Logo
|
Saturday 15th February 2025
Logo

epaper

नेपालमा घातक बन्दै नसर्ने रोगको प्रकोप: कस्ता रोगले लिन्छ धेरै ज्यान?



नेपाल हेल्थ न्युज, काठमाडौँ । सरकारले बिहीवारबाट नसर्ने रोगहरूको देशैभरि निस्शुल्क परीक्षण अभियान सुरु गरेसँगै त्यस्ता रोगहरूको प्रकोपबारे फेरि एक पटक चर्चा हुन थालेको छ।

चिकित्सकहरूले केही वर्षदेखि नेपालमा नसर्ने रोगहरू विरामीको मृत्युको प्रमुख कारण बनेको भन्दै त्यसबारे चिन्ता व्यक्त गर्दै आएका छन्। विभिन्न अध्ययनहरूले पनि नेपालमा नसर्ने प्रकृतिका रोगहरू प्रकोप जस्तै गरि बढिरहेको देखाएका छन्।

यस्तो स्वास्थ्य समस्याबाट वयस्क मात्र नभई बालबालिका पनि पीडित भएको ती प्रतिवेदनमा उल्लेख भएको पाइन्छ। यद्यपि जनस्वास्थ्यविद् तथा चिकित्सकहरू अझै पनि नसर्ने रोगहरूबारे प्रभावकारी तथ्याङ्क सङ्कलन हुन नसकिरहेको बताउँछन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌का अधिकारीहरूका अनुसार सन् २०२० मा पछिल्लो पटक नेपालमा नसर्ने रोगको अवस्थाबारे विस्तृत रूपमा गरिएको अध्ययन प्रतिवेदन प्रकाशित भएको थियो।

सरकारले नसर्ने रोगबारे नीति बनाउँदा तथा अभियानहरू चलाउँदा मुख्यतः उक्त अध्ययन तथा प्रतिवेदनहरूलाई आधार मान्ने गरेको छ।

त्यसका अतिरिक्त नेपालमा नसर्ने रोगका कारण हुने मृत्युको नियमित रूपमा विवरण सङ्कलन हुने गरेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन्। तर त्यस्तो विवरणलाई पूर्ण मान्न नसकिने उनीहरूकै भनाइ छ। मानिसहरू शोकमा रहेको अवस्थामा कैयौँ मृत्युको विवरण सरकारी निकायसम्म नआउने गरेको उनीहरूको अनुभव छ।

विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य अनुसन्धान परिषद्‌ले गरेको सन् २०१९ मा एउटा विस्तृत तथा देशव्यापी अध्ययन गरको थियो। त्यसको अर्को वर्ष प्रकाशित अध्ययन प्रतिवेदनअनुसार नेपालमा ७१ प्रतिशत मृत्युको कारण नसर्ने रोग देखिएको छ।

‘मृत्युको कारणमध्ये ७१ प्रतिशत नसर्ने रोग र झन्डै ८ प्रतिशत सडक दुर्घटना देखिएको छ’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भन्नुभयो ।

दातृनिकायकै सहयोगमा सन् २०१७ मा गरिएको अध्ययनले चाहिँ त्यस्तो प्रतिशत ६६ रहेको देखाएको थियो। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्‌ले सन् २०२३ मा प्रकाशित गरेको अर्को प्रतिवेदनअनुसार नेपालका बालबालिकाहरूमा पनि नसर्ने रोगहरू सामान्य बन्न थालेको देखिएको छ।

उक्त प्रतिवेदनले बालबालिकामा देखिएको त्यस्तो रोग लाग्ने प्रवृत्तिलाई तत्काल सम्बोधन गर्नुपर्ने औँल्याएको छ। सन् २०२० मा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार त्यसको अघिल्लो वर्ष नेपालमा झन्डै १।९४ लाख जनाको मृत्यु भएको थियो।

त्यसमध्ये २१।१ प्रतिशत मृत्यु सर्ने रोग, मातृ तथा नवजात र पोषणसम्बन्धी रोगका कारण भएको थियो भने ७।८ प्रतिशत चोटपटकका कारण भएको थियो। मृत्युको कारणमा नसर्ने रोगमध्ये मुटु तथा नसासम्बन्धी रोगको अंश धेरै देखिएको छ।

प्रतिवेदनअनुसार मृत्युको कारण बनेका नसर्ने रोगमध्ये कार्डिओभास्क्युलर रोग (सीभीडी) को हिस्सा २४ प्रतिशत र इस्कीमिक हार्ट डिजीज (आईएचडी) को हिस्सा १२।३ प्रतिशत छ। त्यस्तै श्वासप्रश्वाससम्बन्धी दीर्घरोगको हिस्सा १६।३ छ। सन् १९९० मा यस्तो रोगको हिस्सा ६.१ प्रतिशत मात्र थियो।

प्रकोप बन्दै

उनीहरू नसर्ने रोगको प्रकोप बढ्नुमा मानिसहरूको जीवनशैलीका साथै रोकथामको साटो उपचारमा केन्द्रित बानी जिम्मेवार रहेको बताउँछन्।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जका उपप्राध्यापक तथा फोक्सो तथा श्वासप्रश्वास विशेषज्ञ डा नीरज बम उक्त अस्पतालमा भर्ना हुने नसर्ने रोग लागेकामध्ये धेरै दीर्घकालीन दम तथा खोकीका बिरामी पनि हुने गरेको बताउनुहुन्छ ।

