प्रितिशको युटुवर बन्ने सपना
अटिजम भएकामध्ये एसईई गर्ने पहिलो नेपाली
अग्लो कद, शालीन स्वभाव छ । नचिनेका मानिससँग आँखा जुधाएर कुरा गर्न सक्दैनन् । २० वर्षका उनी चेल्सी कलेजमा ‘ए लेवल’ को अध्ययन गर्छन् । अध्ययनमा अब्बल छन् । नेपाली त्यति बोल्दैनन् । तर अंगे्रजीमा राम्रो दख्खल छ । प्रितिश शाक्य अटिजम भएका बालबालिकाहरूमध्ये एसईई उत्तीर्ण गर्ने पहिलो व्यक्ति हुन् । उनले २०७७ सालमा विशालनगरको अल्कापुरी माध्यमिक विद्यालयबाट ३.८५ जीपीए ल्याएर एसईई उत्तीर्ण गरेका थिए । यसपालीको स्थानीय निर्वाचनमा प्रितिशले भोट पनि दिएका छन् ।
प्रितिशको बोली नफुटेपछि…
प्रितिशको करिब साढे चार वर्षसम्म बोली फुटेन । दुई वर्षमा बोली नफुटेपछि कानको डाक्टरलाई देखाइयो । समस्या पहिचान भएन । उनलाई देशका थुप्रै निजी तथा सरकारी अस्पतालहरुमा लगियो । तर रोग पत्ता लाग्न नसकेको प्रितिशका बुवा दिपक शाक्य बताउनुहुन्छ ।
बोली नफुटेका बालबालिकालाई देवीदेवताका मन्दिरमा लैजादा बोली फुट्ने सामाजिक मान्यता अनुसार प्रितिशलाई विभिन्न मन्दिरहरुमा समेत नलगिएको होइन । तर बोली फुटेन । त्यसपछि ‘स्पिच थेरापी’ मा लगियो । ढेढ वर्षजति उनलाई हरेक दिन ४५ मिनेट भोकल थेरापी गराइयो । तर नतिजा शून्य ।
‘एकपटक प्रितिशलाई त्रि.वि.शिक्षण अस्पताल लगेको बेला एक जना डाक्टरले मस्तिष्कमा समस्या भएको जानकारी दिनुभयो । अस्पतालका बालरोग विशेषज्ञ डा.अजित रायमाझीले प्रितिशलाई भारत लैजान सुझाव दिनुभयो । एकजना अकुपेशनल थेरापिष्टले ‘माइल्ड टु मोडरेट’ अटिजम भएको बताउनुभयो । त्यसपछि प्रितिशलाई बाँसबारीस्थित डा.उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पताल लगियो ।
बच्चालाई अटिजम भएको र पढाइ लेखाइ गर्ने आशा नगर्न र समय खेर नफाली भोकेस्नल पढाइ मात्र थाल्न डाक्टरले सुझाव दिएको शाक्य १६ वर्ष अघिको तितो अनुभव स्मरण गर्दै भन्नुहुन्छ—‘त्यो बेला धेरैलाई अटिजम सम्बन्धि ज्ञान थिएन । सहयोग गर्ने कुनै संघ संस्था पनि थिएनन् । उपचारका लागि अमेरिका जाने सामथ्र्य कमै हुन्थ्यो ।’
जब बाबु रेलिङमा झुन्डिन्थ्यो…
प्रितिशको बाल्यकाल न्यूरोडस्थित आफ्नै घरमा बित्यो । उनी अनौठा क्रियाकलापहरु गर्थे । कुनै गोलाकार वस्तु घुमेको देखेमा एकोहोरो हेरिरहन्थे । कागजको सानो टुक्रामा थुक लगाएर झ्यालबाट फाल्थे । घरको रेलिङमा झुन्डिएर बस्थे । ‘त्यो बेला हामी घरको छैटौँ तल्लामा बस्थ्यौँ । बाबु भ-याङको रेलिङमा झुन्डिन खोज्थ्यो । छिमेकीले तपाइको छोरा रेलिङबाट खस्न लाग्यो छिटो जानुस् भन्दा कैयौँ पटक झस्किएका छौं ।’— आमा सबिना बज्राचार्य स्मरण गर्नुहुन्छ । डर र त्रासबीच न्यूरोडको घरमा बस्न नसक्ने अवस्था आएपछि उहँहरु घर बेचेर खुशिबुमा डेरा सर्नुभएको थियो ।
अरुको खेलौना खोस्न झम्टने
प्रितिश तीन वर्ष पुगेपछि प्ले गु्रपमा भर्ना गरियो । विद्यालय र डेरा नजिकै थियो । उनको स्वभाव अन्य बालबालिका भन्दा फरक थियो । साथी बनाउन चाहँदैनथे उनी । खेलौना बोकेर कक्षाकोठाको कुनामा टोलाएर बसिरहन्थे । अरु कसैको खेलौना देखे झम्टेर लिन्थे । दिपक भन्नुहुन्छ –‘हामीले बाबुलाई खुशिबुस्थित टाइनी सिड्स स्कुलमा भर्ना ग-यौँ । हामी नजिकैको डेरामा बस्ने अरु दुईतीन जना बालबालिका पनि सोही स्कुलमा पढ्थे ।
बाबुलाई सानैदेखि साइकिलिङ, स्वीमिङलगायतका आउटडोर गेम सिकाउदैँ गयौँ । उसले विस्तारै सिक्दै गयो । बाबुको गणितमा एकदमै राम्रो थियो । यूकेजीमा पढ्दा ४ अङ्कको जोडघटाउ मन मनैमा गरेर आफैं जवाफ दिन्थे ।’
शिक्षकलाई हातपात गर्न खोजेपछि..
