Logo
|
Friday 19th April 2024
Logo

epaper

ब्रेन एन्युरिजम: जोखिम वर्ग, उपचारका विधि र सफलता




दिमागको रगतको नसामा हुने बेलुनजस्तो फकुन्डोलाई एन्युरिजम भनिन्छ । वास्तवमा एन्युरिजम दिमागको सबैभन्दा जटिल समस्यामध्येको एक हो । दक्षिण एशियाली मुलुकहरुमा धेरैलाई ब्रेन एन्युरिजम हुने गरेको पाइन्छ ।

डेमोग्राफिक अध्ययन गर्दा अमेरिकन मुलुकको तुलनामा एसियन मुलुकहरुमा एन्युरिजम धेरै देखिने गरेको पाइएपनि के कारण हो भन्ने एकिन हुन सकेको छैन ।

एन्युरिजम कसरी हुन्छ ?
उच्च रक्तचाप भएकाहरुमा एन्युरिजमको जोखिम हुनसक्छ । चुरोट सेवनले मांशपेसीका साथै रक्तनलीहरुलाई कमजोर बनाउँछ । यसबाट पनि एन्युरिजमको विकास शुरु हुन्छ ।

कतिपय बिरामीमा वंशाणुगत कारण पनि हुनसक्छन् । एन्युरिजम महिलाहरुमा बढी हुने गरेको तथ्याङ्कहरुले देखाउँछन् ।

जोखिम वर्ग
उच्चरक्तचापसम्बन्धि दीर्घरोगी, धुम्रपान गर्ने व्यक्ति, वंशाणुगत कारण भएकाहरु एन्युरिजमको जोखिम वर्गमा पर्दछन् ।

नियमित चेक जाँचमा एन्युरिजम पहिचान हुन्छ ?
एन्युरिजम फुटेको र नफुटेको दुवै प्रकारका हुनसक्छन् । नफुटेको एन्युरिजममध्ये थोरैले मात्र लक्षण देखाउँछ । सिटी स्क्यान वा एमआरआई गरेर नसाको फकुन्डोजस्तो देखिएमा त्यो नफुट्दै पत्ता लगाउन सकिन्छ ।

कतिपय बिरामी एन्युरिजम फुटेपछि आउने गरेका छन् । एन्युरिजम फुटेपछि ज्यानको जोखिम निकै बढेर जान्छ । नफुट्दै पहिचान गरी समयमा उपचार गर्न सके ज्यान जोगाउन सकिन्छ ।


एन्युरिजमको उपचार
एन्युरिजम फुटेका १० प्रतिशत बिरामी अस्पताल आउन नपाई ज्यान गुमाउन पुग्छन् । अस्पताल पुगेका बिरामीलाई पहिलो हप्तासम्म अत्यधिक खतरा हुन्छ । एन्युरिजमलाई समयमा शल्यक्रियामार्फत उपचार गरिएमा फेरि फुट्ने जोखिमबाट बचाउन सकिन्छ ।

तर सर्जिकल उपचार भएका ३० देखि ४० प्रतिशत व्यक्तिको विभिन्न कम्प्लिकेसनले ज्यान जाने खतरा रहन्छ । त्यसैले एन्युरिजम फुटेर उपचारका लागि आएका बिरामीमध्ये ५० देखि ६० प्रतिशतको ज्यान बचाउन सम्भव हुन्छ ।

एन्युरिजमको जटिल पक्ष
एन्युरिजम दिमागको सबैभन्दा जटिल समस्या हो । ज्यानको जोखिम गराउने एन्युरिजम फुट्दा रक्तचाप भई दिमागको सुजन गराउँछ । दिमागमा बगेको रगतले नशाहरुलाई खुम्च्याएर पक्षघातसम्म गराउन सक्छ । यस रोगले शरीरमा नुनपानीकोसमेत गडबड गरी मिर्गीसमेत गराउनसक्छ ।

उपचारका प्रविधिहरु के के छन् ?
टाउको खोलेर (सर्जरी) र नखोलीकन (इन्डोभास्कुलर) एन्युरिजमको उपचार पद्धति हुन् । टाउको खोलेर क्लिप राख्ने एन्युरिजमको एक उपचार विधि हो भने हात वा गोडाको नसाबाट क्याथेटर छिराएर इन्डोभास्कुलर प्रविधिबाट क्वाइलिङ गर्ने अर्को विधि हो ।

नेपालमा पहिलोपटक यस अस्पतालमा भित्र्याइएको वाइप्लेन क्याथल्यावबाट इन्डोभास्कुलर प्रविधिअन्तर्गत धेरै बिरामीको एन्युरिजम कोइलिङ भइसकेको छ । साथै दिमागको शल्यक्रिया गरी क्लिपिङ पद्धतिबाट निरन्तर सेवा दिँदै आइरहेको सर्वविधितै छ ।

यो विधि कतिको सुरक्षित मानिन्छ ?
सर्जरी र इन्डोभास्कुलर दुवै विधि सुरक्षित भएको विश्वका धेरै अध्ययनहरुले देखाएका छन् । दुवैको क्षमता राम्रो छ । दुवैको इपिकेसी तुलनात्मक रुपमा राम्रो मानिन्छ । हाम्रो अनुभवमा पनि यो तथ्य तुलनात्मक छन् ।

रोकथाम
वंशाणुगत एन्युजिम भएका व्यक्तिहरुले आफ्नो रक्तचापलाई सही सन्तुलनमा राख्ने, चुरोट र रक्सीको सेवन नगर्ने र नियमित स्वास्थ्य परीक्षण गरी एन्युरिजम फुट्न अघि पत्ता लगाउन सकेमा ज्यान जाने जोखिमबाट बचाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्