Logo
|
Wednesday 10th August 2022
Logo

epaper

एमबीबीएस पढ्नेलाई ताप्लेजुङको मैवाखोला गाउँपालिकाले २० लाख सहयोग गर्ने



जनस्वास्थ्य सरोकार, ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ। यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ।

यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ। गत शुक्रबार मैवाखोलाको ११औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो। गाउँपलिकाले एमबीबीएस पढाउन सहयोग गर्न लागेको प्रवक्ता चन्द्रकुमार तामाङले बताए। आगामी आर्थिक वर्ष २०७९/८० को बजेटबाट एमबीबीएस पढाउनका लागि २० लाख बजेटसमेत गाउँपालिकाले विनियोजन गरेको उनले बताए।

गाउँपालिकाभित्रका विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षामा उत्तीर्ण हुने एक विद्यार्थीलाई गाउँपालिकाले पढाइमा लाग्ने खर्च तथा अन्य खर्चसमेत उपलब्ध गराउने प्रशासकीय अधिकृत देवी तुम्बापोले जानकारी दिए।

‘एमबिबिएस पढाउनका लागि गाउँपालिकाले पहिलोपटक २० लाख विनियोजन गरेको छ। प्रत्येक वर्ष बजेट विनियोजन गर्दै जाने छ’, उनले भने। सुगमदेखि दुर्गममा गाउँमा डाक्टर आउन नमान्ने र आइहाल्ले पनि लामो समय नबस्ने भएकाले आफ्नै गाउँबाट डाक्टर उत्पादन गर्नतिर लागेको मैवाखोलाका अध्यक्ष विजय प्रकाश वनेमले बताए।

पालिकाभित्रका ज्येष्ठ नागरिक अपाङ्गता भएका नागरिकका लागि प्रत्येक महिना घरमै स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि उपचार गर्ने गाउँपालिकाले जनाएको छ। गाउँपालिका केन्द्र साँघुमा एक जना एमबीबीएस डाक्टरको पदपूर्ति गर्ने र फार्मेसी सेवासमेत सञ्चालन गर्न गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेको उनले बताए।

गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र अतिविपन्न नागरिकलाई नेपालभित्रका जुनसुकै स्वास्थ्य संस्थासम्म पुर्‍याउन न्यूनतम सेवा शुल्कका आधारमा सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्