शिक्षकको व्यवस्था गरिने र उच्च शिक्षाअन्तर्गत स्नातक तह अध्ययन गर्ने धुलिखेल नगरपालिकाका स्थायी बासिन्दालाई मासिक पढाइ शुल्क पूर्ण निःशुल्क र अन्य स्थानीय तह वा जिल्लाबाट धुलिखेलमा अध्ययन गर्ने विद्यार्थीका लागि कलेज र नगरपालिकाको लागत साझेदारीमा ५० प्रतिशत शुल्क मिनाहाका लागि अनुदानको व्यवस्थालाई यस वर्षसमेत निरन्तरता दिइनेछ। रासस

प्रतिक्रिया दिनुहोस्