उहाँले भन्नुभयो–‘स्वास्थ्य अनुसन्धान परिषद्‌को प्रतिवेदनले नसर्ने रोगमध्ये मुटुसँग सम्बन्धित रोग सबैभन्दा धेरै मृत्युको कारण भएको देखाएको छ तर फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन समस्याहरू पनि व्यापक देखिएको छ।’

‘वायु प्रदूषण, धूमपान तथा धुँवामा बस्ने वा खाना पकाउने कारणले यस्तो समस्या धेरै हुने गरेको पाइएको छ अनि फोक्सोमा समस्या भएपछि त्यसको असर मुटुमा पनि पर्छ र फोक्सोको क्यान्सरको एउटा कारण यो पनि हुन सक्ने देखिन्छ।’ उहाँ फोक्सो तथा श्वासप्रश्वाससम्बन्धी दीर्घकालीन समस्या प्रकोपका रूपमा फैलिरहेको आफूले पाएको बताउनुहुन्छ ।

‘अस्पतालमा यस्ता बिरामीको सङ्ख्या हेर्दा हाम्रो स्वास्थ्य प्रणालीले यसको यकिन तथ्याङ्क निकाल्न सकेको छैन जस्तो लाग्छ,’ उहाँले भन्नुभयो ।

त्यस्तै उच्च रक्तचापलगायत मुटुसम्बन्धी रोग, मिर्गौलासम्बन्धी रोग, मधुमेहजस्ता समस्याहरू पनि नेपालको ठूलो चिन्ताको विषय बनेको विज्ञहरू बताउँछन्। क्यान्सर लगायतका अन्य नसर्ने रोगको प्रकोप बर्सेनि बढ्दो रहेको अधिकारीहरूले बताएका छन्।

सरकारी अभियान के हो ?

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले निरोधात्मक विधिबाट रोगहरुविरुद्ध प्रतिकारात्मक अभियानका निम्ति यो कार्यक्रम ल्याइएको बताएका छन्। पौडेका अनुसार कार्यक्रममा ३० वर्षभन्दा माथिको जनसङ्ख्यालाई समेट्ने लक्ष्य राखिएको छ।

उहाँका अनुसार यो अभियानमार्फत् उच्च रक्तचाप, मधुमेह, मुटु र मुटुजन्य समस्या, क्यान्सर, मिर्गौला तथा श्वासप्रश्वाससम्बन्धी समस्याहरू पहिचान गर्न खोजिने छ।

उहाँले भन्नुभयो–‘नागरिकहरूलाई रोगी हुनबाट नबचाउनका लागि यो गरेका हौँ।’ पौडेलले प्रदेश तथा स्थानीय सरकारको समन्वयमा कार्यक्रम सञ्चालन हुने बताउनुभयो ।

यसले नेपालमा नसर्ने रोगको अवस्थालाई थप उजागर गर्ने र त्यसका आधारमा अन्य विशेष कार्यक्रम ल्याउनुपर्ने भए मन्त्रालयले पहल गर्ने उहाँको भनाइ छ। अभियानका क्रममा ३० वर्ष माथिका सबै नागरिकले निस्शुल्क रूपमा स्थानीय स्वास्थ्यसंस्थामा मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोगको परीक्षण गर्न तथा शरीरको उचाइ र तौलको अनुपात पहिचान गर्न पाउने छन्।

नसर्ने रोग लाग्न नदिन के गर्ने

नसर्ने रोग लाग्न नदिनका लागि जीवनशैली, आहार र व्यायाममा सुधार गर्नुपर्ने चिकित्सकहरू सल्लाह दिन्छन्। नसर्ने रोगका मुख्य कारण खानपान र जीवनशैली नै भएको उनीहरूको भनाइ छ।

नेपालमा धूमपान र मद्यपानको लत तथा व्यायामको कमीका कारण पनि यस्ता रोगको प्रकोप बढेको उनीहरूको भनाइ छ। यस्ता वस्तुको प्रयोग र जीवनशैलीमा सुधार गरेर मात्र नसर्ने रोगलाई कम गर्न सकिने चिकित्सकहरू बताउँछन्।

‘स्वस्थ जीवनशैली अपनाउने र समयसमयमा स्वास्थ्य जाँच गराउने अनि कुनै समस्या देखिए तत्काल स्वास्थ्य संस्थामा गएर देखाउने गरेमा यस्ता रोग न्यूनीकरण गर्न सकिन्छ,’ चिकित्सक बमले भन्नुभयो । सरकारले कैयौँ नसर्ने रोगका लागि निस्शुल्क औषधि वितरण गर्दै आएको छ भने स्वास्थ्य बीमा सेवा पनि दिएको छ।

कैयौँले सहजै औषधि नपाएको गुनासो गरिरहेका छन् भने बीमामा पनि भुक्तानीको समस्या देखिएको गुनासो आइरहेको छ। मन्त्री पौडेलले चाहिँ त्यस्ता समस्याहरूलाई समाधान गर्दै नसर्ने रोगका लागि थप कार्यक्रम पनि ल्याउने बताउनुभयो। बीबीसी नेपालीबाट साभार गरिएको

प्रतिक्रिया दिनुहोस्