प्री–स्कूल सक्दा प्रितिश सात वर्षका थिए । उमेर बढेपनि बौद्धिक क्षमता कमजोर थियो । बौद्धिक क्षमता अनुसार नै शिक्षा दिनुपर्ने सोचेर प्रितिशलाई दुइवर्षसम्म नर्सरीमै पढाइयो । उसको व्यवहारमा केही सुधार आएपछि यूकेजीबाट सिधै कक्षा दुई भर्ना गरियो । तर एकदिन प्रितिशले नेपाली विषय पढाउने शिक्षकलाई हातपात गर्न खोजेछन् । विद्यालयले उनलाई कारबाही गरी कक्षाबाट निकालिदियो । शाक्य भन्नुहुन्छ– ‘छोराको अनौठो व्यवहार देखेर केही स्कूलले भर्ना लिनसमेत मानेनन् । कतिपय विद्यालयले मुस्किलले भर्ना लिएपनि केही समयपछि विभिन्न बहानामा निष्कासन गरिदिन्थे ।’
प्राय विद्यालयहरुको एउटै गुनो हुन्थ्यो—हाम्रो विद्यालयसँग यस किसिमका विद्यार्थीहरु पढाउन स्रोत साधन छैन र हाम्रा शिक्षकहरुसँग तालिम छैन । थुप्रै विद्यालयहरुले देखाएको सद्भाव र समर्थनका कारण नै प्रितिशले एसईई उत्तीर्ण गर्न सक्षम भएको आमा सविना बताउनुहुन्छ ।
भगवानप्रति अविश्वास
चार वर्षअघि काभ्रो साँगाको आशापुरी महादेव दर्शन गर्न जाँदा प्रितिशले आफूलाई भगवानप्रति अविश्वास रहेको भन्दै भक्तजनहरुलाई अंग्रेजीमा गालीसमेत गरेको बुवा दिपक बताउनुहुन्छ । दर्शन गर्न आउने भक्तजनहरुलाई अवज्ञा गर्दै चप्पल लगाएर मन्दिर भित्र पसेपछि पुजारीले उनलाई मन्दिरबाट बाहिर निकालेका थिए ।
गणेश मन्दिर दर्शन गर्दा एकजना आमालाई धकेलेपछि प्रितिशले थप्पड खाएका थिए । केटा मान्छेलाई देखेभने थुक्दै हिड्थे । विवाह भोजमा जाँदा प्रितिश भुईमा लडीबुडी गर्ने बुवा दिपक बताउनुहुन्छ ।
अटिजमबारे जान्ने हुटहुटी
नेपालमा अटिजम पहिचान भएतापनि कुनै उपचार थिएन । त्यसैले इन्टरनेटको माध्यमबाट अटिजमबारे गरिएका विभिन्न खोज र अनुसन्धानहरू पढ्न थाल्नुभयो दीपक शाक्यले । सोही क्रममा अटिजम भएका बालबालिका हेर्ने एउटा संस्थाले प्रकाशन गरेको ‘रिकभरिङ अटिस्टिक चाइल्ड’ नामक पुस्तकबारे थाहा पाएपछि अमेरिकामा बस्ने आफन्त मार्फत् उक्त पुस्तक नेपालमा झिकाउनुभयो । पुस्तकमा अटिजम र यसबाट प्रभावित बालबालिकाको परिवारले ख्याल गर्नुपर्ने धेरै विषयहरु समावेश गरिएका थिए । केहि समयपछि अटिजम भएका बालबालिकाहरूको अभिभावकहरूको अन्तर्राष्ट्रिय संगठनमा समेत उहाँ आवद्ध हुनुभयो । इन्टरनेटको माध्यमबाट छोरालाई घरमै विभिन्न शिक्षामुलक ज्ञान सिकाउँदै अघि बढेको उहाँ बताउनुहुन्छ ।
मेरो छोराको अटिजम रिकभरीको श्रेय म त्यस व्यक्तिलाई दिन चाहन्छु जसले इन्टरनेटको आविश्कार ग¥यो—दिपक भन्नुहुन्छ ।
