Logo
|
Wednesday 24th April 2024
Logo

epaper

‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी बन्दै



जनस्वास्थ्य सरोकार, सल्यान । सल्यानमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी देखिएको छ । 

विद्यालयमा विद्यार्थी बिरामी भए वा चोट पटक लागेमा वा जटिल स्वास्थ्य समस्या देखिए तुरुन्त ठूलो स्वास्थ्य संस्थामा लैजान सहजताका लागि नेपाल सरकारले एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरेको छ । 

विद्यालयमा नियमित खटिने नर्सले प्राथमिक उपचारको सामाग्री तथा औषधिसहित सेवा दिन थालेपछि सबैभन्दा बढी छात्रा लाभान्वित भएका छन् । 

विद्यालयमा नै रजस्वला हुँदा कक्षा छोड्नु पर्ने तथा एक दुई दिन विद्यालय छोड्नु पर्ने बाध्यताबाट अहिले छात्राहरूले मुक्ति पाएका छन् । महिनावारी हुँदा आफ्नो समस्या शिक्षकसँग राख्न नसक्ने छात्राहरू विद्यालयमा कार्यरत स्वास्थ्यकर्मीसँग निर्धक्क राख्न थालेका छन् ।

एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन पछि आफूहरूलाई निकै सहज महसुस भएको शिव माध्यमिक विद्यालय शारदा नगरपालिका १२ मुलडाँडामा कक्षा १० मा अध्ययनरत छात्रा देविका भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो “अहिले  निःशुल्क सेनेटरी प्याड र प्राथमिक उपचार पाउँदा सहज भएको छ ।”

महेन्द्र रत्न माध्यमिक विद्यालय शारदा नगरपालिका–५ पिपलनेटामा कक्षा ८ मा अध्ययनरत मोनिका महर्जनले विद्यालय नर्स कार्यक्रम लागू भएपछि धेरै कुरामा सहज भएको बताउनुभयो । उहाँले भन्नुभयो “व्यक्तिगत सरसफाइ, पोषण, किशोरावस्थामा आउने परिवर्तन लगायतका विषयमा जानकारी प्राप्त गरेका छौँ ।”

शिव माध्यमिक विद्यालयमा कार्यरत स्कुल नर्स प्रेरणा घर्ती विगतमा महिनावारीकै कारण धेरै दिन पढाइ छुटाउनुपर्ने बाध्यता भएपनि अहिले विद्यालयमा अध्ययन गर्ने छात्रा नियमित आउने गरेको बताउनुभयो । 

विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्वास्थ्य सरसफाइ, विभिन्न रोगहरूको बारेमा स्वास्थ्य शिक्षा प्रदान गर्नुको साथै उनीहरूमा देखिने विभिन्न रोगहरूको प्राथमिक उपचार गरिँदै आएको उहाँको भनाइ छ ।

उहाँले विद्यार्थीहरूलाई मन परामर्श समेत गरिने बताउनुभयो । उहाँले कार्यक्रम लागु भएपछि सेनेटरी प्याड प्रयोग गर्ने छात्राहरूको सख्या बढ्नुको साथै आफ्ना समस्या भन्न सक्ने भएको बताउनुभयो । 

महेन्द्र रत्न माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रकाश हमालले स्कुल नर्स कार्यक्रम अत्यन्तै प्रभावकारी भएको बताउनुभयो । 

उहाँले कार्यक्रम लागू हुनुभन्दा अघि आफूमा आएको समस्या भन्न लजाउने विद्यार्थीहरू कार्यक्रम सुरु भएपछि निर्धक्क भन्न सक्ने भएको बताउनुभयो । 

स्वास्थ्य नागरिक उत्पादन गर्ने उद्देश्यले प्रत्येक बालबालिकाको स्वास्थ्य रेखदेखको लागि सल्यानको शारदा नगरपालिका भित्रका १० माध्यमिक विद्यालयका यो कार्यक्रम सञ्चालन भई रहेको छ । 

प्रतिक्रिया दिनुहोस्