Logo
|
Friday 26th April 2024
Logo

epaper

आज विश्व आत्महत्या रोकथाम दिवस २०२२ः ‘आत्महत्या होइन, आशा जगाउनुस्’

नेपालमा यस वर्ष ६८३० जना व्यक्तिले आत्महत्याबाट ज्यान गुमाए



जनस्वास्थ्य सरोकार, काठमाडौं । विश्वभर आत्महत्या रोक्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सहकार्यमा हरेक वर्ष सेप्टेम्बर १० का दिन विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ । इन्टरनेशनल एसोसिएसन फर सुसाइड प्रिभेन्सन (आईएएसपी) ले हरेक वर्ष यो दिवस मनाउन ६० भन्दा बढी देशमा कार्यक्रम आयोजना गर्छ । विश्वमा तीव्र गतिमा बढ्दै गएको आत्महत्याको प्रवृत्तिलाई रोक्न सकिने भन्दै विश्व आत्महत्या रोकथाम दिवस पनि मनाउने गरिएको छ


नेपालमा स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हालै सार्वजनिक गरेको नेपालको तथ्यांकले आर्थिक वर्ष २०७८/७९ मा ६ हजार ८३० जना व्यक्तिले आत्महत्या गरेर ज्यान गुमाएका छन् । जुन गत वर्षको तुलनामा केही कम भएपनि समस्याले निकास पाउन सकेको छैन । गत आर्थिक वर्ष २०७७/७८ मा सात हजार १४१ जनाले आत्महत्या गरेका थिए ।


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार हरेक वर्ष विश्वमा करिब ८ लाख मानिसले आत्महत्याका कारण आफ्नो जीवन समाप्त गर्ने गरेका छन् । अर्थात् विश्वको कुनै न कुनै भागमा प्रत्येक ४० सेकेन्डमा एकजनाले आत्महत्या गर्छन् । अधिकांश आत्महत्या १५ देखि २९ वर्ष उमेर समूहका मानिसमा हुने गरेको छ । यसबाहेक यी आत्महत्याका घटनाहरूमध्ये धेरैजसो अल्पविकसित र विकासोन्मुख देशहरूबाट आउँछन् ।


आत्महत्या रोकथामका लागि अन्तर्राष्ट्रिय संघ (आइएएसपी) ले सन् २००३ बाट विश्व आत्महत्या रोकथाम दिवस मनाउन थालेको हो । यो दिन मानसिक स्वास्थ्यका लागि विश्व महासंघ (डब्लुएमएफएच) र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले प्रायोजन गरेको हो ।

आत्महत्या गर्ने व्यक्तिको व्यवहारबारे अनुसन्धान, चेतना फैलाउने र तथ्याङ्क सङ्कलन गर्नु यो दिवस मनाउने उद्देश्य रहेको छ ।

यी संस्थाहरूले आत्महत्या कसरी रोक्ने र कसरी यसबारे चेतना जगाउने भन्ने विषयमा विश्वभर धेरै कार्यक्रमहरू सञ्चालन गर्छन् ।
यस पटकको विश्व आत्महत्या रोकथाम दिवस २०२२ को नारा ‘क्रिएटिङ होप थ्रु एक्शन’ अर्थात् तपाईको कामबाट जनतामा आशा जगाउने हो ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार यस थिममार्फत हामी आत्महत्या गर्ने सोच भएका मानिसहरूलाई आशा छाड्नु हुँदैन भन्ने सन्देश दिन चाहन्छौं ।

हामीले सकेसम्म सानो वा ठूलो सहयोग गरेर त्यस्तो व्यक्तिको जीवनमा थोरै आशा भर्न सक्छौं ।

प्रतिक्रिया दिनुहोस्