‘इन्टरनेटको माध्यमबाट ‘एक्सन फर अटिजम’ नामक भारतीय संस्थाबारे थाहा पाएँ । उक्त संस्थाले अटिजम भएका बालबालिकालाई विभिन्न किसिमका सीपमूलक तालिम दिँदै आइरहेको रहेछ । अटिजमबारे थप शिक्षा हाँसिल गर्न भारत प्रस्थान गरेँ ।’—दिपक भन्नुहुन्छ—‘त्यहाँ बच्चाको व्यवहारमा आउने भिन्नतामा लक्षण अनुसार उपचार गर्दै जानुपर्ने शिक्षा प्राप्त गरेँ ।’
भारतबाट फर्किंदा उहाँले अटिजमबारे लेखिएका थुप्रै पुस्तक र शिक्षण सामाग्रीहरु लिएर आउनुभएको थियो । केहि समयपछि प्रितिशको मानसिक स्वास्थ्य जाँच पश्चात् सक्रिय गतिविधि गर्न सहयोग पुग्ने औषधि शुरु गरेको दिपकले सुनाउनुभयो ।
अपाङ्गता परिचय पत्र
नागरिकता बिना अपाङ्गता परिचयपत्र बनाउन नमिल्ने नेपाली कानून छ । १६ वर्ष पुगेपछि प्रितिशले नागरिकता बनाए । त्यसपछि अपाङ्गता परिचय पत्र । यस परिचयपत्रले उनलाई यात्रामा सहुलियत मिलेको छ ।
अटिजमबारे बुझ्न जरुरी
आम जनमानसले अटिजमबारे बुझ्न जरुरी छ । अटिजमलाई समाजले स्वीकार नगरेसम्म परिवारलाई समाजमा घुलमिल गर्न गाह्रो हुने बुवा दिपकको बुझाइ छ ।
‘मदर चाइल्ड ट्रेनिङ’
‘अटिजम केयर नेपाल’ को संस्थापक सदस्य हुनुहुन्छ दिपक । यस संस्थाले अटिजम भएका बालबालिकाहरूका लागि प्रशंसायोग्य काम गरिरहेको छ । डा.सुनिता मलेकुको अध्यक्षतामा मुलुकमा पहिलोपटक यो संस्था स्थापना भएको हो । संस्थाले ‘मदर चाइल्ड ट्रेनिङ’ सुरु गरेको छ । अहिले अटिजम केयर नेपालले सातै प्रदेशमा शाखा विस्तार गरेको छ ।
दृष्टिकोण बदलौं
अटिजम भएका बालबालिकाहरुलाई अन्य साधारण बालबालिकालाई जस्तै व्यवहार गर्नुहोस् । आफ्नो बच्चालाई अन्यसँग तुलना गरेर कहिल्यै निराश नबनाउनुस् । अभिभावकले बालबालिकाको राम्रो हेरचाह गर्नुपर्छ । बच्चाको सामाजिक, मानसिक र भावनात्मक विचारलाई ख्याल गर्नुपर्छ । अटिजम भएका बालबालिकाहरूको मानसिक सहयोगी बन्नुहोस् । उचित शिक्षा, परिवारको साथ र सहयोग पाए उनीहरू आत्मनिर्भर हुन सक्छन् ।
यदि आफ्नो बच्चा अरुभन्दा फरक देखिए त्यो फरकतालाई स्विकार गर्नुहोस् । मेरो बच्चा ठीकै छ भनेर नबस्नुस् किनकि अटिजमको उपचार भनेको थेरापी नै हो । सग्लो व्यक्तिलाई थेरापीले हानी गर्दैन लाभ नै पु¥याउँछ । तर समयमा नै बच्चाले उपचार नपाएमा उसमा सुधार गर्न सकिने सुनौले समयको लाभ लिन हामी चुक्न सक्छौं ।
प्रितिश के भन्छन् ?
कलेजको वातावरण एकदमै राम्रो छ । सबै शिक्षकहरू सहयोगी हुनुहुन्छ । तर अटिजम भएका व्यक्तिहरूलाई नयाँ साथी बनाउन र समाजमा घुलमिल हुन निकै कठिन हुने रहेछ । कलेजमा एकजना साथी पनि बनाउन सकेको छैन ।
अरूलाई विश्वास गर्न समय लाग्ने रहेछ । सानैदेखि भिडियो गेमिङमा रुचि राख्थेँ । अहिले पनि उत्तिकै रुचि राख्छु । मेरो ३०० सबस्क्राइबर भएको युट्युब च्यानल पनि छ । भविष्यमा सफल युट्युबर बन्ने सपना छ ।