Logo
|
Saturday 20th April 2024
Logo

epaper

कोरोना सङ्क्रमण भारत, पाकिस्तान र मलेसियामा क्रमशः कम हुँदै



जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारत, पाकिस्तान र मलेसियामा अघिल्ला दिनका तुलनामा कोरोना सङ्क्रमण दर क्रमशः घट्दै गएको छ । भारत सरकारले सोमबार सार्वजनिक गरेको विवरणअनुसार बितेका २४ घण्टामा सात हजार ५९१ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा ४५ जनाको मृत्यु भएको छ । यसैसँग कोरोना शुरु भएबाट हाालसम्म पाँच लाख २७ हजार ७९९ जनाको मृत्यु भइसकेको छ ।

भारतमा हाल ८४ हजार ९३१ जना सक्रिय सङ्क्रमित छन् । सङ्क्रमणका नयाँ बिरामी थपिएसँगै देशभर कोभिड–१९ पीडितको सङ्ख्या चार करोड ४४ लाख १५ हजार ७२३ पुगेको छ ।

यसैगरी, छिमेकी पाकिस्तानमा सोही अवधिमा २७० जना नयाँ सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । पाकिस्तानमा कोरोना लागेर ज्यान गुमाउनेको सङ्ख्या तीस हजार ५७५ पुगेको छ ।

गएको २४ घण्टा अर्थात् आइतबार मध्यरातिसम्म कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । सिन्ध प्रान्त महामारीबाट सर्वाधिक प्रभावित भएको तथा र पञ्जाव प्रान्तले उसलाई पछ्याइरहेको अधिकारीले बताएका छन् । एकसय १० जना बिरामीको अवस्था गम्भीर छ ।

यसैबीच, मलेसियामा कोरोना लागेर दुई जनाको मृत्यु भएको तथा दुई हजार १९१ जना नयाँ बिरामी थपिएका छन् । आइतबार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै स्वास्थ्य अधिकारीले अझै पनि देशभर ३२ हजार ९०१ जना सक्रिय सङ्क्रमित रहेका बताएका छन् । रासस–सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्